१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

कर्णालीमा ५० करोडको विपद कोष, हजार बेडको क्‍वारेन्टाइन

कलेन्द्र सेजुवाल

सुर्खेत — कर्णाली प्रदेश सरकारले कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै शुक्रबार १ हजार बेडको क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कोरोना भाइरस रोकथामसम्बन्धी परिषदको बैठकले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ६ सय बेड र नेपाली सेनाले रेडियो नेपाल हाताभित्र ४ सय बेडको क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो ।

कर्णालीमा ५० करोडको विपद कोष, हजार बेडको क्‍वारेन्टाइन

सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीका अनुसार भारतबाट आउने व्यक्तिलाई स्वास्थ्य परीक्षणपछि क्वारेन्टाइनमा राखिनेछ । ‘सबै जिल्लामा समेत अनिवार्य रुपमा क्वारेन्टाइन स्थापना गर्न र स्वास्थ्य परीक्षण गर्न निर्देशन दिइएको छ,’ उनले भनिन्, ‘भारतबाट फर्केर सिधै गाउँमा पुगेका व्यक्तिलाई पनि स्थानीय स्वास्थ्य संयन्त्रमार्फत चेकजाँच गरिनेछ ।’


प्रदेश सरकारले कोरोना रोकथामको लागि ५० करोड रुपैयाँको विपद व्यवस्थापन कोषसमेत स्थापना गर्ने निर्णय गरेको छ । हिमाली तथा पहाडी जिल्लामा कोरोनाको कारण कुनै बिरामीलाई तत्काल उद्धार गर्नुपर्ने अवस्थामा आएमा हेलिकोप्टर पनि प्रयोग गरिने मन्त्री केसीले जानकारी दिइन् । सरकारले सामाजिक विकासमन्त्री दल रावलको संयोजकत्वमा कार्यान्वयन समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा अनुगमन समिति र उद्योग तथा पर्यटनमन्त्री नन्दसिंह बुढाको संयोजकत्वमा आपूर्ति समितिसमेत गठन गरेको प्रवक्ता केसीले बताइन् ।

प्रवक्ता केसीका अनुसार यो सिजनमा मात्र करिब १ लाख कर्णालीवासी घर फर्किने अनुमान गरिएको छ । ‘भारतसँगको सीमा सिल नगरिएको कारण मान्छेहरु धमाधम आइरहेका छन्, तर हामीले प्रदेश प्रवेश गर्ने नाकामा कडाइ गरिरहेका छौं,’ उनले भनिन्, ‘राम्रोसँग परीक्षण भएन भने भयावह अवस्था आउन सक्छ ।’ उनका अनुसार सरकारले सुर्खेतको विमानस्थल, बबई र कुइने तथा सल्यानको कपुरकोटमा हेल्थ डेस्क राखिसकेको छ । चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सामा राख्ने भनिएको डेस्क हिउँ नपग्लिएको कारण यालबाङमा राखिएको छ ।

प्रकाशित : चैत्र ७, २०७६ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?