एमसीसीबारे हाम्राे सुझाव पार्टीले स्विकार्छ : खनाल

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौताबारे अध्ययन गर्न बनेको नेकपाको कार्यदलले मूल सम्झौतालाई संसद्बाट अनुमोदन नगरी पूरक सम्झौता गरेर काम थाल्नु ‘राष्ट्रप्रतिको गम्भीर बेइमानी’ भएको निष्कर्ष निकालेको छ ।

एमसीसीबारे हाम्राे सुझाव पार्टीले स्विकार्छ : खनाल

कार्यदलले नेकपा अध्यक्षद्वयलाई बुझाएको विस्तृत अध्ययन प्रतिवेदनमा पूरक सम्झौता गरेर रकम निकासा गरिएको उल्लेख छ । यसै विषयमा कार्यदलका संयाेजक झलनाथ खनालसँग बिनु सुवेदीले गरेकाे कुराकानी :


एमसीसी सम्झौता अध्ययन गर्न बनेको कार्यदलको काम सकिएको हो ?

केन्द्रीय कमिटीले दिएको दायित्व निर्वाह गर्न करिब २० दिन समय लियौं । हामीले एमसीसीसँगको सम्झौता र एमसीसी र आईपीएसबीचको सम्बन्धलाई अध्ययन गर्‍यौं । सविस्तार प्रतिवेदन बनाई दुवै अध्यक्षलाई सचिवालयको बैठकमा बुझाइसकेका छौं ।

तर पूरै प्रतिवेदन बुझाइएको छैन भन्ने कुरा आएको थियो नि ?

हामीले प्रतिवेदन बुझायौं ।

कार्यदलको निष्कर्ष के हो ?

सम्झौतामा कमीकमजोरी हामीले देखेका छौं । त्यसबारे प्रतिवेदनमा विस्तारमा लेखेका छौं । आईपीएससँग एमसीसीको सम्बन्ध पनि अध्ययन गरेका छौं । यी कुराको समग्र दस्ताबेज प्रकाशन गर्ने निर्णय पार्टीले गरिसकेको छैन । प्रकाशन गरेपछि पुस्तिकाका रूपमा सार्वजनिक हुन्छ ।

एमसीसी सम्झौतालाई अगाडि बढाउने या नबढाउने अथवा यही अवस्थामा अघि नबढ्ने भन्ने केही न केही सुझाव त होलान् नि ?

हामीले कमीकमजोरी हटाउन र कतिपय विषय स्पष्ट गर्न आवश्यक छ भनेर सुझाव दिएका छौं । ती सुझाव कार्यान्वयन भयो भने सम्झौता अनुमोदन हुन्छ, कार्यान्वयन भएन भने अनुमोदन हुँदैन, यो स्पष्टै छ ।

सुझाव के–के छन् ?

हाम्रो सुझावले नेपाल र अमेरिकाको सम्बन्ध बिगार्दैन, अझै सुमधुर बनाउँछ । नेपालको स्वाधीनता, स्वतन्त्रता, आत्मसम्मान आदिलाई ध्यानमा राखेर सुझाव दिएका छौं । सुझाव के गर्ने भन्ने पार्टी नेतृत्वको कुरा हो ।

एमसीसी सम्झौतामा थुप्र्रै राष्ट्रघाती वाक्यांश छन् भनेर तपाईंहरूले भन्नुभएको थियो, त्यो भनेको के हो ?

हाम्रो निष्कर्ष दस्ताबेजका रूपमा सार्वजनिक हुन्छ ।

अर्थमन्त्री युवराज खतिवडाले सम्झौतामा राष्ट्रिय स्वाधीनतामा आँच आउने कुरा छन् भन्नु अभिव्यक्ति स्वतन्त्रताको उपभोग गरेको मात्रै हो भन्नुभएको थियो नि ?

त्यसो भन्नुभएको हो भने उहाँले पनि अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्नुभएको हो ।

नेकपाभित्र यसले स्पष्टै गुट निर्माण गर्‍यो हैन ?

हाम्रो पार्टीमा कुनै त्यस्तो गुट छैन ।

प्रधानमन्त्री र केही मन्त्रीले सम्झौता अनुमोदन गर्नुपर्छ भन्नुभएको छ, तपाईंहरूको सुझावले त सरकार अप्ठ्यारोमा पर्ला नि ?

हाम्रो सरकार पार्टीद्वारा निर्देशित, सञ्चालित हो । पार्टीको निर्णयलाई सरकारले सर्वोपरि मान्छ ।

कार्यदलको सुझाव पार्टीले अनुमोदन गर्नुपर्छ भन्ने हो ?

मलाई विश्वास छ, हामीले दिएको सुझावलाई पार्टीले स्वीकार गर्छ ।

प्रकाशित : फाल्गुन ३०, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?