घरमा डोजर चलेपछि... (तस्बिरसहित)


दाङ — आइतबार दिउँसो गढवा बजारमा एकाएक सडकमा प्रहरीको बाक्लो उपस्थिती देखियो । केहीबेरमा सडक किनारका घरहरुमा डोजर चल्न थाल्यो । कोही रुवाबासी गर्न थाले, कोही हतारहतार घरभित्रका सामान पाको पारेर बाहिरतिर दौडन थाले । केहीबेर गढवा बजार तनावग्रस्त भयो ।



लमही–कोइलावास सडकखण्डको गढवा बजार क्षेत्रमा आइतबार डोजर चलाएर घर भत्काइएको छ । सडक किनारका घर भत्काउन पटकपटक चेतावनी दिँदा पनि अटेर गरेपछि डोजर लगाएर घर भत्काइएको गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले बताए ।
मुआब्जा बुझेर पनि संरचना हटाउन नमानेपछि प्रहरीको सहयोगमा डोजर चलाइएको यादवले बताए । ‘मुआब्जा बुझेका ७० प्रतिशत घरधनीले आफै भत्काएका छन् । अटेर गर्ने बाँकी ३० प्रतिशत घरमा डोजर लगाउनुपर्यो,’उनले भने,‘सडक छेउका संरचना नहटाउँदा सडक विस्तारमा समस्या भयो । बाध्य भएर डोजर चलाउनुपर्यो ।’
हुलाकी सडक अन्तर्गत लमही–कोइलाबास सडक विस्तार तथा कालोपत्रे भइरहेको छ । संरचना नभत्काएका कारण सडक निर्माणमा ढिला भएको उनले बताए । ‘सडक निर्माणको काम रोकिन थाल्यो । आफैं भत्काउन धेरैपटक अल्टिमेटम दिँदा पनि अटेर गरे,’ यादवले भने,‘अन्तमा बल प्रयोग गरेर सडक खाली गरियो ।’ २० जनाले मुआब्जा पाएर आफै भत्काएको, तीन जनाले मुआब्जा नपाएर पनि भत्काएको र मुआब्जा पाएर पनि अटेर गरेका एक दर्जन घरमा डोजर लगाउनुपरेको उनले बताए ।
लमही कोइलाबास ३३ किलोमिटर सकडमध्ये हालसम्म २६ किलोमिटर कालोपत्रे भैसकेको निर्माण कम्पनी कालिका कुमार जेभीका प्रतिनिधि राजेन्द्र श्रेष्ठले बताए । समयमा सडक किनारका संरचना नहट्दा निर्माणमा ढिलाइ भैरहेको उनले बताए ।
‘अझै केही ठाउँमा विद्यूतका पोल हटाउन बाँकी छ । जसले गर्दा कालोपत्रे, नाली र कल्भर्ट निर्माणमा अवरोध भएको छ,’ उनले भने,‘कोइलाबास बजार, गढवा बजार र जंगलका केही क्षेत्रमा निर्माणको काम बाँकी रहेको छ ।’
प्रकाशित : चैत्र २, २०७६ १९:०२