नेकपाले सांसदलाई मतपत्र देखाउन भनेपछि विवाद
जनकपुर — प्रदेशको नामाकरणका लागि राखिएको प्रस्तावमा क्रस भोटिङको डरले नेकपाले आफ्ना सांसदलाई मत पत्र खसाल्नुअघि मतपत्र देखाउन भनेपछि विवाद भएको छ ।
सत्ता पक्ष राजपा र समाजावादीले प्रस्ताव गरेको 'मधेस प्रदेश'मा मतादान सुरु भएसँगै नेकपाले आफ्ना सांसदले हालेको मतपत्र हेर्न अर्का सांसदलाई लगाएपछि विवाद भएको हो ।
नेकपाका सांसद दिलीप साहले मतदान गरेपछि नेकपाकै अर्का सांसद किशोरी साहलाई मतपत्र देखाउँदै मतपेटिकामा मत खसालेका थिए । नेकपाले सत्तारुढ दलले राखेको प्रस्तावको विपक्षमा मत हालेको निश्चित गरेपछि मात्रै आफ्ना सांसदलाई मतपेटिकामा मत खसाल्न लगाएपछि विवाद भएको हो ।
नेकपाले पार्टीको ह्विप नमान्न सक्ने सांसदहरुको सूची नै तयार पारेर उनीहरुको पछाडि अर्को सांसद खटाएर मतपत्र देखाएर मतपेटिकामा खसाल्न लगाएको छ ।
प्रदेश २ को नामकरण लागि जारी मतदानमा 'क्रस भोटिङ' भएपछि प्रतिपक्ष कांग्रेसले पनि आफ्ना पार्टीका सांसदहरुलाई ह्विप जारी गरेको छ ।
प्रदेशको नामकरणका लागि नेकपा, कांग्रेस र बारा-पर्साका सांसदले राखेको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ। नेकपाले प्रदेशको नाम 'जानकी', कांग्रेसले 'मिथिला-भोजपुरा' र बारा-पर्साका सांसदले 'मध्य मधेस' नाम प्रस्ताव गरेका थिए ।
यो पनि पढ्नुहोस्ः
क्रस भोटिङको डरले कांग्रेसले घेरामा राख्यो आफ्ना सांसद
प्रकाशित : चैत्र ४, २०७६ १९:४०