२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

स्पेन पनि १५ दिनलाई ‘लक–डाउन’

इटालीमा हिँडडुलमा ‘आउटर सर्टिफिकेट’ अनिवार्य
देवेन्द्र भट्टराई

काठमाडौँ — चीनपछि कोरोना भाइरस संक्रमण सबैभन्दा बढी देखिएको युरोपको स्पेन र इटाली दुवै देश ‘लक–डाउन’ स्थितीमा पुगेका छन् । स्पेनको बार्सिलोनामा बस्दै आएका कास्की मूल घर भएका दिनेश गुरुङका अनुसार स्पेन सरकारले शनिबारदेखि लागू हुने १५ दिनको ‘क्वारेन्टाइन’ अवधि तोकेर सम्पूर्ण हिँड्‌डुलसहितका गतिविधिमा रोक लगाएको छ ।

स्पेन पनि १५ दिनलाई ‘लक–डाउन’

‘बार्सिलोना सहर सुनसान छ, हामी सबै आ–आफ्नो घरभित्र छौं,’ बार्सिलोनामा १५ वर्षयता बस्दै आएका गैर आवासीय नेपाली संघ स्पेनका अध्यक्ष समेत रहेका गुरुङले भने,‘दैनिक चाहिने खाद्यान्नसहितका सामान लिन नजिकको पसलमा जान्छौं, अरुतिर हिँड्डुल प्रतिबन्ध छ । औषधि उपचारका काममा अस्पताल जानुपर्ने भएपनि बाहिर निस्कन नपाइने भनिएको छ । खबर गरेपछि घरमै डाक्टर आइपुग्ने भनिएको छ ।’


स्पेनस्थित राजदूत दावा फुट्टि शेर्पाले स्पेनमा औपचारिक तथ्यांकमा झण्डै ५ हजार नेपाली रहेको बताएपनि अध्यक्ष गुरुङले नेपाली संख्या १० हजारजति रहेको बताएका छन् । ‘स्पेनमा रहेको नेपाली संख्यामध्ये आधाजति बार्सिलोनामै रहेको छ,’उनले जानकारी दिए ।


कोरोना भाइरसका कारण स्पेनमा झण्डै ६ हजार नागरिक संक्रमित देखिएको र २ सय जनाको निधन भइसक्दा पनि स्वास्थ्य र सेवा–सुरक्षा स्थिति भरपर्दो रहेकाले त्यति धेरै आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए । उनले पनि राजदूत शेर्पाले बताएझैं नेपाली समुदाय सुरक्षित र संयमित रहेको जानकारी दिए ।


‘नियम भने कडाइका साथ लागू भएको छ, प्रहरी–प्रशासनको अनुमती नलिइ जथाभावी बाहिर हिँडेमा २ हजार युरोसम्म जरिवाना र जेल सजायसमेत हुने जानकारी गराइएको छ,’गुरुङले भने,‘सबै कामदार, व्यवसायीले १५ दिनको तलबी बिदा पाएका छन् ।’


स्पेनअघि सबैभन्दा बढी कोरोना संन्त्रासमा रहेको इटालीमा पनि घरभित्रै बस्नुपर्ने ‘क्वारेन्टाइन’ प्रकृयालाई निकै कडाइका साथ कार्यान्वयनमा ल्याइएको इटालीस्थित गैर आवासीय नेपाली संघका अध्यक्ष देवराज गुरुङले बताए । उनले फोनमा भने,‘इटाली सरकारले यो मार्च महिनाभर सेल्फ–क्वारेन्टाइनमै बस्नुपर्ने भनेपछि देशभित्रका वा आप्रवासी आत्मनियन्त्रण र अनुशासनमा घरभित्रै बसिरहेका छन् । इटालीका सिमावर्ती मुलुकहरु स्वीजरल्याण्ड, अष्ट्रिया, जर्मनी, फ्रान्स सबैतिर जाने नाका बन्द छ ।’


इटालीको रोममा बसोबास गर्दै आएका गुरुङका अनुसार घरबाहिर कतै आवतजावत गर्नुपरेमा वा एकअर्को जोनमा आउजाउ गर्नुपर्‍यो भने स्थानीय प्रहरी प्रशासनबाट ‘आउटर सर्टिफिकेट’मा हस्ताक्षर गराएर मात्रै हिंड्नुपर्नेछ ।


इटालीमा झण्डै २१ हजार व्यक्ति कारोना संक्रमित देखिएको र यसमा १४ सय जतिको निधन भइसकेको छ । ‘सिंगो देश बन्द छ, हामी नजानिदो सन्त्रासमा छौं,’ रोमवासी सुदिप अधिकारीले भने,‘हामी असुरक्षित त होइन, बढी त्रसित छौं ।’

प्रकाशित : चैत्र २, २०७६ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?