स्पेन पनि १५ दिनलाई ‘लक–डाउन’

इटालीमा हिँडडुलमा ‘आउटर सर्टिफिकेट’ अनिवार्य
देवेन्द्र भट्टराई

काठमाडौँ — चीनपछि कोरोना भाइरस संक्रमण सबैभन्दा बढी देखिएको युरोपको स्पेन र इटाली दुवै देश ‘लक–डाउन’ स्थितीमा पुगेका छन् । स्पेनको बार्सिलोनामा बस्दै आएका कास्की मूल घर भएका दिनेश गुरुङका अनुसार स्पेन सरकारले शनिबारदेखि लागू हुने १५ दिनको ‘क्वारेन्टाइन’ अवधि तोकेर सम्पूर्ण हिँड्‌डुलसहितका गतिविधिमा रोक लगाएको छ ।

‘बार्सिलोना सहर सुनसान छ, हामी सबै आ–आफ्नो घरभित्र छौं,’ बार्सिलोनामा १५ वर्षयता बस्दै आएका गैर आवासीय नेपाली संघ स्पेनका अध्यक्ष समेत रहेका गुरुङले भने,‘दैनिक चाहिने खाद्यान्नसहितका सामान लिन नजिकको पसलमा जान्छौं, अरुतिर हिँड्डुल प्रतिबन्ध छ । औषधि उपचारका काममा अस्पताल जानुपर्ने भएपनि बाहिर निस्कन नपाइने भनिएको छ । खबर गरेपछि घरमै डाक्टर आइपुग्ने भनिएको छ ।’


स्पेनस्थित राजदूत दावा फुट्टि शेर्पाले स्पेनमा औपचारिक तथ्यांकमा झण्डै ५ हजार नेपाली रहेको बताएपनि अध्यक्ष गुरुङले नेपाली संख्या १० हजारजति रहेको बताएका छन् । ‘स्पेनमा रहेको नेपाली संख्यामध्ये आधाजति बार्सिलोनामै रहेको छ,’उनले जानकारी दिए ।


कोरोना भाइरसका कारण स्पेनमा झण्डै ६ हजार नागरिक संक्रमित देखिएको र २ सय जनाको निधन भइसक्दा पनि स्वास्थ्य र सेवा–सुरक्षा स्थिति भरपर्दो रहेकाले त्यति धेरै आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए । उनले पनि राजदूत शेर्पाले बताएझैं नेपाली समुदाय सुरक्षित र संयमित रहेको जानकारी दिए ।


‘नियम भने कडाइका साथ लागू भएको छ, प्रहरी–प्रशासनको अनुमती नलिइ जथाभावी बाहिर हिँडेमा २ हजार युरोसम्म जरिवाना र जेल सजायसमेत हुने जानकारी गराइएको छ,’गुरुङले भने,‘सबै कामदार, व्यवसायीले १५ दिनको तलबी बिदा पाएका छन् ।’


स्पेनअघि सबैभन्दा बढी कोरोना संन्त्रासमा रहेको इटालीमा पनि घरभित्रै बस्नुपर्ने ‘क्वारेन्टाइन’ प्रकृयालाई निकै कडाइका साथ कार्यान्वयनमा ल्याइएको इटालीस्थित गैर आवासीय नेपाली संघका अध्यक्ष देवराज गुरुङले बताए । उनले फोनमा भने,‘इटाली सरकारले यो मार्च महिनाभर सेल्फ–क्वारेन्टाइनमै बस्नुपर्ने भनेपछि देशभित्रका वा आप्रवासी आत्मनियन्त्रण र अनुशासनमा घरभित्रै बसिरहेका छन् । इटालीका सिमावर्ती मुलुकहरु स्वीजरल्याण्ड, अष्ट्रिया, जर्मनी, फ्रान्स सबैतिर जाने नाका बन्द छ ।’


इटालीको रोममा बसोबास गर्दै आएका गुरुङका अनुसार घरबाहिर कतै आवतजावत गर्नुपरेमा वा एकअर्को जोनमा आउजाउ गर्नुपर्‍यो भने स्थानीय प्रहरी प्रशासनबाट ‘आउटर सर्टिफिकेट’मा हस्ताक्षर गराएर मात्रै हिंड्नुपर्नेछ ।


इटालीमा झण्डै २१ हजार व्यक्ति कारोना संक्रमित देखिएको र यसमा १४ सय जतिको निधन भइसकेको छ । ‘सिंगो देश बन्द छ, हामी नजानिदो सन्त्रासमा छौं,’ रोमवासी सुदिप अधिकारीले भने,‘हामी असुरक्षित त होइन, बढी त्रसित छौं ।’

प्रकाशित : चैत्र २, २०७६ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जो राख्थे लेखाइ र बोलाइमा ओज

देवेन्द्र भट्टराई

काठमाडौँ — ‘हाम्रो जीवन एक अज्ञातबाट अर्को अज्ञाततिरको यात्रा हो, न जन्मभन्दा पहिलेको कुरा थाहा छ, न त मृत्युपछिको कथा नै । तैपनि फूर्ति गर्दैछौं कि हामी धेरै जान्दछौं ।’ 

आफ्नो बौद्धिक तथा प्राज्ञिक अवधिमा जीवन, जगत् र दर्शनका दूरगामी अर्थ राख्ने कुरा लेखेर वा बोलेर नेपाली समाजमा दरिलो प्रभाव राख्ने प्रा. दुर्गाप्रसाद (डीपी) भण्डारीले लेखेको उपरोक्त वाक्यांश अन्ततः आफ्नै लागि लेखिएजस्तो भयो । ८४ वर्षको उमेरमा शनिबार काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएका उनको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिएको छ । भण्डारीका दुई छोरा शरद र शैलेश भण्डारी अन्तिम संस्कारमा सहभागी थिए ।

त्रिभुवन विश्वविद्यालयमा अढाई दशक प्राध्यापन गरेर बेग्लै प्राज्ञिक नाम बनाएका भण्डारी विगतमा नेपाल तथा एसियाली अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक, नेपाल प्राध्यापक संघ तथा नेपाल सांस्कृतिक प्रतिष्ठानका अध्यक्षसमेत रहेका थिए । ‘जागिर वा औपचारिक सेवाका कामभन्दा अघि बढेर भण्डारी सरले नेपाली समाजलाई झक्झक्याइरहने गरी विचार र चिन्तन दिएर जानुभएको छ,’ त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले भण्डारीलाई सम्झने क्रममा भने, ‘उहाँ विचार, दर्शन र चिन्तनकै आधारमा कसैको काबुमा बस्न चाहनुहुन्नथ्यो, जीवन–जगत्मा हरेक पक्षमा ‘क्रिटिकल’ रहेरै भण्डारी सरले जीवन बिताउनुभयो ।’ भण्डारीले लेखेका र बोलेका कतिपय कुरा विवादमा आए पनि कतिपयले ‘सेन्स अफ ह्युमर’ (परिहास) र ‘विट’ (विनोदप्रियता) बीच अन्तर पाउन नसकेकाले हुन सक्छ भन्दै माथेमाले एउटा सच्चा प्राज्ञिक व्यक्तिलाई कसैले कुनै घेरामा बाँधेर राख्न नमिल्ने प्रतिक्रिया दिए ।

संवत् १९९२ मा डोटीको निरौली गाउँमा जन्मेका भण्डारीले सुरुमा हरिद्वारमा गएर संस्कृत शिक्षा हुँदै स्वअध्ययन र रुचि आधारमा हिन्दी, अंग्रेजी, नेपाली साहित्यमा अध्ययन–मनन बढाएका थिए । आइरिस कवि डब्लू बी यिट्सको कवित्वमाथि पीएचडी गरेका भण्डारी नेपाली भाषा–साहित्यमा एकसाथ कालिदासदेखि शेक्सपियरसम्मको सिर्जनासम्म बहस गर्न सक्ने पात्र थिए । भण्डारीका ‘मृगस्थली’, ‘नीरो बाँसुरी बजाइरहेछ’, ‘त्यो धर्ती त्यो आकाश’, ‘फूल र रोटी’ जस्ता आत्मपरक निबन्धका संग्रह प्रकाशित छन् ।

‘मान्छेभित्र अनेक जटिलता लुकेको हुन्छ, ढोंग र भ्रम पनि उत्तिकै हुन्छ,’ भण्डारीको लेखनशैलीबारे जानकार पत्रकार शेखर खरेल भन्छन्, ‘तर आफूले आफैंलाई ‘तिम्रो र मेरो जीवन लाटाले बजाएको बाँसुरीको धुन जस्तै छ । यहाँ धुन छ, ध्वनि छैन, तर्कहीनता छ, तर्क छैन, विसंगति बढी छ, संगति कम’ भनेर व्यंग्य गर्न सक्ने साधक कति होलान् ? भण्डारी सर एकदमै सरल ढंगमा, सरल रेखामा बाँच्न चाहनुभयो, त्यही भएर कतिपयले उहाँलाई ‘अन्यथा’ रूपमा बुझेका हुन् ।’

पशुपतिमा अन्तिम संस्कार चलिरहँदा डा.भण्डारीका निकटस्थ प्राज्ञिक मित्र प्राध्यापक श्रीधर लोहनी पनि शोक समवेदनामा सामेल भेटिए । ‘जीवन भन्नु यस्तै हो, भन्नै नसकिने,’ लोहनीले धेरै बोल्न चाहेनन्, ‘मैले भण्डारीजीसँग ५० वर्षभन्दा बढी संगत गरें । यो अवधिमा बिर्सनेभन्दा सम्झने कुरा धेरै छन् ।’ कीर्तिपुर विश्वविद्यालयमा प्राध्यापन गर्दा भण्डारी, लोहनीसहित रामेश्वरप्रसाद अधिकारीसमेतको ‘त्रय–प्राध्यापक दोस्ती’ बारेमा अझै पनि कानेखुसी हुने गरेको छ ।

विस्मृति रोग (अल्जाइमर्स) का कारण झन्डै ५ वर्ष थलिएर शनिबार देहत्याग गरेका भण्डारीझैं अर्का प्राध्यापक अधिकारी पनि झन्डै एक दशकयता यही अल्जाइमर्सले इन्तु न चिन्तु अवस्थामा छन् । एउटा व्यक्ति बितेपछि मात्रै ऊभित्रको व्यक्तित्व र कृतित्वको महिमा–गान हुने गरेको नेपाली समाजको प्रवृत्तिमा अलिकति ‘असन्तोष जाहेर गर्दै’ भण्डारी कीर्तिपुरमा प्राध्यापक भएकै बेलाका त्रिवि उपकुलपति रहेका माथेमाले भने, ‘विश्वविद्यालयबाट अवकाश भएपछि पनि भण्डारी सरको प्राज्ञिक र बौद्धिक क्षमताको उपयोग गर्नमा राज्यले ध्यान दिनुपर्थ्यो तर त्यसो गरिएन जस्तो लाग्छ ।’

माथेमा उपकुलपति रहेकै बेलामा २०४८ ताका भण्डारी त्रिविमा नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) मा कार्यकारी निर्देशक थिए । ‘त्यो बेला भण्डारी सरलाई भेट्न म उहाँको कार्यकक्ष सिनास गएको थिएँ,’ माथेमा सम्झन्छन्, ‘उहाँको कक्षमा जाने अनुमति पाएपछि भित्र पुग्दा प्राध्यापक गोविन्द भट्टसँग उहाँ कुराकानी गरिरहनुभएको पाएँ । अनि ‘कतै बाधा पो पुग्यो कि’ भनेर सोधेको थिएँ, उहाँले अलिकति मुस्काउँदै सहज तरिकाले भन्नुभयो—होइन केही छैन । गोविन्दजी र म आत्माका बारेमा चर्चा गरिरहेका थियौं ।’

भण्डारीले विभिन्न पत्रपत्रिकामा स्तम्भ लेख्दा मीनाक्षी, उर्वशी, मदालसा, शिला, सुलेखा, हिमशिला, उर्मिला, मेरिना, अम्बालिका आदि केही सही अर्थका र केही काल्पनिकलाई पात्र बनाएर आत्मपरक शैलीमा लेख्ने गरेका थिए । ‘भण्डारी सर मुक्तआत्मा हुनुहुन्थ्यो, कतिपयले उहाँको परिहास र त्यसभित्रको तीक्ष्णता तथा प्रवचनको वाक्पटुतालाई नबुझेका मात्रै हुन्,’ पत्रकार खरेल भन्छन्, ‘भारतीय लेखक खुशवन्त सिंहको लेखाइलाई एकातर्फ तारिफ गर्ने र अर्कातिर भण्डारी सरको विचार–चिन्तनलाई सतही भनेर उडाउने विरोधाभाष हामीमाझमैं छ ।’

भण्डारीको लेखाइमा जीवनसँग जोडिएका कुरा हुन्थे, हलुका लाग्ने वाक्य संरचनामा पनि दर्शनको गाम्भीर्यता लुकेको हुन्थ्यो । भण्डारी आफ्नो लेखनमार्फत कथित बुद्धिजीवीलाई भन्थे— ‘यहाँको कोलाहलमा मौन रहनुभन्दा बढी उचित म केही देख्दिनँ । यहाँको सबैभन्दा ठूलो गहिराइ र उचाइ अखबारबाट सूचना जम्मा गर्नु र राजनीतिका कुरा गर्नु हो । मेरो दृष्टिमा दुवै सामान्य स्तरका क्रियाकलाप हुन् । राजनीति र अखबार हामीलाई गहन सत्यमा, जीवनको रहस्यमा जानबाट वञ्चित गरिरहन्छन् । नेपाली बुद्धिजीवीहरू धेरै ठूलो सीमासम्म अखबार–पोषित राजनीतिक सूचना पिपासु हुन् ।’

राजनीतिक विचारमा प्रजातान्त्रिक धारमा लागेर प्राध्यापक संघको नेतृत्वमा पुगे पनि भण्डारीका फ्यान–फलोवरमा स्वतन्त्र वा कम्युनिस्ट कित्ताका कवि/लेखकहरू समेत थिए । भण्डारी कवि कोषराज न्यौपानेलाई ‘भुसतिघ्रे’, खगेन्द्र संग्रौलालाई ‘चाउरे’ र गोविन्द ढकाललाई ‘मोफतलाल’ जस्ता उपमा दिएर बोलाउँथे तर ती सबै आपसी प्रेम, सद्भाव र आत्मीयतामा जोडिएका नाम थिए । प्राध्यापन अवधिमा एकपटक पीके क्याम्पस सम्बद्ध रहेका उनले पद्मकन्या अनुभवबारे लेखेको लेख र ‘नेपाली राजनेताको नाकभन्दा पशुपतिका जोगीको लिंग सुन्दर’ भनेर गरिएको तुलना निकै आलोचनामा छाएको थियो । ‘त्यो तुलनाभित्रको गहिराइ र ‘विट’ लाई धेरैले बुझ्न नचाहेको हो, यो लेखाइ खुशवन्त सिंह शैली हो,’ पत्रकार खरेल भन्छन् ।

प्राज्ञिक लेखाइ र वाक्पटु बोलाइका आधारमा धेरैजसो युवती फ्यान–फलोवर बनाएका भण्डारी उमेर र रूपको भ्रम लिएर हिँडिरहेका केटी मित्रहरूलाई भन्थे—‘यौवनसित बाँधिएको सौन्दर्य क्षणभंगुर हुन्छ । तिम्रो यौवन पनि अरू यौवनहरू जस्तै पानीमा कोरिएको रेखा हो । पानीमा रेखा कोर्दाकोर्दै नष्ट हुन्छ । यौवन गइसकेपछि पुरानो ऐना फोर्न मन लाग्छ, पुराना शृंगार प्रसाधनहरू फ्याँकिदिन मन लाग्छ । इतिहास भन्छ— हेलेनले पनि आफ्नो चाउरी परेको अनुहार हेरेपछि ऐना फोरिदिएकी थिइन् ।’

प्रकाशित : चैत्र २, २०७६ ०७:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×