कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रोकियो गैंडा गणना

अब्दुल्लाह मियाँ

काठमाडौँ — चैत १० गतेदेखि सुरु गर्ने भनिएको गैंडा गणना तत्कालका लागि रोकिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले २५ जनाभन्दा बढी सहभागी हुने कुनै पनि गतिविधि नगर्न सरकारले जारी गरेको निर्देशनअनुसार गणना रोकिएको बताए । 

रोकियो गैंडा गणना

‘गणनामा १५० जनाभन्दा बढी जनशक्ति खटिनुपर्ने हुन्छ,’ भट्टराईले कान्तिपुरसित भने, ‘त्यो संख्यामा मान्छे भेला गर्न प्रतिबन्ध भएकाले गणना कार्यक्रम रोकेका हौं ।’ विभागले १० गतेदेखि चितवन निकुञ्जबाट गैंडा गणना सुरु गर्ने सबै तयारी पूरा गरिसकेको थियो । २० देखि २५ दिनमा गणना सिध्याउने विभागको योजना थियो । गैंडाको संरक्षण वैज्ञानिक बनाउन तिनको संख्या अद्यावधिक आवश्यक हुन्छ ।


७ र ८ गते गणनामा खटिने प्राविधिकलाई तालिम दिने, ९ गते फिल्डमा खटिने र १० गतेदेखि गणना सुरु गर्ने चितवन निकुञ्जले तयारी गरेको थियो । ५ वर्षपछि विभागले एकसिंगे गैंडा रहेको पर्सा, चितवन, बर्दिया र शुक्लाफाँटा निकुञ्जमा गणना गर्न खोजेको थियो । २०७१ को गणना अनुसार यी चार निकुञ्जमा ६ सय ४५ गैंडा छन् । सबैभन्दा बढी चितवनमा ६ सय ५ गैंडा छन् । यो संख्या भारतको काजिरंगा नेशनलपार्क पछिको ठूलो हो ।


विभागले गणनाका लागि पहिलो पटक चालु आर्थिक वर्षमा १ करोड १० लाख ३५ हजार रुपैयाँ बजेट छुट्याएको थियो । सरकारले पहिलो पटक सन् १९९४ मा गैंडा गणना गरेको थियो । त्यसपछि सन् २०००, २००५, २००८, २०११ र २०१५ मा गैंडा गणना भएको थियो । त्यतिबेला संरक्षणमा सघाउने दातृ निकायसँग पैसा लिएर विभागले गैंडा गन्थ्यो । यो वर्ष सरकार आफैंले गणनाका लागि बजेट छुट्याएको थियो ।


केही वर्ष यता चोरीसिकारका कारण चार वटै निकुञ्जमा गैंडा नमरे पनि प्राकृतिक र अन्य कारणले चितवन निकुञ्जमा धेरै गैंडा मरेका छन् । पानीका घोल, दलदल, किसानका बारी र विद्युतीय तारबारमा परेर गैंडा मर्ने क्रम बढेको छ । गत आर्थिक वर्ष ०७५ र ७६ मा ४३ वटा गैंडा मरेका थिए । चालु आवको फागुनसम्म १८ गैंडा मरेका छन् ।


यो पनि पढ्नुहोस्ः

संकटमा गैंडा

विषले पनि मर्दै छन् गैंडा

प्रकाशित : चैत्र ६, २०७६ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?