कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

ढोकैमा साबुन पानी

कोराेनाबाट बच्‍न ग्रामिण बस्तीमा ब्युँतियो पुरानो चलन । भन्छन्- ‘पहिला हातखुट्टा र मुख धुनुस, अनि मात्रै भित्र’
जितेन्द्र साह

मोरङ — ‘यहाँ बाल्टिनमा पानी, जग र साबुन राखिदिएको छु,’ घरमा आउनेलाई सुकमाया चौधरी भन्ने गर्छिन्, ‘पहिला हातखुट्टा र मुख धुनू, अनि भित्र पस्नू ।’

ढोकैमा साबुन पानी

तीन दशकदेखिकी महिला स्वास्थ्य स्वयंसेविका मोरङको महेशपुरकी ५४ वर्षीया चौधरी पाहुनालाई मात्रै होइन, परिवार र छिमेकीलाई पनि साबुन–पानीले हातमुख धुन लगाएपछि मात्र घरभित्र जान दिन्छिन् । व्यक्तिगत सरसफाइको यो काइदा उनले सानी छँदा बुबाआमा र छरछिमेककाले गरेको देखेकी थिइन् । बस्ती बढ्दै जाँदा र सहरीकरणको हावाले छुँदै जाँदा यो चलन हराएको थियो । अहिले त्यही पुरानो चलन उनले कोरोना भाइरसविरुद्धको सतर्कतास्वरूप आफू जोगिन र अरूलाई पनि जोगाउन प्रयोगमा ल्याएकी छन् ।


‘ऊबेला घरको द्वारमा यसैगरी बाल्टिनभरि पानी र जग राख्ने चलन थियो, कतैबाट आउँदा हातखुट्टा तथा मुख पखालेर मात्र भित्र पस्थे,’ उनले भनिन्, ‘हाटबजारमा गइन्छ, दस ठाउँ टेकिन्छ, दस जनालाई भेटिन्छ, बाहिरका फोहोर र कीटाणु घरभित्र नपसुन् भनेर यसो गर्ने चलन थियो ।’


चौधरीका अनुसार बिर्सिसकेको पितापुर्खाको संस्कृतिलाई कोरोना भाइरसको त्रासले सम्झाएको छ । ‘आफ्नो स्वास्थ्यका छरछिमेकलाई यसैगरी द्वारमा एक डोल (बाल्टिन) पानी, जग, मग र साबुन राख्न लगाइरहेको छु,’ उनले भनिन्, ‘घर बाहिरै धारा र चापाकल भएकाले एउटा साबुन राखिदिए पुग्छ ।’


अहिलेसम्म कुनै पनि निकायबाट यसबारे बस्तीवासीले प्रशिक्षण र जानकारी नपाएको चौधरीले बताइन् । ‘सञ्चारमाध्यमबाट यो भाइरसबारे थाहा पाएको हुँ,’ उनले भनिन्, ‘जति मैले ज्ञान पाएकी छु, त्यसअनुसार गरिरहेकी छु । अरूलाई पनि गर्न लगाइरहेको छु, हातखुट्टा धोएर मात्र घर छिर्ने र ओछ्यानमा बस्ने सल्लाह दिइरहेको छु ।’


बस्तीमा कसैलाई रुघा, ज्वरो र झाडापखाला लागेमा अस्पताल पठाउने गरेकी छन् । ‘कोरोना भाइरसकै संक्रमण नभए पनि अहिलेको बेला रुघा लागेमा लापरबाही गर्नुहुन्न भनेर सम्झाउँछु,’ उनले भनिन् । बितेका दुई साताको अवधिमा उनले आफ्नो बस्तीमा सामान्य रुघा लागेका एक नाबालकसहित चार जनाले अस्पतालमा उपचारपछि निको भएर घर फर्केको बताइन् ।


चौधरीका अनुसार बस्तीका सबै जना सफा र स्वस्थ छन् भने हात मिलाउँदा र छुँदा पनि समस्या हुन्न, मास्क पनि लगाउनु पर्दैन । ‘हात जोडेर हिँड्दैमा समस्याको समाधान हुन्न, भेट हुने दुवै व्यक्तिको हात सफा छ, स्वस्थ छन् भने हात मिलाउँदैमा केही फरक पर्दैन,’ उनले भनिन् ।


उक्त बस्तीका नाउ ५५ वर्षीय लखिराम ठाकुरले कपालदाह्री काट्दा व्यक्तिपिच्छे पानी र ब्लेड फेर्ने गरेको तथा हात धुने गरेको बताए । ‘ंभाइरसको डरले हाम्रो व्यापार पनि कम भएको छ,’ उनले भने, ‘तर नाउहरू पनि जानकार भएकाले ग्राहक डराउनु पर्दैन ।’

कटहरी–१, जमटोकी बस्तीकी ५२ वर्षीया गौडा माझीले अचेल हरेक दिन पक्की घरको सतहमा पोछा लगाउने र माटोको आँगनलाई गोबरले लिपपोत गरिरहेको बताइन् । ‘उहिलेदेखि कतैबाट आउँदा हाम्रो परिवारजनमा हातखुट्टा धोएर मात्र घरमा छिर्ने बानी छ,’ उनले भनिन्, ‘यसले घर, फर्निचर तथा ओछ्यान पनि सफा रहन्छ, राति सुत्ने बेलामा हातखुट्टा पनि चिलाउँदैन ।’


मोरङको धनपालनाथ–६, दादरवैरियाका किसान कपिल राजवंशीले व्यक्तिगत सरसफाइलाई हल्का रूपमा लिने असभ्य जीवनशैली भएकालाई र उनीहरूकै कारण अरूलाई संक्रमण भइरहेको बताए ।


‘पहिलेको जमानामा गाडीघोडा थिएन, हाम्रा पुर्खा पैदलै हिँडेर घर फर्कंदा धूलोमैला हुन्थे, घरको द्वारमा राखेको डोलको पानीले हातखुट्टा र मुख धुन्थे, अनि घरभित्र छिर्थे,’ उनले भने, ‘अहिले त शयनकक्ष, स्नानगृह, भान्छा र शौचालयभित्रै धाराको व्यवस्था छ तैपनि यो भयावह समस्या देखियो ।’


हात धुने र सरसफाइमा पानीको प्रयोग गर्ने पूर्वीय संस्कृति महामारी फैलिनबाट रोक्ने एक परम्परागत उपाय हुन सक्ने चिकित्सकहरूको बुझाइ छ ।


‘यो कुनै अनुसन्धानसिद्ध तथ्य त होइन तर दक्षिण एसियामा कोरोना संक्रणको ढाँचा र अन्य मुलुकमा यसको ढाँचा हेर्दा पानी प्रयोग गर्ने हाम्रो चलन र उनीहरूको चलनलाई पनि दाँज्ने हो भने एउटा भिन्दै तस्बिर देखिन्छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुन भन्छन्, ‘त्यो के भने, पानी कम चलाउने संकृति भएकामा भाइरसजन्य महामारी तीव्ररूपमा फैलिने गरेको छ ।’


उनका अनुसार युरोपमा एकै दिनमा हजार हजारलाई छोएको कोरोनाले भारतमा दुई संख्या नघाउन नसक्नाको कारण खोतल्ने हो भने पानी प्रयोग गर्ने पूर्वीय परम्परा देखिन आइपुग्छ ।


‘युरोपेलीहरू खाने बेलामा हात धुँदैनन्, काँटा–चम्चाले खान्छन्, चिनियाँहरू चपस्टिक चलाउँछन्, शौच गर्दा कागजले पुस्छन् जसमा जीवाणु घन्टौं बसिरहन्छन्,’ उनी भन्छन्, ‘हामी भने बिहान पूजापाठ गर्दा नुहाइधुवाइ गर्छौं, खाना खान अघि र पछि हात धुन्छौं, शौचालयमा पनि पानी नै प्रयोग गर्छौं, खाएपछि भाँडै पनि कति पटक माझिसकेका हुन्छौं, जसले गर्दा जीवाणु एकबाट अर्कोमा सर्ने शृंखला टुट्न पुग्छ ।’


पुनका अनुसार यसरी पूर्वीय सभ्यताको पानी प्रयोग गर्ने चलनले जानी नजानी महामारीलाई रोकथाम गर्ने अचुक काम गर्दै आइरहेको छ । आयुर्वेदले पनि पानी चलाउने बानीलाई स्वस्थ मान्दै आएको छ ।


स्वस्थ खानपिन गर्ने, अनुशासित जीवन जिउने र योग गर्नेलाई कुनै पनि खालको भाइरसको चाँडो संक्रमण नहुने मोरङकै जहदा गाउँपालिका–४ का वरिष्ठ वैद्य सुनील शाह बताउँछन् । ग्रामीण बस्तीमा देखिएको यस्तो स्वास्थ्य चेतना अनुकरणीय, उदाहरणीय र प्रशंसनीय भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा.सुरेश मेहताले बताए ।

प्रकाशित : चैत्र ५, २०७६ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?