कांग्रेस नेत्री चित्रलेखाका पतिमाथि यौनहिंसाको आरोप- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस नेत्री चित्रलेखाका पतिमाथि यौनहिंसाको आरोप

कुलचन्द न्यौपाने, जनकराज सापकोटा

काठमाडौँ — रानी यादवको फेसबुक ‘वाल’ मा आइतबार बिहान ८ पेज लामो हस्तलिखित कागजको फोटो पोस्ट भयो । यसले धेरैको ध्यान खिच्यो । किनकि उनी पूर्वउपसभामुख एवं कांग्रेस नेत्री चित्रलेखा यादवकी बुहारी थिइन् नै, उनले राष्ट्रिय योजना आयोग, लोकसेवा आयोग र शिक्षा सेवा आयोगका पूर्वसदस्यसमेत रहेका ससुरा श्रीकृष्ण यादवविरुद्ध यौनहिंसाको आरोप लगाएकी थिइन् ।

रानीले पाँच वर्षयता आफू ससुराबाट यौनहिंसामा परेको र यो घटनामा चित्रलेखासमेतको सहमति रहेको आरोप लगाएकी छन् । रानीको फेसबुक पोस्टमा मंगलबार साँझसम्म दुई दर्जनभन्दा बढी कमेन्ट देखिन्छ भने त्यसलाई १६ जनाले सेयर गरेका छन् । रानी सम्पर्कमा छैनन् । साढे चार वर्षको छोरा च्यापेर उनले घर र माइती छाडेकी छन् । श्रीकृष्णले भने बुहारीले आफूमाथि लगाएको आरोपमा सत्यता नभएको दाबी गरे । उनले रानी आफ्नो होटलका एक पूर्वकर्मचारीसँग भागेको दाबीसमेत गरेका छन् । ‘दरबार होटलका जीएमलाई केही समयअघि मैले जागिरबाट निकालिदिएको थिएँ । त्यसको बदला लिन्छु भनेर मलाई उसले धम्की दिएको थियो,’ श्रीकृष्णले कान्तिपुरसित भने, ‘अहिले बुहारीलाई झूटा कुरा लेख्न लगाएछ । अहिले म साह्रै टेन्सनमा छु ।’


रानीका श्रीमान् लामो समयदेखि अमेरिकामा छन् । सिरहाको लहानमा दरबार होटलसमेत सञ्चालन गरेको यादव परिवारमा उक्त होटलको स्वामित्वमा विवादसमेत रहँदै आएको छ । परिवारका केही सदस्यले रानीले लगाएको आरोपका पछाडि होटलको स्वामित्व विवाद कारण हुन सक्ने बताए पनि पुष्टिको कुनै आधार दिन सकेनन् ।


श्रीकृष्ण र वीरेन्द्र साहले मिलेर करिब तीन वर्षअघि दरबार होटल सञ्चालनमा ल्याएका हुन् । त्यतिबेला श्रीकृष्णको २५ र साहको ७५ प्रतिशत लगानी थियो । होटल नचलेपछि साह बैंकको ऋणमा डुब्दै गए । बैंकमा राखेको उनको मिर्चैयास्थित घर लिलामीको सूचना निस्कियो । पछि चित्रलेखाले आफ्नै सक्रियतामा होटल आफ्नो बनाइन् । साहको घरसमेत उनीहरूले लिलामीमा सकारे । कानुनी रूपमा भने होटलको स्वामित्व हस्तान्तरण हुन बाँकी नै रहेको साह बताउँछन् । ‘९ महिनाअघि होटल उहाँहरूले लिनुभएको छ । हक हस्तान्तरण गर्न बाँकी छ,’ उनले भने । उनका अनुसार होटलको स्वामित्वमा कुनै विवाद छैन । रानीले अहिले त्यही लहानको दरबार होटलमै पटक–पटक ससुराबाट यौन दुर्व्यवहार भएको आरोप लगाएकी छन् । चित्रलेखा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेत्रीत्वको मन्त्रिपरिषद्मा शिक्षामन्त्री थिइन् । त्यतिबेला श्रीकृष्ण उनकै सल्लाहकार थिए । श्रीमती मन्त्रीबाट हटेपछि श्रीकृष्ण होटल चलाउन भन्दै लहानतिरै बस्ने गर्थे । श्रीमतीको पहुँचका आधारमा उनले पटक–पटक राजनीतिक नियुक्तिसमेत लिँदै आएका छन् ।


श्रीकृष्णका अनुसार रानी दुई महिनाअघिदेखि नै माइतीमा बस्दै आएकी थिइन् । ‘फागुन २६ गते चित्रलेखा र म जनकपुर (रानीको हालको माइती घर) रानीलाई लिन गयौं । उनी आउन मानिनन् । हामीले पनि भैगयो, यहीं बसोस् भन्यौं । तर ससुराले लिएर जानुहोस् भनेपछि लिएर आयौं । होटल दरबारमा बस्यौं । म र श्रीमती एउटा र बुहारी अर्को कोठामा बस्यौं । हामीबीचको कोठाको दूरी अलि टाढा थियो । ११ बजे राति ऊ होटलबाट भागिछ,’ श्रीकृष्णले भने, ‘त्यही होटलका पूर्वजीएमसँग भागेको आशंका छ । मेरो इज्जतमाथि दाग लगाउने कामसमेत उसैले गरेको हो भन्नेमा म विश्वस्त छु ।’


प्रहरी कार्यालय लहानमा बुहारी रानी र नाति हराएकाले खोजी गरिपाऊँ भन्दै फागुन २७ गते श्रीकृष्णले उजुरी दिएका छन् । स्रोतका अनुसार प्रहरीले उनीहरूको खोजीका निम्ति भन्दै रानीको माइती रहेको महोत्तरी, आफन्ती रहेका धनुषा–काठमाडौंलगायत ठाउँमा खोजीका निम्ति हुलिया पठाएको छ । कान्तिपुरको सम्पर्कमा आएका रानीको माइतीका केही सदस्यले उनी कहाँ छिन् भन्नेबारे आफूहरूलाई समेत थाहा नभएको बताए । उनीहरू पहुँचवाला व्यक्तिको घरको कुरा भएको भन्दै आफ्नो नाम सार्वजनिक गर्न डराए । श्रीकृष्णले भने भारतको लखनउमा भएको आशंका गरे । रानीले फेसबुकमा राखेको पत्रमा प्रश्न गरेकी छन्, ‘बुहारीलाई आफूसँग होटलको बन्दकोठामा ढोका लक गरेर २ घण्टा आराम कुन थकान मेटाउन गर्छन् ? ससुराले किस गरेर र अँगालो हाल्दै छोरा छैन यहाँ, त्यो भएर फिल नहोस् मायाको कमी भनी सिकाउने सासू कुन क्लासको होला ?’

उनले दोस्रो पेजमा लेखेकी छन्, ‘मेरो श्रीमान् कहिले आउँछ भन्ने प्रश्न गर्दा तिमीलाई मेरो छोराले फिजिकल स्याटिसफ्याक्सन दिन सक्दैन, म दिन्छु भन्ने ससुराबाउ कुन दर्जाको होला ?’ रानीले सातौं पेजमा भने यातनाका कारण आफूले कुनै नराम्रो कदम चाले त्यसको जिम्मेवार चित्रलेखा यादवको सम्पूर्ण परिवार हुने उल्लेख गरेकी छन् । उनले ससुरा श्रीकृष्णविरुद्ध लेखेकी छन्, ‘अपराधी डाक्टर श्रीकृष्ण यादव हो । मेरो ठूलो गल्ती एउटै हो कि, मैले उनीहरूको इज्जतको ख्याल गरें । मैले सम्बन्धित निकायमा जानकारी दिइनँ । तर मसँग सबै प्रमाण छन् ।’ यता श्रीकृष्णले बुहारीको आरोपबारे अमेरिकामा रहेका छोरालाई समेत जानकारी गराइएको बताए । ‘छोराले त्यतिबेलै पूर्वजीएमसँगको सम्पर्कबारे प्रश्न गरिरहने गर्थ्यो । अहिले त्यतिबेलै थाहा पाएको भए यस्तो हुँदैनथ्यो भन्ने छोराको कुरा छ,’ उनले भने । ११ महिनाअघि छोरा नेपाल आएर फर्केका थिए । आफूले सोमबार साइबर क्राइममा उजुरी दिएको समेत श्रीकृष्णले बताए ।


आरोप झूटो : श्रीकृष्ण

हाम्रो दरबार होटलमा एम विश्वकर्मा भन्ने जीएम थिए । होटल राम्रोसँग चलेन । परिस्थितिवश उसलाई हटाएँ । उसले मलाई धम्की दियो । छोरा अमेरिकामा छ । बुहारीलाई हामीले माया गरेर राखेका थियौं । बुहारी माइती घर जनकपुरमा थिई । फागुन २६ गते म र चित्रलेखा उसलाई लिन गयौं । ऊ आउन मानेकी थिइनँ । हामीले पनि भैगयो यहीं बसोस् भन्यौं । तर ससुराले लिएर जानुहोस् भन्नुभयो । हामीले लिएर आयौं । होटल (लहानको आफ्नै) म र वाइफ एउटामा र बुहारी अर्को कोठामा बस्यौं । ११ बजे राति ऊ होटलबाट भागिछ ।


केही दिनअघि जनकपुरमा लोग्नसँग छुट्टिने भनेर अंशबन्डाको कुरा गर्न वकिलसँग गएको रहेछ । त्यो कुरा उसको बाआमाले थाहा पाएपछि हामीलाई घरमा लैजानू भन्नुभएको रहेछ । मविरुद्ध जति कुरा लेखिएका छन्, ती सबै झूटा हुन् । म यी सबै कुरा फेस गर्न तयार छु ।

प्रकाशित : चैत्र ५, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्

आयोजनालाई धमाधम वन

अब्दुल्लाह मियाँ

काठमाडौँ — कुनै निर्माण आयोजना समयमा सुरु भएन वा सकिएन भने फ्याट्टै भनिन्छ, ‘वन मन्त्रालयले रुख काट्न दिएन, ईआईए स्वीकृत गरिदिएन, हाम्रो दोष छैन ।’ 

पछिल्ला दुई वर्षमा वन तथा वातावरण मन्त्रालयले गरेको कार्यसम्पादनको तथ्यांकले त्यो आरोपको खण्डन गर्छ । मन्त्रालयका प्रवक्ता सहसचिव सिन्धुप्रसाद ढुंगानाका अनुसार दुई वर्षमा मन्त्रालयले निर्माणसम्बन्धी ७८ वटा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) स्वीकृत गरेको छ ।

मन्त्रालयमा ईआईए हेर्ने अलग्गै महाशाखा छ । निर्माणसम्बन्धी आयोजनालाई सहज होस् भनेर केही समययता ईआईए स्वीकृत गर्ने प्रक्रियालाई चुस्त र छरितो बनाइएको छ । राष्ट्रिय प्राथमिकता प्राप्त योजनाका लागि ‘राष्ट्रिय वन क्षेत्र प्रयोग गर्नेसम्बन्धी मापदण्डसहितको कार्यविधि २०७६’ मा राष्ट्रिय प्राथमिकताको योजना, लगानी बोर्डबाट लगानी स्वीकृत भएको योजना, राष्ट्रिय गौरवका आयोजना वा विद्युत् प्रसारणलाइन विस्तारका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिइने व्यवस्था छ ।

२०७४ फागुन यस वर्षको फागुनसम्म मन्त्रालयले १ सय ६ वटा आयोजना निर्माण अघि बढाउन बाटो खोलिदिएको छ । मन्त्रालयले विद्युत्, सडक, कारखाना, बसपार्क, अस्पताल, विद्यालय, खेलमैदान प्रसारणलाइन र केबलकारलगायतलाई ९ सय ४० हेक्टर वन क्षेत्र हस्तान्तरण गरेको छ । ‘वन मन्त्रालयले विकास गर्न दिएन भनेर विगतमा प्रश्न गर्ने निकायहरूले दुई वर्षको अवधिमा भएका कामको परिणाम हेर्नुस्,’ ढुंगानाले मंगलबार कान्तिपुरसित भने, ‘वनलाई विकास विरोधी देखाएर जस लिन खोज्ने प्रवृत्तिलाई तथ्यांकले गलत सावित गर्छ ।’

प्रवक्ता ढुंगानाका अनुसार हरेक मन्त्रिपरिषद् बैठकबाट आयोजनाका लागि वन क्षेत्रको जग्गा हस्तान्तरण र रुख कटानलगायत मन्त्रालयमार्फत गएका प्रस्ताव स्वीकृत हुने गरेको छ । ‘एउटै बैठकबाट १० वटा आयोजनासम्मका फाइल स्वीकृत भएका छन्,’ उनले भने, ‘विकास आयोजनालाई मन्त्रालयले प्राथमिकता दिएर अघि बढाउने गरेको छ ।’ कुनै पनि आयोजनाको वन क्षेत्र हस्तान्तरण वा रुख कटानसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट अनिवार्य स्वीकृत हुनुपर्छ । वन क्षेत्र हस्तान्तरण र रुख कटानसम्बन्धी सबै प्रस्ताव वन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेस हुन्छन् ।

मन्त्रालयको तथ्यांकअनुसार २०७४ फागुनदेखि २०७५ असारसम्म २५ वटा निर्माण आयोजनाका लागि १९८.१० हेक्टर वन क्षेत्र प्रयोग गर्न दिइएको छ । जसमा वन क्षेत्रका ४ लाख २५ हजार रुख काट्न पनि अनुमति दिइएको थियो । वन क्षेत्र प्रयोग गर्नेमा जलविद्युत्, सडक, केबलकार र प्रसारणलाइनका आयोजना धेरै छन् । २०७५ साउनदेखि फागुनसम्म मन्त्रालयले ६४ वटा निर्माण आयोजनाका लागि ५७७.१९ हेक्टरवन क्षेत्र प्रयोग गर्न बाटो खोलिदिएको छ ।

जसमा १ लाख ५१ हजार रुख कटान गर्न मन्त्रिपरिषद्ले बाटो खोलिदिएको थियो । यसमा पनि जलविद्युत्, सडक, प्रसारणलाइन र सिमेन्ट उद्योगका आयोजना धेरै छन् । केबलकार, रिसोर्ट/होटल, सिँचाइ र अस्पताल बनाउन पनि मन्त्रालयले राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिएको छ । जनतालाई हस्तान्तरण गरिसकेको सामुदायिक, कबुलियती वन र धार्मिक वन क्षेत्रमा भने ठूला आयोजना त्यति धेरै छैनन् ।

२०७६ साउनदेखि फागुनसम्म मन्त्रालयले ३२ वटा आयोजनाका लागि २४३.९६ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिएको छ । ती आयोजना निर्माणका लागि ३ लाख ७ हजार रुख काट्न अनुमति दिइयो । यस अवधिमा पनि जलविद्युत्, सडक, सिमेन्ट उद्योग, प्रसारणलाइन, केबलकार र विद्यालयका आयोजना धेरै छन् ।

मन्त्रालयले आव २०४२/४३ देखि विकास आयोजनालाई वन क्षेत्र दिन थालेको हो । त्यसअघि विकास आयोजनाले सिधै मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरी जग्गा प्राप्त गर्थे । पहिलो पटक मन्त्रालयले काठमाडौंको साबिक सेतीदेवी गाविस–९ हात्तीवनमा हिमालय हाइट रिसोर्टलाई ३० रोपनी वन क्षेत्र लिजमा दिएको थियो । लिज सकिएपछि फेरि २०६७ मा मन्त्रालयले म्याद थप गरेको छ । मन्त्रालयले अहिलेसम्म करिब २० हजार हेक्टर वन क्षेत्र विकाससम्बन्धी आयोजनाका लागि उपलब्ध गराएको देखिन्छ ।

प्रकाशित : चैत्र ५, २०७६ ०७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×