२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

नेपालमा कोरोना संक्रमण रोक्न एनआरएनएले बनायो समिति

ददी सापकोटा

पेरिस — विश्वव्यापी प्रकोप बनेको कोरोना भाइरसको नेपालमा सम्भावित संक्रमण र विस्तार रोक्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उच्चस्तरीय समिति गठन गरेको छ । एनआरएनए अध्यक्ष कुमार पन्तको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समिति गठन भएको संघका महासचिव हेमराज शर्माले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमण रोक्न एनआरएनएले बनायो समिति

संघको आइतबार बसेको पदाधिकारी बैठकको निर्णयअनुसार उच्चस्तरीय समिति सल्लाहकारमा कांग्रेसका नेता गगनकुमार थापा र पूर्वशिक्षामन्त्री डा. गंगालाल तुलाधार छन् ।


स्वास्थ्य क्षेत्रका विज्ञसहितको समितिका अन्य सदस्यमा सञ्जिव सापकोटा (अमेरिका), डोरन रसाइली (क्यानाडा), पदम सिम्खडा (यूके), रमेशकुमार खोजु (यूके), सन्तोष सापकोटा (अमेरिका), सत्यमान राजभण्डारी (यूके), कुश श्रेष्ठ (अस्ट्रेलिया), पुरु श्रेष्ठ (अमेरिका), अलनी सुवेदी (पोल्याण्ड), श्रवणकुमार मिश्र (नेपाल), शक्ति चौरसिया (नेपाल), हेमराज शर्मा (यूके) र हेमन्त दवाडी (नेपाल) रहेका छन् ।


समितिले नेपाल सरकारसँग सहकार्य गरेर कोरोना भाइरस महामारीविरुद्ध लड्न संघले नयाँ समिति गठन गरेको अध्यक्ष पन्तले जानकारी दिए । समितिले देशमा आइपर्ने विपत्तिका बारेमा दीर्घकालीन गुरु योजना तयार गर्नेलगायत, सचेतनामूलक सामग्री तयार गर्ने अध्यक्ष पन्तले जनाए ।


समितिले वैदेशिक रोजगारमा गएका नेपालीको सहयोगका लागि नेपाली भाषामा प्रचार सामग्री तयार गर्ने, महामारीको अवस्थामा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गर्ने, तत्कालका लागि कोरानो संक्रमणविरुद्ध लड्न आवश्यक सामग्री उपलब्‍ध गराउने, नीतिगत तहमा विदेशमा सिकेको ज्ञान र सीपलाई नेपाल सरकारसम्म पुर्‍याउनेलगायत विषयमा केन्द्रित भएर गर्ने बताएको छ ।


चीनबाट सुरु भएको कोरोना भाइरस विश्वका धेरै देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेसँगै एनआरएनएले सक्रियता देखाएको हो । संघका विश्वभर ८१ देशमा राष्ट्रिय समिति छन् । संघले यसअघि आफ्ना शाखालाई कोरोना भाइरसको संक्रमण रोक्न र सजक हुन निर्देशन दिइसकेको छ ।


यसैबीच, एनआरएनएले आगामी तीन महिनाभित्रका लागि तय भएका सबै औपचारिक कार्यक्रम रद्द गरेको छ । संघका महासचिव शर्माका अनुसार आइतबारको पदाधिकारी बैठकले आगामी तीन महिनाभित्रका लागि तय भएका सबै कार्यक्रम रोक्ने निर्णय गरेको छ । उनका अनुसार कार्यक्रमका आन्तरिक तयारी भने जारी राख्‍ने निर्णय भएको छ ।


संघका आन्तरिक विषयमा छलफल गर्न अन्तर्राष्ट्रिय परिषद्‍ बैठक आगामी २२ मार्चको लागि तय गरिएको संघले जनाएको छ ।

प्रकाशित : चैत्र ४, २०७६ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?