मदिरा बिक्रीमा कडाइ गर्न सांसदहरुको माग
धनुषा — प्रदेश २ का सांसदहरुले प्रदेशमा घरेलु मदिरा नियन्त्रण गर्न माग गरेका छन् । घरेलु मदिराले पटक पटक मानवीय क्षति भएको भन्दै सांसदहरु प्रदेश सरकारले योजनाबद्ध तरिकाले मदिरा बिक्री वितरण नियन्त्रण गर्न माग गरेका छन् ।
शनिबार प्रदेश सभाको विशेष समयमा बोल्दै नेपाली काग्रेस संसदीय दलका नेता रामसरोज यादवले घरेलु मदिरा नियन्त्रणका लागि प्रदेश सरकारले तत्काल पहल गर्नुपर्ने बताए । 'प्रहरीकै संलग्नतामा गाउँकाा टोल टोलमा अवैध मदिरा बिक्री वितरण भइरहेको छ,' यादवले भने,'भट्टीबाट प्रहरीले पैसा उठाउँछ । तर, प्रदेश सरकार मुखदर्शक बनेको छ ।’
धनुषाको कमला नगरपालिकामा गत वर्ष विषाक्त मदिराले ७ जना र जनकपुरमा केही वर्षअघि २१ जनाको मुत्यु भएको स्मरण गर्दै मदिरा बिक्री वितरण नियन्त्रणको माग गरे ।
नेकपाका सांसद शत्रुधन महतोले बजारमा खुलेयाम मदिरा बिक्री वितरणले ज्यान गुमाएको घटनालाई गम्भीरताका साथ लिएर तत्काल पीडित परिवारलाई राहत उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरे । राजपाका सांसद परमेश्वर साहले मदिरा नियन्त्रण गर्न सरकार अगाडी आउनुपर्ने बताए ।
धनुषाको रमदैयामा विषाक्त मदिरा सेवनले ८ जनाको मृत्यु भएपछि प्रदेशसभामा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएको हो । सांसदहरुले सिकिस्त बिरामी भएर अस्पतालमा उपचार भइरहेकालाई सहयोग गर्न समेत माग गरेका छन् ।
यो पनि पढ्नुहोस्ः
शोकमा डुब्यो रमदैयाको चमरटोली र मण्डल टोल
प्रकाशित : चैत्र १, २०७६ १६:०६