कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सुनसान रोममा नेपालीका दु:ख

कोरोना भाइरस तीव्र संक्रमणका कारण चीनपछिको डरलाग्दो स्थिति देखिएको इटाली, जहाँ १ हजार ६ सयभन्दा बढी नेपाली ‘सेल्फ क्वारेन्टाइन’ मा छन् । संसारले रुचाएका त्यहाँका रोम, भेनिस, मिलानोजस्ता पर्यटकीय सहर सुनसान छन् । स्पेनमा ५ हजार ६४ र स्विट्जरल्यान्डमा ४ सयभन्दा बढी नेपाली डराएर बसेका छन् ।
देवेन्द्र भट्टराई

काठमाडौँ — ओखलढुंगाको रुम्जाटार मूल घर भएका देवराज गुरुङ दक्षिण युरोपेली मुलुक इटाली छिरेको २० वर्ष भयो । काम, रोजीरोटी र संघर्षको अनेक चरणमा अनेक खालका सास्ती बेहोरेका उनी पहिलो पटक आफ्नै घरभित्र ‘सेल्फ क्वारेन्टाइन’ मा बसेर बाहिरको कहालीलाग्दो अवस्था सुध्रिने दिन पर्खिरहेका छन् ।

सुनसान रोममा नेपालीका दु:ख

‘कोरोना भाइरसका कारण चीनपछिको डरलाग्दो स्थिति इटालीमा देखिएको छ भन्ने समाचारमा पढ्दै छौं, संसारले रुचाएका रोम, भेनिस, मिलानोजस्ता पर्यटकीय सहरहरू सुनसान छन्, हामी सबैजसो घरभित्रै बसेर रमिता हेरिरहेका छौं,’ इटालीस्थित गैरआवासीय नेपाली संघका अध्यक्षसमेत रहेका गुरुङले भने, ‘एउटा जोन (सिटी) बाट अर्कोमा जान पनि स्थानीय प्रहरी–प्रशासनको लिखित अनुमति लिनुपर्छ । हामी सबैजसो आफूआफैं क्वारेन्टाइनमा बसेका छौं ।’


रोमस्थित चल्तीको पर्यटकीय रेस्टुरेन्टमा काम गर्ने उनी एक सातादेखि घरैमा छन् । उनलाई यो बसाइ अनिश्चितकालको हुने भनिएको छ । इटाली सरकारले मार्च महिनाभर सबैलाई ‘सेल्फ–क्वारेन्टाइन’ मा बस्न निर्देशन दिएको छ । मार्च २५ सम्म रोमसहितका सहरमा पनि आवतजावत र अनावश्यक हिँडडुलमा प्रतिबन्ध लगाइएको गुरुङले बताए । ‘कतै बाहिरी सहर वा जोनमा जानुपर्‍यो भने स्थानीय प्रहरी–प्रशासनबाट आउटर सर्टिफिकेटमा हस्ताक्षर गराएर हिँड्नुपर्छ,’ उनले भने, ‘अरूभन्दा पनि इटालीमा रहेका कागजातविहीन केही नेपालीलाई अहिले मुस्किल परेको छ । यो कठिनाइ लामो समय नरहला भन्ने आस छ ।’

पाँच वर्षदेखि रोममा बस्दै आएका सुदीप अधिकारीले त्यहाँका सबै रेस्टुराँ बन्द रहेको बताए । केही सुपरमार्केट र औषधि पसल मात्रै सञ्चालनमा छन् । ‘मान्छेहरू आफैंमा त्रसित छन्, केही निराश पनि छन्,’ उनले कान्तिपुरसँग भने, ‘एकअर्कासँग खुलेर बोल्न पनि छाडेको अवस्था छ ।’


इटालीका सीमावर्ती मुलुकहरू स्विट्जरल्यान्ड, अस्ट्रिया, जर्मनी र फ्रान्स जाने नाका बन्द छ । सुदीपका अनुसार अन्तर्राष्ट्रिय र आन्तरिक उडान नगण्य मात्रै चलेका छन् । ‘यत्ति हो, यहाँ कालोबजारी हुँदैन, सामानको हाहाकार भएको छैन, बरु लामो लाममा बस्नुपर्छ,’ उनले भने, ‘सार्वजनिक यातायात पनि चलेकै छन् तर सबै खालीखाली छन् ।’


इटालीमा १७ हजार ६ सय ६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएकामा १ हजार २ सय ५० जनाको निधन भएको छ । उत्तरी भेगमा रहेका मिलानो, भिनेतो, लुम्बार्दो, भारजेजस्ता ठाउँमा प्रकोप अत्यधिक छ । यी क्षेत्रमा आफू बसेको पाँच सय किलोमिटरभित्र मात्रै हिँडडुल गर्न सकिने र बाहिर जानुपरे अनिवार्य स्वास्थ्य प्रमाणपत्र तथा प्रहरीको अनुमति लिनुपर्छ । यही भेगका डेढ करोड नागरिकलाई ‘सेल्फ–क्वारेन्टाइन’ मा राखिएको छ, जहाँ नेपालीको पनि बसोबास छ ।


इटाली मामला हेर्ने जेनेभास्थित स्थायी नियोगका उपप्रमुख तीर्थराज वाग्लेका अनुसार कोरोना सन्त्रासका कारण इटाली र स्विट्जरल्यान्डमा रहेका समेत नेपाली समुदायमा कुनै प्रकारको समस्याको खबर भने आएको छैन । उनले दिएको आधिकारिक तथ्यांकअनुसार इटालीमा १ हजार ६ सय र स्विट्जरल्यान्डमा ४ सय नेपाली छन् । रोममा रहेको नेपाली अवैतनिक दूतावासले स्थानीय नेपालीको मामला हेर्दै आएको छ ।

इटालीमा रहेका गैरआवासीय नेपाली प्रतिनिधिले भने इटालीमा झन्डै २ हजार ५ सय नेपाली रहेको बताए । उनका अनुसार तीमध्ये करिब १ हजार जना महिला छन् । ‘झट्ट हेर्दा सबै ठीकठाक छ,’ गैरआवासीय संघ, राष्ट्रिय समन्वय परिषद्का सचिवसमेत रहेका अधिकारीले भने, ‘तर भित्री सन्त्रास बढेको छ । बाटोमा हिँड्दा एकले अर्कोलाई त्रास वा शंकाको नजरले हेर्न थालेको अनुभूति हुन्छ । फेरि समाचारमा दिनहुँ एक सय जनाभन्दा बढी मरिरहेको हेर्नु/सुन्नुपर्छ, यसकारण हामी अलिक निसासिएका हौं । असुरक्षित पनि होइन तर मनमा त्रास बढेको छ ।’

०००

‘स्पेनमा नेपाली सुरक्षित’

– दावा शेर्पा, राजदूत (म्याड्रिड)

स्पेनको राजधानी म्याड्रिडका सबै विद्यालय र विश्वविद्यालय यो सातादेखि बन्द भएका छन् । एक खालको सन्त्रासको स्थिति छ तर निरन्तरको सम्पर्क र सचेतनाका कारण नेपाली समुदायमा कोरोना संक्रमणको ठाडो प्रभाव र संकट देखिएको छैन । त्यसमाथि नेपाल सरकारले निकालेको अध्यागमन सूचनामा स्पेनसहितका आठ मुलुकका हकमा ‘अनअराइभल’ मात्रै होइन, यहाँ दूतावास प्रक्रियाबाट लिन सकिने पर्यटक भिसासमेत बन्द भइसकेको छ । अघिल्लो सातासम्म भिसा प्रक्रिया जारी रहँदा पनि ‘कोभिड–१९ नेगेटिभ’ प्रमाणपत्र नल्याई प्रक्रिया अघि बढाइएको थिएन ।

स्पेनस्थित राजदूत दावा शेर्पा

स्पेन सरकारको अध्यागमनमा दर्ता भएअनुसार सन् २०१९ को पछिल्लो तथ्यांकमा स्पेनमा ५ हजार ६४ नेपाली छन् । काटालुनामा २ हजार २ सय २६ (बार्सिलोनासहित), म्याड्रिडमा ६ सय ९० र पाइस–वस्कोमा ५ सय १७ नेपाली रहेको तथ्यांक छ । र, नेपालीको बसोबास रहेकै क्षेत्र सबैभन्दा बढी प्रभावित पनि देखिएका छन् ।


स्पेनमा शनिबार बिहानसम्म ५ हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएकोमा १३३ जनाको मृत्यु भइसकेको छ । स्पेनको विदेश मन्त्रालयले बिहीबार जारी गरेको सर्कुलरमा स्पेनी नागरिकलाई अत्यावश्यक अवस्थाबाहेक देश छाडेर बाहिर नजान भनिएको छ । विश्वका ६१ वटा मुलुकले स्पेनका नागरिकलाई यात्रामा रोक लगाउने निर्णय गरिसकेका छन् भने यो बेला आवश्यक सतर्कता र सचेतना अपनाउन आफ्नो समुदायलाई नेपाली दूतावास र गैरआवासीय नेपाली संघसहितले आग्रह गरिरहेका छन् । अहिलेसम्म स्पेनको नेपाली समुदाय कोरोना संक्रमणबाट सुरक्षित छ र आफैं सचेत भएर विपत्तिका बेलामा समेत एकअर्कामा सहयोगी हुँदै बसेको अवस्था छ ।यस्तो बेलामा अनावश्यक हल्लाले पनि त्रास बढाउने रहेछ ।

एउटा समाचारमा एक स्पेनिस नागरिकको कोभिड–१९ का कारण भ्यालेन्सिया सिटी हस्पिटलमा गत फेब्रुअरी १९ मा निधन भएको खबर आयो । त्यो खबरसँगै उनी स्पेन छिर्नुअघि नेपाल घुमेर आएको अपुष्ट समाचार पनि आयो । यसबारे यथार्थ थाहा पाउन मैले भ्यालेन्सियाकै स्थानीय निकाय र अस्पतालमा पनि सम्पर्क गरेकी थिएँ । तर त्यो बिरामी कुन मितिमा, कसरी, कुन रुटबाट नेपाल गएको थियो भन्ने पहिल्याउन सकिएन । यसरी आधिकारिता नभईकन बनेको समाचारले अहिले त्रास बढाएको छ । मैले यसबारे हाम्रो परराष्ट्र मन्त्रालयलाई पनि अवगत गराइसकेको छु

प्रकाशित : चैत्र १, २०७६ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?