२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

भारतद्वारा नेपालका नाकामा कडाइ, आपूर्तिमा कुनै असर नपर्ने

कार्गोको ढुवानीका लागि पहिलेकै हिसाबले सबै नाकाहरु खुला रहेको हुँदा आपूर्ति व्यवस्थामा कुनै असर नपर्ने
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतले कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि भन्दै नेपालसँगका केही प्रमुख नाकाहरुमात्रै खुला राख्‍ने निर्णय गरेको छ । बुधबार भारतको गृह मन्त्रालयले दुई देशका नागरिकहरु ओहोरदोहोर गर्नका लागि वीरगन्ज (रक्सौल), भैरहवा (सुनौली), महेन्द्रनगर (बनबासा) र काकडभिट्टा (रानीगन्ज) मात्र खुला राख्ने निर्णय गरेको हो ।

भारतद्वारा नेपालका नाकामा कडाइ, आपूर्तिमा कुनै असर नपर्ने

यसबाहेकका नाकाहरुबाट मानिसहरुको आवतजावत तत्कालका लागि बन्द गरिएको छ । तर, कार्गो (सामान) को ढुवानी भने यसअघिकै व्यवस्थाअनुसार सबै नाकाबाट सुचारु रहनेछ ।

भारत सरकारको पछिल्लो निर्णयमा खुला राखिएका नाकाहरुमा पनि मानिसहरुको बृहत् स्वास्थ्य परीक्षण भने हुने जनाइएको छ । यदि कुनै व्यक्तिले पछिल्लो समयमा इटाली, इरान, स्पेन, जर्मनी र दक्षिण कोरियाको गएको पाइएमा राज्य तथा केन्द्र सरकारले तोकेको स्वास्थ्य सुविधाभित्र क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय पनि भारतले गरेको छ ।

चार नाकाहरुबाट मानिसहरुको आवातजावत खुला राख्ने भारतको पछिल्लो निर्णयले रोजगारी लगायत कामका लागि भारत आउने नेपालीहरु प्रत्यक्ष प्रभावित हुनेछन् । विशेषगरी तराईका ग्रामीण भेगका साना नाकाहरु प्रयोग गर्दै आएकालाई बढी असर पार्नेछ । नेपाल–भारतका १७५१ किलोमिटर खुला सीमामा औपचारिक रुपमा करिब दुई दर्जन नाका सञ्चालनमा छन् । जसमध्ये आधा दर्जन प्रमुख नाका पर्छन् ।

भारतको निर्णयले विराटनगर र नेपालगन्ज नाकाबाट आवातजावत गर्नेहरुलाई भने समस्या पर्ने भएको छ । किनभने यी दुई नाका पनि नेपाल र भारतबीच सञ्चालनमा रहेका नाकाहरुमध्ये प्रमुख मानिन्छन् । विशेषगरी भारतका विभिन्न ठाउँमा काम गर्न र अन्य प्रयोजनका लागि ओहोरदोहोर गर्न आउने मध्यपश्चिमका नेपालीहरुले नेपालगन्ज नाका प्रयोग गर्छन् ।

त्यसैगरी विराटनगर नाका पनि चल्तीको नाकामा पर्छ । तर, भारतले यी दुई नाकाबाट मानिसहरुको ओहोरदोहर तत्कालका लागि बन्द गरेको छ । तर, दिल्लीस्थित दूतावासका एक अधिकारीले नेपालगन्ज र विराटनगर नाकाबाट पनि सर्वसाधारणका लागि खुला गराउन पहल भइरहेको बताए । ‘यी दुई नाका बन्द गर्दा सर्वसाधारणलाई पर्ने असरबारे हामीले भारतीय पक्षलाई जानकारी गराइसकेका छौं र खुलाउनका लागि आवश्यक पहल पनि सुरु भइसकेको छ’ ती अधिकारीले भने । साथै उनले कार्गोको ढुवानीका लागि पहिलेकै हिसाबले सबै नाकाहरु खुला रहेको हुँदा आपूर्ति व्यवस्थामा कुनै असर नपर्ने समेत बताए ।

त्यसो त अघिल्लो साता नेपाल सरकारले पनि कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि भारतसँगका नाकाहरु बन्द गर्ने निर्णय गर्न सकिने जनाएको थियो । गत बुधबार भारतको स्वास्थ्य मन्त्रालयद्वारा जारी सूचनामा नेपालसँगका नाकाहरुमा कडाई गर्ने संकेत गरेको थियो । ‘सडकमार्ग हुँदै आउने विदेशीहरुको आवागमनलाई पर्याप्त स्वास्थ्य परीक्षण सुविधा भएका तोकिएका अध्यागमन जाँच चौकीसहितका नाकाहरु सीमित गरिनेछ,’ सूचनामा भनिएको थियो ।

सूचनामा भनिए जस्तो पर्याप्त स्वास्थ्य परीक्षण सुविधा केही ठूला नाकाहरुमा मात्र उपलब्ध भएको हुँदा भारतले अन्य साना नाकाहरु बन्द गर्ने सम्भावना रहेको दिल्ली दूतावासका नेपाली अधिकारीहरुले पनि बताएका थिए ।

भारतले कोरोना महामारीबाट बच्‍न नेपालका अतिरिक्त भुटानको सीमामा पनि कडाई गरेको छ ।भुटानसँग पनि भारतको खुला सीमा रहेको छ । आइतबारदेखि दरङ्गा र जयगाउँ नाकामात्र खुला राख्ने निर्णय गरिएको छ ।

भारतले म्यानमारसँगको सीमा गत मंगलबारदेखि नै बन्द गरिसकेको छ । भारतले गत बुधबार नै विदेशी नागरिकलाई भारत प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो ।

गत बुधबार बसेको उच्च अधिकारीहरुको बैठकले शुक्रबार १२ बजेदेखि लागू हुने गरी विदेशीहरुको प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । त्यतिबेला तेस्रो मुलुकका नागरिकहरुलाई हवाईमार्ग हुँदै आउन रोक लगाए पनि भारतले नेपालीहरुका लागि भने रोक लगाएको थिएन । तर, हवाईमार्ग हुँदै भारत आउने नेपालीहरुमा स्वास्थ्य परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमणको शंका भएकोमा १४ दिनको क्‍वारेन्टाइनमा भने अनिवार्य बस्‍नुपर्ने हुन्छ ।

प्रकाशित : चैत्र १, २०७६ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?