१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

विषाक्त मदिरा सेवनबाट धुनषामा मृत्यु हुनेको संख्‍या २१ पुग्यो

श्यामसुन्दर शशि

जनकपुर — विषाक्त मदिरा सेवन गरी धनुषामा मृत्यु हुनेहरुको संख्या २१ पुगेको छ । उपचारार्थ प्रादेशिक अस्पताल जनकपुर भर्ना गराइएकामध्ये २ जनाको अस्पतालमै तथा एक जनाको घरमा गरी आइतबार तीन जनाको मृत्यु भएको छ । यसरी जिल्लामा विषाक्त मदिरा सेवन गरी मृत्यु हुनेको संख्या २१ पुगेको हो ।

विषाक्त मदिरा सेवनबाट धुनषामा मृत्यु हुनेको संख्‍या २१ पुग्यो

फागु पर्व भन्दा एक साताअघिदेखि क्षिरेश्वरनाथ नगरपालिका १ र २ को रमदैयामा सुरु भएको विषाक्त मदिरा सेवन गर्दा उक्त गाउँका १४ जनाको मृत्यु भइसकेको छ भने दुई दिन यता जनकपुर उपमहानगरपालिका-७ मुसहरी टोलका ६ जनाको तथा फागु पर्वकै दिन बुधबार राति परवाहामा एकजनाको मृत्यु भएको थियो ।


विषाक्त रक्सी सेवन गरी क्षिरेश्वर नपा १ का ४५ वर्षीय रामबहादुर यादव,जनकपुर-७ का जितेन्द्र सादा र रामो महराको आइतबार मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका-७ का वडाध्यक्ष जानकीराम साहका अनुसार– विषाक्त रक्सी सेवनगरी वडामा झगरु सदा, मिथिला सदा, बनारसी सदा तथा रामरती सदागरी कूल ६ जनाको मृत्यु भएको छ ।

धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

मृतक इन्द्रजीत महराका भाई रंजीत महराका अनुसार एक सातायता क्षिरेश्वरनाथ नपा १ र २ रमदैयामा ब्रह्मदेव यादव, गुदरी महरा, रामनारायण महरा, रंजीत महरा, राजु महरा, दशैया महरा, श्रीदेव यादव, निरज यादव, रामबहादुर यादव, रामविलास मण्डल ,शत्रुघ्न मण्डल, विजय सदा, भुनटुन सदा र रामसखी देवी सदाको मृत्यु भएको छ ।


स्थानीयवासीका अनुसार विषाक्त रक्सी सेवन गरी बिरामी भएका राम ईश्वर महरा, प्रदीप सादा भरत मण्डल , मनिर नदाफ, भरत सादा तथा सीताराम यादवको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


शोकमा डुब्यो रमदैयाको चमरटोली र मण्डल टोल

यसबीच रमदैयामा विषाक्त रक्सी सेवन गरी मृत्यु हुनेहरुका आश्रित परिवारलाई पूर्वमन्त्री तथा धनुषा क्षेत्र नम्बर ४ का सांसद रघुवीर महासेठ आइतबार घरदैलोमै पुगी जनही २० हजार नगद प्रदान गरेका छन् । उनले गाउँलाई मदिरामुक्त गाउँ घोषणा गर्नुपर्ने आह्वान पनि गरे ।


यसबीच क्षिरेश्वरनाथ नगरपालिका-१ का वडाध्यक्ष श्यामकिशोर यादवले सिँगै वडालाई मदिरामुक्त वडा घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘यसअघि पनि वडा समितिले जाँडरक्सी मुक्त वडा घोषणा गरेकै थियो । अब यस निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्नेछौं,’ यादव कान्तिपुरसँग भने ।


यता जनकपुरनगरको परिक्रमा क्षेत्रलाई मदिरा मुक्त घोषणा गर्नुपर्ने अभियान सञ्चालन गर्दै आएका जनकपुर उपमहानगरपालिका-७ का वडाध्यक्ष जानकीराम साहले मृतकहरु परिक्रमा सडक भन्दा बाहिर गएर मदिरा सेवन गरेको बताएका छन् । आफूले सञ्चालन गरेको अभियान अझ कडाइका साथ कार्यान्वयन गर्ने उनले बताए ।

प्रहरीले धनुषामा एकैदिन २२ मदिरा भट्टी भत्कायाे

मदिरा सेवनबाट धनुषामा यसअघि पनि मृत्यु भएका थिए


विषाक्त मदिरा सेवन गरी ज्यान गुमाउने घटना धनुषाका लागी नौलो होइन । दुई वर्ष अघि पूर्वी धनुषाको कमला नगरपालिकामा विषाक्त मदिरा सेवनबाट ८ जनाको मृत्यु भएको थियो । कमला नपा ६ मडानका ३८ वर्षीय राजवीर महतो र ५२ वर्षिय गंगा पाश्वान , कमला नगरपालिका ५ लक्करका ३७ वर्षीय मनिक पाश्वान, ५५ वर्षीय रामचन्द्र पाश्वान र ४० वर्षीय रामनाथ पाश्वान तथा कमला नगरपालिका ६ सिन्याही मडानका ४७ वर्षीय साविर मियाँ अन्सारी सहित ८ जनाको मृत्यु भएको थियो ।


२०४८ सालमा विषाक्त रक्सी सेवन गरी जनकपुरमा १९ जनाको मृत्यु भएको थियो भने २०६२ सालमा पनि आधा दर्जन व्यक्तिको मृत्यु भएको थियो ।


प्रहरी प्रशासनको मिलिमतो तथा राजनीतिक दलका नेताहरुको संरक्षणमा अवैध मदिरा उत्पादन जिल्लामा बेरोकटोक हुँदै आएको छ । अवैध मदिरा उत्पादकहरु सरोकारवालाहरुलाई विधिवत महिनावारी रकम नै दिने गरेका छन् ।


पूर्व–पश्चिम राजमार्गको दुवैतिर अवस्थित वीरेन्द्र बजार,गोदार, छघरिया, मुलावारी,यज्ञभूमि, हहिहरपुर, चिसापानी, लगायतका एक दर्जन अधिक गाउँमा खुल्ला रुपमा घरेलु मदिरा उत्पादन हुँदै आएको छ ।

प्रकाशित : चैत्र २, २०७६ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?