कोरोनालाई लिएर गम्भीर छौँ : स्वास्थ्य मन्त्रालय



काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस(कोभिड–१९)लाई महामारी भनेसँगै यसप्रति मन्त्रालय गम्भीर रहेको जनाएको छ ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सरकारले यससम्बन्धी काम गरिरहेको र गम्भीर रुपमा लिएको बताएका हुन् । कोरोनाको संक्रमण फैलिएमा देखिन सक्ने विभिन्न तीन किसिमको अवस्थाको आँकलन गरी सोही अनुरुप चाहिने आइसोलेसन बेड, औषधि उपकरण र जनशक्तिको अनुमानसहित योजना बनाइएको डा. देवकोटाले बताए ।
सरकारले कोभिड–१९ संक्रमणको रोकथाम र नियन्त्रणका लागि ८ वटा कार्ययोजना बनाएर काम गरिरहेको बताएको छ । समन्वय योजना तथा अनुगमन, जोखिम व्यवस्थापन तथा समुदायको सहभागीता , निगरानी, द्रुत प्रतिकार्य टोली तथा रोगको अनुसन्धान, अन्तर्राष्ट्रिय नाका, प्रयोगशाला परीक्षण, संक्रमण रोकथाम तथा नियन्त्रण, रोग व्यवस्थापन, आपूर्ति तथा कार्य सञ्चालन लगायतमा योजना बनाएर मन्त्रालयले काम गरिरहेको हो ।
यस्तै कुनै क्षेत्रमा संक्रमण देखिए अत्यावश्यक बाहेक बन्द गर्ने र पकेट एरिया लक डाउने गर्ने योजना सरकारले बनाएको समेत प्रवक्ता देवकाेटाले बताए । निश्चित समूदाय, वस्ती, बासस्थान गाउँ टोल, वडा, पालिका जिल्ला र प्रदेशसमेतलाई पकेट एरिया घोषणा गर्न सकिने सरकारले जनाएको छ । उनले भने, ‘अत्यावश्यक बाहेक अन्य सामग्री आयात बन्द गर्नेदेखि लिएर पकेट एरिया लक डउने गर्ने, विभिन्न उपकरण र जनशक्ति एकत्रित गरेर परिचालन गर्ने व्यवस्था मिलाइएको छ । आवश्यक परेमा फिल्ड र मोबाइल अस्पताल परिचालन गर्ने गरी सहकार्य भइरहेको छ ।’ कोरोना संक्रमण विकसित भएअनुसारको व्यवस्थापन गर्ने गरी सरकारले तयारी गरेको पनि उनले बताए ।
सरकारले उच्च संक्रमण भएका ८ वटा मुलुकहरु (चीन ,इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी, स्पेन)बाट आउने यात्रुहरुलाई रोग नभएको प्रमाणीत कागजात लिएर आउने प्रावधान अनिवार्य बनाएको छ ।
प्रकाशित : फाल्गुन २९, २०७६ १६:५८