कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कारागारमा उच्च जोखिम

काठमाडौंको केन्द्रीय कारागारमा एउटै कोठामा ३ सय जनासम्म र ललितपुरको नख्खु कारागारमा ३५ जनासम्म कैदीबन्दी राखिएका छन् । तीमध्ये कसैमा कोभिड–१९ को संक्रमण देखिए कसरी नियन्त्रण गर्ने ? तयारी फितलो छ ।
जनकराज सापकोटा

काठमाडौँ — सरकारले कोभिड–१९ को संक्रमण रोकथामका लागि २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ । देशका अधिकांश कारागारमा भने सयौंको संख्यामा कैदीबन्दी एउटै कोठामा बसिरहेका छन् । त्यहाँ सरुवा रोगको संक्रमण फैलिने जोखिम बढी छ ।

कारागारमा उच्च जोखिम

७२ जिल्लाका ७४ कारागार र आठ बालसुधार गृहमा १ हजार २ सय ८२ विदेशीसहित २४ हजार ६ सय ८० कैदीबन्दी र तिनमा आश्रित ९० जना बालबालिका छन् । नेपालका अधिकांश कारगारमा क्षमताभन्दा धेरै कैदीबन्दी राखिएका छन् । काठमाडौंको जगन्नाथदेवलस्थित केन्द्रीय कारागारसहित केहीमा कैदीबन्दीको संख्या क्षमताभन्दा बढी छ ।


केन्द्रीय कारागार र ललितपुरको नख्खु कारागारमा सबैभन्दा धेरै कैदीबन्दी छन् । कारागार व्यवस्थापन विभागका अनुसार १ हजार ८ सय जना राख्ने क्षमता भएको केन्द्रीय कारागारमा हाल २०५ विदेशीसहित ३ हजार १ सय ३७ कैदीबन्दी छन् । त्यस्तै १ हजार २ सय जना अट्ने नख्खु कारागारमा १ हजार ६ सय ५८ कैदीबन्दी छन् ।


कारागारभित्र संक्रमण फैलिएमा परिस्थिति सरकारको नियन्त्रणबाहिर जान सक्ने भन्दै विभागले कैदीबन्दीका आफन्त र अन्यलाई भेटघाटमा नियमन गरेको छ । नयाँ कैदीबन्दीलाई अनिवार्य स्वास्थ्य परीक्षण गराएर भित्र पठाउने, भेट्न जानेको अनिवार्य ज्वरो परीक्षण गर्नेजस्ता काम सुरु गरिएको छ । विभागका सूचना अधिकारी देवर्षि सापकोटाका अनुसार कसैमा संक्रमणको लक्षण देखियो भने आइसोलेसनमा राख्नका निम्ति नख्खु कारागारभित्र रहेको मनोसामाजिक बन्दी अस्पतालमा २० बेडको आइसोलेसन वार्ड प्रयोगमा ल्याउने तयारी थालिएको छ । विभागले संक्रमणको जोखिम रहने भन्दै कैदीबन्दीहरूको स्थानान्तरणमा पनि रोक लगाएको छ ।


केन्द्रीय कारागारमा अहिले पनि साना कोठाहरूमा कम्तीमा सय र ठूला कोठामा तीन सय जनासम्म कैदीबन्दी राखिएको छ । धेरैजसो कोठामा कैदीबन्दी दुई तख्ता भएको खाट प्रयोग गर्छन् । केन्द्रीय कारागार व्यवस्थापनका प्रमुख लक्ष्मीप्रसाद बाँस्कोटाले नियमन गर्दागर्दै पनि संक्रमण फैलिएमा परिस्थिति नियन्त्रणबाहिर जाने चिन्ता व्यक्त गरे । उनका अनुसार कैदीबन्दीका बाबुआमा, श्रीमान्–श्रीमती, छोरा–छोरी र सासू–ससुरालाई मात्रै भेट्न दिने नयाँ नियम सुरु गरिएको छ ।


अहिले पनि कारागारमा औसतमा प्रत्येक दिन ३–४ जना नयाँ कैदीबन्दी थपिने गरेका छन् । उनले नयाँ थपिने कैदीबन्दीबाट संक्रमण नफैलियोस् भनेर अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको बताए । कैदीबन्दी भेट्न जानेलाई पनि कारागार व्यवस्थापनले तापक्रम जाँच र सेनिटाइजर प्रयोग अनिवार्य गराउन थालेको छ । उनले कारागारभित्रै रहेको अस्पतालमा १० देखि १५ जनासम्म राख्न मिल्ने गरी आइसोलेसन वार्ड बनाउने तयारी थालिएको सुनाए ।


ललितपुरको नख्खु कारागारले पनि केन्द्रीय कारागारकै जस्तो कैदीबन्दीका आफन्तको भेटघाटमा नियमन थालेको छ । कारागार व्यवस्थापन प्रमुख मोहन अधिकारीले कैदीबन्दी र भेट्ने आफन्तबीचको दूरी बढाइएको बताए । नख्खु कारागारका तीन ब्लकमा ठूलो कोठामा ३५ जनासम्म र सानोमा ४ जनासम्म कैदीबन्दी राखिएको छ । ‘संक्रमण नफैलियोस् भनेर सम्भव हुनेसम्मको प्रयास सुरु गरिसकेका छौं,’ अधिकारीले भने ।


केन्द्रीय र नख्खु दुवै कारागारमा ठूलो संख्यामा मानसिक समस्या भोगिरहेका कैदीबन्दी छन् । कारागार व्यवस्थापनमा खटिएका कर्मचारीका अनुसार त्यस्ता कैदीबन्दीलाई संक्रमण भएमा स्थिति सोचेभन्दा विकराल हुन सक्छ । केन्द्रीय कारागारमा अहिले ३ सयभन्दा धेरै र नख्खु कारागारमा दुई सय मानसिक रोगी कैदीबन्दी छन् । नख्खु कारागार प्रशासनका अनुसार अहिले कारागारभित्र रहेका करिब ६० कैदीबन्दी रुघाखोकी र ज्वरोको संक्रमण झेलिरहेका छन् । बिमारी कैदीबन्दीलाई संक्रमणको खतरा धेरै हुने भए पनि कारागार प्रशासनले चालेका कदम पर्याप्त नहुने देखिन्छ । प्रत्येक दिन नख्खु कारागारमा औसतमा सात जना नयाँ कैदीबन्दी थपिने गरेका छन् ।


अदालत र विभिन्न हिरासतबाट आउने त्यस्ता कैदीबन्दीबाट जेलभित्र संक्रमण फैलिन सक्ने खतरा विद्यमान छ । अधिकारीले नयाँ कैदीबन्दीको पनि अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएकाले डराइहाल्नुपर्ने अवस्था नरहेको बताए ।

प्रकाशित : चैत्र ७, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?