कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सीमामा स्वयंसेवी युवा

भारतबाट आएका यात्रुको स्वास्थ्य जााच्न राखिएको डेस्कमा दुई स्वास्थ्यकर्मी मात्र छन्, दुईवटा थर्मोमिटरका भरमा । आवश्यक सामग्रीबिनै काम गरिरहेका स्वास्थ्यकर्मीलाई रुपन्देहीका युवाले साथ दिइरहेका छन् । 

भैरहवा, बर्दिया — भैरहवाका रमेश थापा सीमावर्ती दशगजास्थित बेलैया नाकामा राखिएको स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) मा दिनहुँ खटिन्छन् । बिहानदेखि रातिसम्म यात्रुको शरीरको तापक्रम नाप्छन् । अर्जुन गिरी, रामबहादुर बस्नेत, रमेश पोखरेल, नर्जुङ गुरुङ र नारायण हमाल पनि उनीसँगै खटिने गरेका छन् ।

सीमामा स्वयंसेवी युवा

उनीहरू सरकारी कर्मचारी होइनन् र यसरी खटिएबापत कुनै पारिश्रमिक पनि पाउँदैनन् । नाकामा कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोक्न सरकारी टोलीले मात्रै नभ्याएपछि उनीहरू आफ्ना काम छाडेर हेल्थ डेस्कमा जुटेका हुन् ।


हेल्थ डेस्कमा सिद्धार्थनगर नगरपालिका र स्वास्थ्य कार्यालयले दुई जना स्वास्थ्यकर्मी पठाएका छन् । तिनले सबैको स्वास्थ्य जाँच्न भ्याउँदैनन् । त्यसमाथि उपकरण अभाव छ । यस्तोमा युवाको भरथेगले यात्रु र सरकारी टोलीलाई निकै सहज भएको छ ।


स्वयंसेवकका रूपमा खटिएका उनीहरूले आर्थिक सहयोग जुटाएर स्वास्थ्य कक्षमा आवश्यक पर्ने उपकरण र सामग्रीसमेत उपलब्ध गराइरहेका छन् । स्वास्थ्य जाँचमा सरकारीस्तरबाट दुईवटा डिजिटल थर्मामिटरबाहेक जाँच्नका लागि मास्क, ग्लोब, सेनिटाइजरजस्ता अत्यावश्यक आधारभूत साधन उपलब्ध गराइएको छैन । यहाँसम्म कि जाँचमा खटिएका कर्मचारीलाई पिउने पानीसमेत सरकारीस्तरबाट उपलब्ध छैन ।


‘हेल्थ डेस्कको यो हालत देखेपछि हामी खटिन थालेको हौं,’ थापाले भने, ‘स्वयंसेवा गर्दा आनन्द लागेको छ । घरपरिवार र छिमेकी पनि खुसी छन् ।’ बिहान साढे ६ देखि राति १० बजेसम्म आफूहरू समूहमै खटिने गरेको उनले बताए ।


स्थानीय युवाको समूहले सहायता कक्षमा आवश्यक कुर्सी, टेबल, पिउने पानी, बिजुली बत्ती मात्रै होइन ग्लोब, मास्क, थप डिजिटल थर्मामिटर र सेनिटाइजरसमेतको जोहो गरेको छ । उनीहरूको सक्रियतामा हरेक यात्रुको तापमान जाँच गरेपछि सेनिटाइजर प्रयोग गराइन्छ । सेनिटाइजर किन्नका लागि यिनै युवाको सक्रियतामा बेलहियावासीबाट आर्थिक सहयोग जुटाउने गरिएको छ ।


यसरी स्वयंसेवाका भरमा भारतबाट दिनहुँ नेपालतर्फ आउने १६ देखि २० हजार यात्रुलाई स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । सीमापारिका भारतीय जाँच टोली र सुरक्षाकर्मीका लागि पनि युवाको यो सक्रियताले लाभ पुर्‍याएको छ । उनीहरू हरेक दिन नेपालतर्फको कक्षमा आएर सेनिटाइजर प्रयोग गरेपछि आफ्नो काम सुरु गर्छन् । ‘घरीघरी यात्रुको भीडले पानी पिउने र खाना खान जानेसमेत फुर्सद हुँदैन,’ थापाले भने, ‘क्षण–क्षणमा कति जनाको परीक्षण भयो भन्दै तथ्यांक सोधिन्छ तर यहाँ अभिलेख राख्ने मान्छे पनि छैन ।’


युवाको सक्रियताप्रति सुरक्षाकर्मीहरू खुसी देखिन्छन् । ‘उनीहरूले गरेको यो योगदान प्रशंसनीय र उदाहरणीय छ,’ शुक्रबार सहायता केन्द्रको अवलोकन गर्न पुगेका सशस्त्र प्रहरी बल रूपन्देहीका एसपी तेज पोखरेलले भने, ‘सरकारीस्तरबाट लिनुपर्ने पहलकदमी व्यक्तिगत रूपमा स्रोत जुटाएर गर्नु ठूलो हो ।’


भैरहवा बजारको बुद्धचोकमा पनि शुक्रबारदेखि युवाले यस्तै सक्रियता देखाएका छन् । पेसाले इन्जिनियर रविकुमार रौनियार र वीरेन्द्र गुप्ताले यहाँ ‘कोभिड–१९ हेल्प डेस्क’ सञ्चालन गरेका छन् । मायादेवी च्यारिटेबल फाउन्डेसन र वास रूपन्देहीको सहकार्यमा यो काम थालिएको हो ।


कोभिड–१८ को सम्भावित संक्रमण रोक्न हरेक यात्रुलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्दै जनचेतनामूलक कार्यक्रम डेस्कले सुरु गरेको छ । ‘भारतबाट आउनेलाई सिमानामा प्रारम्भिक चरणको जाँच गरिए पनि स्थानीयलाई सचेत पार्ने र तिनको अवस्था जाँच्ने काम कसैले गरेको छैन,’ रौनियारले भने, ‘अस्पताल नगएका र बाहिरी मुलुकबाट नआएकालाई पनि जाँच्नुपर्छ भनेर डेस्क सञ्चालन गरेका हौं ।’


रौनियार फाउन्डेसनका सञ्चालक हुन् भने गुप्ता सुशासन र युवा सशक्तीकरणको क्षेत्रमा कार्यरत संस्था वासका अध्यक्ष हुन् । उनीहरूले सुरु गरेको डेस्कमा शरीरको तापक्रम मापनका साथै रक्तचाप र मधुमेहको निःशुल्क परीक्षण गरी कोभिड–१९ को संक्रमण भए/नभएको प्रारम्भिक जाँच गर्ने गरिन्छ । चिकित्सकसहित आवश्यक जनशक्ति, उपकरण र जनचेतनामूलक सामग्री संस्थाले आफैं व्यवस्था गरेको छ ।


जाँचको क्रममा कोही शंकास्पद देखिए तत्कालै स्थानीय प्रशासन र अस्पतालसँग समन्वय गरेर सम्बन्धितलाई आइसोलेसनसहितको उपचारका लागि पठाइने गुप्ताले बताए । उनका अनुसार शनिबारदेखि चार/चार जना रहने गरी ४० वटा समूह बनाएर नगरमा घरदैलो अभियान सञ्चालन गरिनेछ । ‘कम्तीमा स्थानीय नगरवासी जागरुक भई निःशुल्क परीक्षण गरेर जाऊन् भन्ने हाम्रो चाहना हो,’ उनले भने । यो डेस्क तत्कालका लागि चैतभरि र आवश्यक परेमा त्यसपछि पनि सञ्चालन गरिने उनले बताए । डेस्कमा एक दर्जन युवा खटिएका छन् ।


सीमा बन्द गर्न पनि युवा


भारत आउजाउ गर्ने व्यक्तिहरूबाट कोभिड–१९ को प्रकोप भित्रिन सक्ने खतरा बढेपछि बर्दियाको बढैयाताल गाउँपालिकाले नेपाल—भारत सीमा बन्द गर्न युवा परिचालन गरेको छ । उक्त पालिकाको भारतसँग करिब १८ किलोमिटर खुला सीमा छ ।


भारतमा संक्रमण फैलिएसँगै स्थानीय प्रशासन र पालिकाले भारत आउजाउ नगर्न आग्रह गरेका थिए । पालिकाको आग्रहलाई दुवै मुलुकका सीमावर्ती नागरिकले अटेर गरेका कारण आउजाउ पूर्णरूपमा रोक्न युवा परिचालन गरिएको हो । पालिकाले वडा कार्यालयमार्फत् सीमामा स्वयंसेवकका रूपमा खट्न चाहने युवाको नामावली मागेको थियो । स्वयंसेवकका रूपमा छनोट भएका ६० युवा शुक्रबारदेखि सुरक्षाकर्मीसँगै सीमामा परिचालन भएका छन् । उनीहरू राति पनि गस्ती गरिरहेका हुन्छन् । गस्तीका लागि १२ स्थान तोकिएको छ ।


स्थानीय प्रहरी र स्वयंसेवक युवाको ६ टोलीले संयुक्त रूपमा खुला सिमानाको सूक्ष्म निगरानी गर्नेछन् । ‘कोभिड–१९ को संक्रमण भित्रिन सक्छ भनेर भारत आउजाउ नगर्न जति नै अनुरोध गरे पनि सुनुवाइ भएन, त्यसैले स्वयंसेवकका रूपमा युवा परिचालन गरिएको हो,’ बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले भने, ‘आजबाट प्रहरीसँग मिलेर युवाले सीमावारपार गर्न रोक्नेछन् । कानुनविपरीत हुने क्रियाकलाप पनि नियन्त्रण हुनेछ ।’


सीमामा शान्तिपुर, जमुनी, तमौलीपुर, पडरिया र कण्ठपुर नाका छन् । सीमा जोडिएका प्रत्येक वडाले सात/सात युवा र अन्य वडाले पाँच/पाँच जना स्वयंसेवक परिचालन गरेका हुन् । भारतमा कोरोनाको प्रकोप फैलिएका बेला पनि उक्त नाका भएर निर्बाध आउजाउ हुने गरेको थियो । सीमामा नेपाली सुरक्षाकर्मीको उपस्थिति कम भएका कारण रोक्न समस्या हुँदै आएको थियो ।


भारततर्फ सीमा सुरक्षा बल (एसएसबी) को तीन/तीन किलोमिटर दूरीमा सुरक्षा पोस्ट छ । नेपालतर्फ भने १० देखि २० किलोमिटर दूरीमा यस्ता पोस्ट छन् । स्वयंसेवकका रूपमा खटिएका युवाहरूलाई खाजा, नास्ता खर्च र मास्क पालिकाले उपलब्ध गराउनेछ ।


‘विश्वभर संक्रमण फैलिरहेका बेला मुलुकलाई सहयोग गर्न जुटेका हौं, सबै जनाको प्रयासले संक्रमणबाट जोगिन सकिन्छ,’ शान्तिपुरका युवा मनोज थापामगर भन्छन्, ‘विपत्का बेला सबै मिलेर जुध्नुपर्छ ।’

प्रकाशित : चैत्र ८, २०७६ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?