मगमगाउँदो सायरी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मगमगाउँदो सायरी

उर्दू सायरीको परम्परा धान्ने नेपालगन्जका सायरको सायरी यात्रा
मोहन मैनाली

काठमाडौँ — ‘जिन्दगीका ७४ वसन्त र ७४ पतझड कहिले आए, कहिले गए थाहै पाइएन । जिन्दगीसँग कुनै गुनासो पनि छैन किनभने यसले मलाई जहाँ दुःख दियो, त्यहीँ दुःखको ओखती पनि दियो । उदासी दियो त खुसी पनि दियो । आँसु दियो त मुस्कुराउने कला पनि दियो । काँडाको बिस्तरा दियो त त्यही काँडाको बिस्तरामा निद्रा पनि दियो । ‘सबैभन्दा ठूलो कुरा, सबैभन्दा ठूलो उपहार त जिन्दगीले मलाई सायरी दियो । शब्दसँग शब्द जोड्ने सीप दियो ।’

सायर अब्दुल लतीफ शौकले आफ्नो सायरीको पुस्तक ‘मताअ् शौक’ मा यस्तै लेखेका छन् । शौक नेपालगन्जका अघिल्लो पुस्ताका सायर हुन् । नेपालगन्ज उर्दू सायरीका लागि उर्वर छ । उर्दू एकेडेमीका अध्यक्ष इम्तियाज वफाका विचारमा ‘नेपालमा उर्दू सायरी सुरुमा नेपालगन्जका सायरहरूले थामेका थिए । सायरी गर्ने माहोल नेपालगन्जमा बढी थियो । पाका सायरहरूमा अहिले पनि नेपालगन्जका बढी छन् ।’


शौकले शब्दसँग शब्द जोडेर दुई वटा डायरी भरेका थिए । तिनमा तीन सौ/साढे तीन सौ सायरी थिए । अचानक दुवै डायरी हराए । ‘मसँग केही पनि बाँकी रहेन,’ उनले भने । उनी ती डायरी घरबाट बाहिर कहिल्यै लाँदैनथे तर कता गए कता । घरका कुना कुनामा पटक पटक खोजपडताल गरे तैपनि भेटिएनन् ।


‘२५/३० सालको मेहनत बर्बाद भयो,’ उनले भने । यस घटनालाई उनी ‘महकते जख्म’ अर्थात् बास्नादार घाउ ठान्छन् । मुसायरामा पढ्न छुट्याइएका सायरी उनी सानो डायरीमा टिपेर लान्थे । धन्न त्यस डायरीमा ३०/३५ वटा सायरी रहेछन् । ती र नेपाली भाषामा आफैंले लेखेका केही सायरी बटुलेर यो किताब निकाले । ‘त्यसैले यसको नाम मैले ‘मताअ् शौक’ अर्थात् ‘शौकको पुँजी’ राखेको छु,’ शौकले भने । सबै थोक गुमाएपछि जो पुँजी बाँकी रह्यो, त्यही हो यो । हेपिएका, दबाइएका तर इमानी मानिसका भावना अभिव्यक्त गर्ने कला अब्दुल लतीफ शौकको पुँजी हो । उनी लेख्छन् :

आती नहीं है भूख से गद्दारियां हमें

रखते नहीं हैं खौफे अजल हम गरिब लोग

देते हैं अपना खून वफा की जमिनको

बोते हैं दर्दे दिलका फसल हम गरीब लोग

सोते है शौक से फूस के छप्पर में चैन से

क्यों लें किसी का ताजमहल हम गरिब लोग ।


अलि पहिलेसम्म नेपालगन्जका उर्दूभाषी सायरलाई नेपाली भाषामा सायरी लेखिन्छ भन्ने थाहा थिएन, नेपालीमा सायरी लेख्नेलाई उर्दू सायरीको स्वाद थाहा थिएन । अहिले चाहिँ दुवै भाषाका सायरले एकअर्काका सायरीको स्वाद लिन्छन् । मुसायरामा दुवै भाषाका सायरी जम्ने गर्छन् ।


शौक नेपालगन्जमा बस्छन् । त्यहाँको बोलीचालीको भाषा अवधी हो । उनी सायरी उर्दूमा लेख्छन् । ‘नेपाली राम्रो जान्दिनँ, तैपनि केही लेखेको छु,’ शौकले भने । सानो सहर नेपालगन्जमा उर्दूमा रचना गर्ने धेरै सायर छन् । मौलाना अब्दुल जब्बार अन्सारी, अब्दुल लतीफ शौक, सैयद नेपाली, मोहम्मद मुस्तफा कुरैशी ‘अहसन’ र अब्दुल कौशर नेपाली जस्ता नेपालमा मात्र होइन, भारतमा समेत नाम चलेका उम्दा सायर छन् । अमीन खयाली, मोहम्मद हाशिम अञ्जुम र मोहम्मद उमर ‘असर’ जस्ता सायर आज सशरीर नरहे पनि उनीहरूले राम्रा सिर्जना छाडेर गएका छन् । अञ्जुमले आध्यात्मिक चिन्तनतिर ढल्किएका रचना सिर्जना गरेका थिए भने असरले समसामयिक विषय उठाएका थिए ।


अलि पहिलेको कुरा । त्यतिबेला नेपालमा लडाइँ चलिरहेको थियो । धेरै मानिस अनाहकमा मारिएका थिए । झट्ट हेर्दा मुसलमान समुदायमा लडाइँको कम असर परे जस्तो देखिन्थ्यो तर नेपालगन्जका उर्दू सायरहरूलाई यसले ठूलो चोट दिएको रहेछ । त्यसैले त असरले लेखेका थिए :

कितने तुफानों मे खोया हुआ है आदमी

वक्त के मोहल में डुबा हुआ है आदमी

क्या खबर कब राख बनजाए किसी की जिन्दगी

आजकल बारूद पे बैठा हुआ है आदमी ।


असरभन्दापछिको पुस्ताका मुस्तफा कुरैसी ‘अहसन’ ले पनि लडाइँको असरबारे लेखेका थिए :


क्या बताएँ क्या वतनका हाल है

खुन मे डुबा हुआ नेपाल है

मादरे नेपालका सारा वदन

अपने लालों के लहु से लाल है ।


नफरत के जोर से तुम जिस घरको आग लगा बैठे हो

मुमकिन है वो तुम्हारा ही घर हो, यह भी तो हो सकता है

महकते फूलों का जिस शख्स को तोहफा देते हो तुम

उस के ही हाथों में पत्थर हो, यह भी तो हो सकता है ।


मौलाना अब्दुल जब्बार अन्सारीले अर्कै विषयमा चिन्ता गरेका थिए :

बदन मस्जिद में दिल कुए सनम में

यह हम किसकी इवादल कर रहे हैं ।


नेपालगन्जको उर्दू सायरी परम्परामा आफ्नो धर्मको सीमाबाट बाहिर निस्केर अरूका धर्म संस्कृतिका मिथकका पात्रको उपयोग गर्ने चलन पनि छ । त्यसैले त असरले लेखे :


जिन्दगी राम है, रावण भी है

जिन्दगी राधा है, मोहन भी है

जिन्दगी के कितने कितने रूप हैं

जिन्दगी विधवा भी है, दुल्हन भी है ।


‘मेरो चलनअनुसार त मैले फातिमा जस्ता पात्रको नाम लिनुपर्ने थियो तर फातिमालाई नचिन्ने समुदायका मानिसलाई बुझाउन मैले यी नाम लिएको हुँ,’ उनले भनेका थिए । नेपालगन्जको उर्दू साहित्यको नाता सीमापार भारतसम्म गाढा किसिमले गाँसिएको छ तर नेपाली र अंग्रेजी भाषामा छापिने पत्रपत्रिकामा उर्दू सायरी र सायरबारे चर्चा उति हुँदैन । संयोगवश, २०७० साल कात्तिकमा शौक र नेपालगन्जका अर्का सायर अब्दुल कौशर नेपालीलाई काठमाडौं आउने निम्तो मिल्यो । त्यो पनि सायरी सुनाउन र सायरीबारे छलफल गर्न, नेपाल लिटरेचर फेस्टिभलमा ।


तस्बिर सौजन्य : आरके अदिप्त गिरी

सायरीको सत्र संयोजन गर्ने जिम्मा पाएका थिए हस्त गुरुङले, जो उनीहरूसँग चिरपरिचित थिए र तिनका रचनाको परख गर्थे । रत्नपार्कको नेपाली जामे मस्जिद छेउको एउटा होटलमा त्यो सत्र कसरी चलाउने भन्नेबारे उनले तिनीहरूसँग कुराकानी गरे ।


‘उर्दूमा बोले पनि हुन्छ ?’ शौकले उर्दूमा सोधे ।

उर्दू भाषा र साहित्यसँग उति हिमचिम नभएका काठमाडौंका दर्शक र श्रोताले बुझ्ने हुन् कि होइनन् भनेर हस्त अलि हच्किए ।

‘धेरै कडा शब्द बोल्दिनँ । सबैले बुझ्ने शब्द बोल्छु,’ शौकले नै भने । हस्तले स्विकारे । शौकले महोत्सवमा सुनाउन तयार पारेका दुईचार वटा सायरी पढ्ने अभ्यास गरे । जस्तै,


बिजली, तुफान, कातिल, रहजन,

किस किस की तुम बात करोगे

एक है जान और लाखों दुस्मन,

किस किस की तुम बात करोगे

सूफी, साधु, शेख और ब्राह्मण,

किस किस की तुम बात करोगे

सब ने तोडा प्रेमका दर्पण,

किस किस की तुम बात करोगे ।


सायरीको सत्रको अघिल्लो दिन महोत्सवमा शौकलाई साहित्यमा अल्पसंख्यकको आवाज, पहिचान तथा अन्याय र अत्याचारविरुद्ध लड्न साहित्यको उपयोग विषयक सत्रमा एउटा वक्ता बनाइएको थियो । अर्का वक्ता राजन मुकारुङले साहित्यको उद्देश्य अन्यायविरुद्ध लड्नु हो भनेका थिए । कार्यक्रम संयोजकले घुमाइफिराई पटक पटक सोध्दा पनि शौकले साहित्यलाई शुद्ध साहित्य मान्छु मात्र भने ।


भोलिपल्ट शौकले हस्तसँग भनेका थिए– हुन त यो साहित्य सम्मेलन नै हो तर राजनीतिसँग पनि यसको तआल्लुक (सम्बन्ध) रहेछ । उनको यो टिप्पणी सायरको थियो, जसले सोझो र कडा कुरा गर्दैन, बिम्ब र प्रतीकमार्फत कोमल भाकामा आफ्ना कुरा भन्न खोज्छ ।


यसको मतलब उनी आफ्नो पहिचानप्रति सचेत छैनन् भन्ने होइन । उनलाई लाग्छ, समुद्रमा मिलेपछि नदी नदी रहँदैन । सानो छौं भने सानो हुनु नै राम्रो हुन्छ । पहिचान र सौन्दर्य त्यहीँ हुन्छ । आफ्नो पहिचान त्यसैमा हुन्छ । ठूलासँग मिल्यो भने हाम्रो पहिचान बाँकी रहँदैन ।


सिसे से टुट जाये है पत्थर कभीकभी

उलटा करे खेल मुकद्दर कभीकभी

छोटा किसी को देखके छोटा नजानिए

बनता है एक बुँद समन्दर कभीकभी ।


नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा भएको महोत्सवको त्यस दिनको अन्तिम सत्र । कुर्सी हटाइयो र मुसायरामा जस्तो भुइँमा पलेँटी कसेर बस्ने व्यवस्था मिलाइयो । हस्तले शौकलाई निम्ता गरे । शौकले सुरु गरे– भनिन्छ, आफ्नी प्रेमिकालाई सुनाइने दिलको आवाजको नाम हो गजल । बाँकी दुनियासँग यसको केही लिनुदिनु छैन । गजलको सफर यहीँबाट सुरु भएको थियो तर अहिले आम मानिसको दुःखसुख, शोक, राहत जस्ता विषयलाई गजलमा व्यक्त गरिन्छ । गजलले आजभोलि हरेक मानिसका कुरा बताउँछ । उनले सायरी भने :


काश नजदीक तुम आओ तो कोई बात बने

फासले दिलकी मिटाओ तो कोई बात बने ।

अश्क भी दिल का लहू है इसे पानी न कहो

इसको दामन पे सजाओ तो कोई बात बने ।


शौक र नेपालगन्जका उर्दूभाषी अरू सायर नेपालका बहुसंख्यकले मान्नेभन्दा अलग धर्म मान्छन्, अलग भाषा बोल्छन्, उनीहरूको संस्कृति अलग छ । त्यसैले धेरै उनीहरूको देशप्रेमप्रति संशय व्यक्त गर्छन् तर शौकको दिलमा रहेको देशप्रेम सायरीमा यसरी छल्किन्छ :


नेपाल मेरा देश, मेरी आँखका तारा

सौ जान से प्यारा, सौ जान से प्यारा ।


कौसरले गजल गाए । शौकले सायरी पढे । माहोल अलि अनौठो थियो । अहिलेसम्म उनीहरू जुन जुन मुसायरामा जान्थे, दर्शक जोसले ‘वाह, वाह’, ‘मुकर्रर’ भन्थे । यहाँ त्यो चलन थाहा नपाएका दर्शकले थपडी बजाए, सुसेली हाले ।


तोकिएको समय बितिसकेको थियो । यस्तैमा आफ्ना पालामा शौकले भने, ‘कभीकभी नेपालीमें भी कुछ गजल कहनेको जी चाहता है । त्यति राम्रो नहोला, क्षमा गर्नुहोला ।’ ताली अर्थात् नौलो किसिमको प्रशंसाका बीच शौकले सुरु गरे :


कणकणमा म खोजिरहेछु

दाइ, मेरो नेपाल कता छ ?

गाउँ सहरमा हेरिरहेछु

दाइ, मेरो नेपाल कता छ ?

अनुहार सबै बेगानै छन्

अरू बाटो पनि अन्जानै छन्

देशैमा परदेशी भएछु

दाइ, मेरो नेपाल कता छ ?


फेरि ताली बज्यो । शौकले अर्को एउटा सायरी भन्न खोजे । हस्तले ‘एक मात्र’ भन्ने संकेत गरे ।

‘एक, बस् एक,’ शौकले वचन दिए तर दर्शकले सुन्न चाहेपछि एउटा होइन, दुइटा सायरी पढे । कार्यक्रम सकियो । फेस्टिभलका सञ्चालकमध्ये एक अजित बराल मञ्चमा गए । कलाकार/कार्टुनिस्ट दुर्गा बराल चाँदी जस्तो कपाल लिएर मञ्चमा चढे र अरू दर्शक पनि उक्लिए– सायरलाई नजिकैबाट नियाल्न अनि हात मिलाउन ।


‘सबभन्दा बढी खुसी केमा लाग्यो भने दर्शकले मेरा सायरी मन लगाएर सुने, दिलचस्पीका साथ सुने,’ भोलिपल्ट हस्तसँग कुरा गर्दै शौकले भने । कौसर पहिलो पटक काठमाडौं आएका थिए । यहाँ नआईकनै पनि उनले यहाँको सुन्दरताबारे सायरी लेखेका थिए ।


नेपालगन्ज फर्कनुअघि शौकले गजलबारे आफ्नो चिन्ता प्रकट गरे, ‘सायरी त ठीकठाकसँग चल्दै छ तर पहिला जस्तो छैन । अलि कम भएको छ । हामी जसरी मुसायरा गर्थ्यौं, आजभोलि त्यस्तो छैन । अलि कम भएको छ । नयाँ नस्ल, नयाँ बिरुवा आएका छैनन् । उनीहरूसँग मनोरञ्जनका अरू नै बहुत सामान छन् ।’


शौकहरूले धानेको नेपालमा उर्दू सायरीको परम्परा अन्त पनि फैलिएको छ । काठमाडौंमा शौकभन्दा पाका ख्वाजा मुअज्जम शाहले उर्दूमा सायरी गरे । कपिलवस्तुका अब्दुल मोबिन, साखी खानभारुनी, शेर मेहमुद, जाहिद आजाद, वीरगन्जका जमशेद अन्सारी, सिरहाका वसिम मिकरानी र सुनसरीका तैयब राहीजस्ता सायर उर्दू सायरी रच्दै छन् । काठमाडौंका इम्तियाज बफाजस्ता सायरले नेपालको उर्दू सायरीलाई विदेशमा पनि फैलाएका छन् ।


आफ्नो सायरी आम मानिससम्म पुर्‍याउने अहिले जस्ता माध्यम नभएका बेला पनि निरन्तर, निःस्वार्थ ढंगले रचना गर्ने सायरको कामलाई आज पनि उच्च सम्मानसाथ सम्झिइन्छ । इम्तियाज वफाले भने झैं आज पनि उनीहरूका सायरी हाम्रा लागि मसाल–ए–राह हुन्, जसले अँध्यारामा नयाँ पुस्ताको बाटो उज्यालो पारिदिएका छन् ।

प्रकाशित : चैत्र ७, २०७६ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्

सबै तहका न्यायालय दुई साता बन्द

कृष्ण ज्ञवाली

काठमाडौँ — कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिम कम गर्न देशभरका न्यायालयको काम कारबाही दुई साता बन्द हुने भएको छ । सर्वोच्च अदालत उच्च स्रोतका अनुसार बन्दी प्रत्यक्षीकरणका निवेदनबाहेक अरु मुद्दाको काम कारबाही स्थगित हुनेछ ।

शुक्रबार बसेको सर्वोच्चको ‘फूल कोर्ट’ ले यस्तो निर्णय गरेको हो ।

सर्वोच्च अदालत, विषेशसहित देशभरका उच्च अदालत, जिल्ला अदालतहरु अनि विभिन्न न्यायाधीकरणहरुको काम कारबाही चैत २१ गतेसम्म स्थगित हुनेछ ।अदालत प्रशासन पनि बन्द रहनेछ । बन्दी प्रत्यक्षीकरणको निवेदन भने सर्वोच्च, उच्च र जिल्ला अदालतहरुमा सुनुवाई हुनेछ ।

प्रकाशित : चैत्र ७, २०७६ १३:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×