वुहानका नेपाली ढुक्क

‘चीन सरकारले सेवा–सुरक्षासहित हेरचाह गरिरहेको छ, चाहिएको सामान पाइन्छ’
लक्ष्मी लम्साल

बेइजिङ — चीनको हुबेई प्रान्तका विभिन्न स्थानबाट नेपाल फर्कन नपाएका र फर्कन नचाहेका नेपालीले आफूहरू कोभिड–१९ बाट सुरक्षित रहेको जानकारी दिएका छन् । हुबेईको वुहान कोभिड–१९ को उद्‍गमस्थल मानिएको छ ।

वुहानका नेपाली ढुक्क

हुबेईमा रहेका नेपालीमध्ये १ सय ७५ जनालाई सरकारले गत फागुन ३ मा नेपाल लगेको थियो । फर्कन चाहेकामध्ये चार जनामा ज्वरो देखिएपछि वुहानको थ्येनह विमानस्थलमा रोकिएका थिए । दुई जना उनीहरूका परिवारका सदस्य थिए । तर त्यतिबेला घर फर्कन नपाउँदा खिन्न भएका उनीहरूले चीन सरकारले आवश्यक सेवा–सुरक्षासहित हेरचाह गरेकाले कुनै भय नरहेको बताउँछन् ।


‘मेरा कारणले बच्चा र श्रीमती फर्किन नपाउने वा अस्पतालको निगरानीमा बस्नुपर्ने चिन्ताबाहेक बढ्दो तापक्रमकै कारण म भने चिन्तित थिइनँ,’ वुहान विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका बिगेशमान शाक्यले भने । उनी हाल परिवारसहित विश्वविद्यालयको छात्रावास बाहिर बसिरहेका छन् । आफूहरूलाई स्थानीय सरकारले आवश्यक उपभोग्य सामान उपलब्ध गराउने उनले बताए । उनले भने, ‘केही महँगो पर्ला वा केही दिन ढिलो हुन सक्ला तर चाहिएका सामान आपूर्तिमा खासै समस्या आएको छैन ।’ कतिपय सामान अनलाइनमार्फत अर्डर गर्ने गरेको उनले बताए ।


वुहानस्थित सेन्ट्रल चाइना नर्मल विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन गरिरहेका झमकुमार विश्वकर्माले ‘आफूले चाहेरै नेपाल नफर्किएको’ बताए । त्यहाँ अध्ययनरत ६ जना नेपालीमध्ये तीन जना कोभिड–१९ को त्रास फैलिनुअघि नै घर फर्किएका थिए भने दुई जनालाई सरकारले ल्याएको हो । उनले आफू चीनमै सुरक्षित ठानेर घर फर्कन नचाहेको बताए । ‘महामारीका बेला सुरक्षा महत्त्वपूर्ण कुरा थियो,’ उनले भने, ‘चीन सरकारले पनि राम्रो सुरक्षा तथा रेखदेख गरिरहेका बेला हतासिएर फर्किनुपर्ला जस्तो लागेन ।’


हुबेईमा रहेका नेपालीहरूको अपेक्षा गर्मीयामको सुरुवातसँगै स्थिति सुधार होला भन्ने छ । पछिल्ला दिनमा चीनमा संक्रमितको आँकडा घट्दै गइरहेकाले पनि स्थानीय आशावादी छन् । विश्वकर्माले बाहिर प्रचार गरिएजस्तो कुनै असुरक्षा वा खानपानको अभाव भोग्न नपरेको बताए । उनका अनुसार हुबेईमा बस्दै आएका झन्डै दुई दर्जन नेपाली अहिलेसम्म सुरक्षित छन् ।


छिङ्चौ याङ्त्से विश्वविद्यालयमा डर्माटोलोजी (छालासम्बन्धी रोग) अध्ययन गरेका काठमाडौंका कुनाल साह ग्र्याजुएसन सकेलगत्तै घर फर्किने तर्खरमा थिए तर त्यस दिनको धपेडीले ज्वरो आएपछि उनी फर्कन पाएनन् । सुरुमा उनले पनि नरमाइलो मानेका थिए । ‘तर क्वारेन्टाइनमा बसेर संक्रमणमुक्त भइसकेको अवस्थामा थप चिन्ता लिनुपरेन,’ उनले सुनाए । उनको अबको चिन्ता भनेको पढाइ सकिएपछि पनि यत्तिका समय चीनमै रहनुपर्दाको खर्च धान्नेबारे मात्रै केन्द्रित छ ।


भाइरसको संक्रमण फैलिएसँगै हुबेई प्रान्त ‘लक डाउन’ गरिएपछि अन्य देशका घर फर्के पनि पाकिस्तानी विद्यार्थी फर्कन चाहेनन् । वुहानमा भारतीयले चलाएको इन्डियन मार्का होटलमा काम गर्ने ११ नेपालीमध्ये एक जनामात्रै चार्टर्ड फ्लाइटमै फर्किएका थिए । त्यहाँ कार्यरत सेफ पुष्कर खड्काको शव अझै पनि अस्पतालमै छ भने अन्य नौ जना नेपाली कामदारको स्थिति सहज भएर काममा फर्कने प्रतीक्षामा छन् । खड्काको भने कोभिड–१९ बाट नभई अन्य कारणले मृत्यु भएको हो ।

प्रकाशित : फाल्गुन २८, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?