कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोरोना रोकथामबारे तीन तहका सरकार छलफलमा (अपडेट)

छलफलमा ७ वटै प्रदेशका प्रदेश प्रमुखहरुको उपस्थिति
जगदीश्वर पाण्डे

काठमाडौँ — कोरोना भाइरस रोकथामबारे तीन तहका सरकारबीचको छलफल सुरु भएको छ । सिंहदरबारमा संघ, प्रदेश र स्थानीय सरकारबीच छलफल भइरहेको छ । छलफलमा ७ वटै प्रदेशका प्रदेश प्रमुखहरु, समाजिक विकासमन्त्री र प्रदेश १,वागमती प्रदेश,प्रदेश ५,कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्‍मन्त्रीहरु पनि सहभागी छन् ।

कोरोना रोकथामबारे तीन तहका सरकार छलफलमा (अपडेट)

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले प्रदेश र स्थानीय सरकारसँग छलफलको आयोजना गरेको हो ।


जारी छलफलमा सबै प्रदेशहरुमा क्वारेन्टाइन कसरी र कहाँ बनाउने र कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर छलफल भइरहेको अर्थ एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार बैठकमा सबै प्रदेशका सामाजिक विकासमन्त्रीहरुले प्रदेशले गरेका पछिल्ला कार्यबारे जानकारी गराइरहेका छन् । छलफलमा आवश्यक पर्ने औषधि,स्वास्थ्यको तयारी,स्वास्थ्यकर्मीहरुको बिमाको सम्बन्धमा पनि छलफल भएको मन्त्री खतिवडाले जानकारी दिए ।

यस्तै, प्रदेशका मन्त्रीहरुले औषधि खरिद गर्नका सहज वातावरण बनाइदिन आग्रह गरेका थिए । तत्काल कुनैपनि औषधि अभाव नहुने बैठकमा जानकारी गराइएको थियो ।

बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हरेक प्रदेशबाट जानकारी लिने काम भइरहेको बताए ।


कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति सदस्य सचिव तोकिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले तीन तहका सरकारका प्रतिनिधिबीच कोरोना भाइरस संक्रमण रोकथाम गर्न कसरी समन्वय गरेर अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।


चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्‍वका अधिकांश मुलुकमा फैलिएको छ । आइतबार मध्याह्नसम्म विश्‍वमा कोरोना कीटाणु संक्रमणबाट ५ हजार ८३९ को मृत्यु भइसकेको छ भने १ लाख ५६ हजार ९ सय ३२ संक्रमित भएको वल्डोमिटरर्स इन्फोमा उल्लेख छ ।

प्रकाशित : चैत्र २, २०७६ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?