कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सय बेडमाथिका अस्पतालले बिरामी रेफर गर्न नपाउने

अतुल मिश्र

काठमाडौँ — राजधानीमा रहेका एक सयभन्दा बढी शय्याका निजी अस्पतालले अनिवार्य ज्वरो क्लिनिक सञ्चालन गर्नुपर्ने भएको छ । ती अस्पतालमा उपचारका लागि गएका बिरामीलाई अन्यन्त्र रेफर गर्न पाइनेछैन । उनीहरूले बिरामीको निःशुल्क उपचार गर्नुपर्नेछ । 

सय बेडमाथिका अस्पतालले बिरामी रेफर गर्न नपाउने

‘कोरोनाका शंकास्पद बिरामीलाई अन्यन्त्र रेफर गर्न पाउँदैनन्,’ स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले भने, ‘बिरामीलाई आइसोलेसनमा राख्नुपर्‍यो, परीक्षण परिणाम कुर्नुपर्‍यो र संक्रमण देखिए निःशुल्क उपचारसमेत गर्नुपर्‍यो ।’ त्यहाँ उपचार सम्भव नभए मात्र सरकारले तोकेको अस्पतालमा पठाउनुपर्नेछ । ज्वरो क्लिनिक चलाउने अस्पतालले शंकास्पद बिरामीको घाँटीको र्‍यालको नमुना परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउनुपर्नेछ ।


शुक्रबारदेखि एक सयभन्दा बढी शय्याका हरेक अस्पताललाई ५० वटाका दरले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) दिन थालिएको छ । राजधानीमा सयभन्दा बढी शय्याका सात वटा अस्पताल छन् ।


हाल सरकारले शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल र सशस्त्र प्रहरी अस्पताललाई कोभिड–१९ का शंकास्पद वा संक्रमितको उपचार गर्ने विशेष अस्पतालका रूपमा तोकेको छ । बिरामीको संख्या हेरी थप अस्पताललाई समेत तोक्न सकिने डा. पोखरेलले बताए । आइतबारदेखि शुक्रराज ट्रोपिकललाई संक्रमितको उपचार गर्न मुख्य अस्पतालका रूपमा परिणत गरिनेछ । यहाँ आइसोलेसन वार्ड, क्वारेन्टाइनसहित एक सय शय्यासँगै २० वटा आईसीयू शय्या पुर्‍याउने तयारी भएको डा. पोखरेलले बताए ।


यहाँ भर्ना भएका एचआईभी र क्षयरोगका बिरामीलाई सामान्य अवस्थामा घर वा वीर र त्रिवि शिक्षण अस्पताल पठाइने भएको छ । यस्तै, यहाँबाट दिइरहेको एन्टिरेबिज खोपसमेत जिल्ला जनस्वास्थ्य कार्यालयमा सारिएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई आकस्मिकबाहेक पछि गर्न सकिने खालका शल्यक्रियासमेत हाल रोक्न भनेको डा. पोखरलले बताए ।


प्रयोगशालाको दैनिक परीक्षण बन्द


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ठूलो संख्यामा कोभिड–१९ परीक्षण गर्नुपर्ने भएकाले आइतबारदेखिका सबै दैनिक परीक्षण सेवा बन्द गरिएको छ । उपत्यकाभित्रका स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभाग/कार्यालयमा कार्यरत सहसचिवस्तरका कर्मचारी, विभागीय प्रमुखलाई सार्वजनिक बिदाका दिनमा समेत काजमा काम गर्न भनिएको छ । उपसचिव र अधिकृत स्तरका कर्मचारीलाई काठमाडौं उपत्यका नछाड्न सचिवस्तरीय बैठकले निर्देशन दिएको छ ।

६ विदेशी डिस्चार्ज

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालबाट शुक्रबार ६ जना विदेशी नागरिक डिस्चार्ज भएका छन् । कोभिड–१९ संक्रमण पुष्टि नभएपछि उनीहरूलाई डिस्चार्ज गरिएको अस्पतालका डा. अनुप बाँस्तोलाले बताए ।

प्रकाशित : चैत्र ८, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?