कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरण : नजिर कुल्चँदै बटालालाई सफाइ

शृंखलाबद्ध अपराधमा संलग्नमाथि कारबाही हुनुपर्छ भन्ने नजिरविपरीत कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको कुटपिट र हत्यासम्बन्धी घटनामा तत्कालीन जनमुक्ति सेनाका ब्रिगेड कमान्डरलाई सर्वोच्च अदालतबाट सफाइ ।
कृष्ण ज्ञवाली

काठमाडौं — आफैंले त्यही घटनामा प्रतिपादन गरेको नजिर लत्याउँदै सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपितलाई सफाइ दिएको छ  । ‘जीवित’ भनिने गोविन्दबहादुर बटालालाई ३ वर्ष कैद गर्ने जिल्ला र तत्कालीन पुनरावेदन अदालतको फैसला उल्ट्याउँदै सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको इजलासले सफाइ दिएको हो  ।

व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरण : नजिर कुल्चँदै बटालालाई सफाइ

अर्का आरोपित ‘संकल्प’ भनिने अर्जुन कार्कीलाई जिल्ला र पुनरावेदन अदालतकै फैसला सदर गरी २० रुपैयाँ जरिवाना गरिएको छ ।


यो मुद्दामा जोडिएका ३ जना फरार रहकाले मुद्दा मुल्तबीमा राखिएको छ । सर्वोच्चले २०६८ असार ६ गते यसमा श्रेष्ठको अपहरणदेखि अपराधसम्मको सिलसिला भएको भनी त्यसमा संलग्नहरू कसुरदार हुने व्याख्या गरेको थियो । त्यो व्याख्याविपरीत न्यायाधीशद्वय केसी र मोक्तानको इजलासले बटालालाई सफाइ दिएको हो । फैसलाको पूर्णपाठ आइनसकेकाले सफाइ दिनुको कारण र आधार खुलेको छैन । सफाइ पाए पनि बटालाले ३ वर्ष १५ दिन कैद भुक्तान गरिसकेका छन् ।


तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि जनमुक्ति सेना विभिन्न शिविरमा केन्द्रित भएका थिए । चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनले कोटेश्वरका व्यापारी श्रेष्ठको घरमा सम्पर्क कार्यालय खोलेको थियो । २०६४ चैत १४ गते सम्पर्क कार्यालयमा १७ लाख रुपैयाँ र एउटा पेस्तोल ‘चोरी’ भयो । घटना छानबिनका लागि भन्दै बटाला सहितको टोलीले केशव अधिकारी, गंगाराम थापा र श्रेष्ठलाई ‘उठाएर’ चितवन लगे ।


डिभिजनका ब्रिगेड कमान्डर बटालाले सोधपुछ गर्दा श्रेष्ठले आफूसँगै नियन्त्रणमा लिइएका अधिकारी र थापाको नाम लिए । बटालाको दाबीअनुसार २०६५ वैशाख ३१ गते बिहान ‘चोरीको रहस्य किन खोलिस् ?’ भन्दै श्रेष्ठलाई अधिकारी र थापाले कुटपिट गरी मरणासन्न अवस्थामा पुर्‍याए । उपचारका लागि अस्पताल लैजान खोज्दा बाटोमा श्रेष्ठको मृत्यु भयो । उनको शव नारायणी नदीमा फालिएको भन्ने विवरण जनमुक्ति सेनाको तेस्रो डिभिजनले २०६५ जेठ ३ गते प्रहरीमा पठाएको थियो ।


श्रेष्ठकी पत्नी रमिलाले बटाला नेतृत्वको माओवादी टोलीले ‘सानो काम छ भनी कब्जामा लिएको’ भन्दै बानेश्वर प्रहरीमा जाहेरी दिएकी थिइन् । रमिलाको बयानअनुसार वैशाख १५ गते राति बटाला र अरू ३ जनाले श्रेष्ठलाई पेस्तोल देखाई लिएर गएका हुन् । रमिलाले जाहेरीमा कालीबहादुर खाम र बटालाको नाम किटेकी थिइन् । पछि शक्तिखोरमै श्रेष्ठ बन्धक रहेका बेला बटालाले कुरा गराइदिँदै ‘तपाईंका श्रीमान् आउनुहुन्छ’ भनी आश्वासन दिएका थिए ।


प्रहरीसँगको बयानका क्रममा बटालाले खामको अंगरक्षकलाई ३ जनाले नियन्त्रण लिई नगद र पेस्तोल लगिएकाले छानबिनका क्रममा श्रेष्ठलाई आफ्नो नेतृत्वको टोलीले नियन्त्रणमा लिएको स्विकारेका थिए । उनको भनाइअनुसार, पर्सिपल्ट १७ गते घरको शौचालयमा टिसर्टमा पोको पारेको अवस्थामा १७ लाख फेला परेको थियो भने भर्‍याङमुनि पेस्तोल भेटिएको थियो । ‘वैशाख १५ गते फेरि शिविरमा ल्याई सोधपुछ गर्दा उनले आरोप स्विकारे, अरूले स्वीकार गरेनन् । पछि सबैले स्विकारे,’ बटालाले बयानमा भनेका थिए, ‘गंगाराम र केशवले घटनाको पोल खोलेकाले पिटेको बताएका थिए ।’


मरणासन्न अवस्थामा रहेका रामहरिलाई उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा नारायणगढ–मुग्लिन सडकको भालुढुंगामा मृत्यु भएकाले गंगाराम र केशवले शवलाई झोलुंगे पुलको बीचबाट नारायण नदीमा फालेको बटालाले बताएका थिए । पानीमै डुबोस् भनेर उनीहरूले शवलाई तन्नामा बेरेर त्यसमा ढुंगासमेत राखेका थिए । शव पछि सड्न लागेको अवस्थामा त्रिशूली किनारमा फेला परेको थियो ।


२०६५ जेठ ६ गते प्रकाशित कान्तिपुरको समाचारअनुसार श्रेष्ठको मृत्यु बटालाले भने जस्तो उपचार गर्न काठमाडौं लैजाने क्रममा भएको नभई वैशाख २६ गते बिहान ११ बजे चितवनस्थित शिक्षण अस्पतालको आईसीयूमा भएको थियो । अस्पतालका चिकित्सक डा. भोजराज अधिकारीले अचेत अवस्थामा श्रेष्ठलाई २५ गते बेलुकी पौने ९ बजे चार जनाले अस्पताल ल्याएको बताएका थिए ।

भेन्टिलेटरको सहायताले श्वास–प्रश्वास गराई राखिएका श्रेष्ठलाई भोलिपल्ट २६ गते बिहान सवा १० बजे डा. सुवास गुरुङले मृत घोषणा गरेका थिए । घटनापछि प्रहरीको नजरमा खामसहित रघु भनिने केशव अधिकारी, एटम भनिने गंगाराम थापा र संकल्प भनिने अर्जुन कार्की फरार भए । एटम खामकै अंगरक्षक हुन् । बटालाले कुटपिटको दोष अधिकारी र थापामाथि थोपरेर आफू निर्दोष रहेको बयान दिए ।

फरार सवारी चालक कार्की पछि अदालतमा उपस्थित भए र गाडी चलाउने बाहेकको काम आफूले नगरेको बताए । फरार रहेका सबैको फाइल मुल्तबीमा राखेर जिल्ला अदालत चितवनले दुई पटक मुद्दाको फैसला गर्‍यो । पहिलो पटक २०६८ जेठ १७ गते भोलानाथ चौलागाईंको इजलासले बटालालाई ३ वर्ष कैद फैसला गर्‍यो । छ महिनापछि मंसिर २० गते भोजराज अधिकारीको इजलासले कार्कीलाई घटनामा संलग्न नभएको तर घटना भएको देख्दादेख्दै मौन बसेको भन्दै २० रुपैयाँ जरिवानाको फैसला सुनाइदियो ।


कार्की पुनरावेदन अदालतमा गएनन् । बटाला आफू निर्दोष भएको दाबी गर्दै पुनरावेदनमा गए । कार्की र बटाला दुवैलाई कम सजाय भएको भनी सरकारी वकिल कार्यालयले पनि पुनरावेदन हाल्यो । शव गाडीमा राखी गायव गर्ने काममा मतियार भएकाले कार्कीमाथि पनि सजाय हुनुपर्ने माग सरकारी वकिलको थियो ।


तत्कालीन पुनरावेदन अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र विनोदप्रसाद शर्माको इजलासले बटालासहितले श्रेष्ठलाई नियन्त्रणमा लिएर माओवादीको तेस्रो डिभिजनमा राखेको र उनकै नियन्त्रणमा रहेको ठाउँमा कुटपिट भएको ठहर गर्‍यो । टाउकामा लागेको चोटका कारण श्रेष्ठको मृत्यु भएको थियो । पुनरावेदन अदालतले बटाला ज्यान मुद्दामा संलग्न भएको भन्नेमा भने दाबी पुग्न नसकेको निष्कर्ष निकाल्यो भने शव गायब पार्न सघाएका सवारीचालक कार्कीलाई पनि २० रुपैयाँ जरिवाना गर्ने जिल्लाकै फैसला सदर गर्‍यो ।


शंकास्पद अनुसन्धान
कालीबहादुर खामसहित बटालालगायतको टोलीले व्यापारी श्रेष्ठलाई कोटेश्वरको घरबाट अपहरण गर्दादेखि शक्तिखोर पुर्‍याउँदा, कुटपिट गर्दा र मरेपछि शव त्रिशूलीमा फाल्दासम्म विभिन्न कसुर आकर्षित हुने अपराध भएका छन् । तर प्रहरी र त्यसपछि सरकारी वकिलले अपहरण तथा शरीर बन्धक, कुटपिट र ज्यान मारेको मुद्दा नचलाई केवल ‘कर्तव्य ज्यान’ अभियोगमा मागदाबी गर्‍यो ।


यसरी अपराधलाई सकुंचित बनाउँदा अपहरणमा संलग्नहरूले उन्मुक्ति पाए । अधिकारी र थापालाई मात्रै कुटपिटमा संलग्न भनी अर्थ लगाइयो । फैसलामा बटालाले श्रेष्ठको हत्या गर्ने मनसाय राखेका थिएनन् भन्ने व्यहोरा उल्लेख छ । किनभने, साक्षीले श्रेष्ठमाथिको कुटपिटमा बटाला संलग्न थिएनन् भनी बकपत्र गरेका छन् ।


अधिकार प्राप्त निकाय र अधिकारीले बाहेक कसैले पनि व्यक्तिलाई नियन्त्रणमा लिन पाउँदैन । शिविरमा बसेका माओवादी कमान्डरहरूले घरमा बसेको व्यक्तिलाई पेस्तोल देखाएर नियन्त्रणमा लिएको घटनालाई प्रहरीले अपहरणको विषयवस्तु बनाएन । जिल्ला र पुनरावेदन अदालतले पनि फैसलामा ‘अपहरण’ शब्द प्रयोग गरेनन् । जिल्लाबाट फैसला भइसकेपछि भने प्रहरीले खाम, बटाला लगायतमाथि अपहरणको मुद्दासमेत चलाउने प्रयास गर्‍यो । तर त्यसलाई अनुचित भनी सर्वोच्च अदालतले उल्ट्याइदियो ।


खोइ छानबिन प्रतिवेदन ?
घटनापछि सरकारले पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा छानबिन आयोग बनायो । आयोग सदस्यमा वरिष्ठ प्रहरी अधिकृत अमरसिंह शाह र उपन्यायाधिवक्ता शरदराज गौतम थिए । शव जाँच प्रतिवेदनमा ‘टाउकामा बलपूर्वक कडा चोट लागेको’ उल्लेख छ ।

आयोगले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई प्रतिवेदन बुझाउँदै खामसँगै बटाला, अधिकारी र थापासहित नौ जना सहयोगीलाई कारबाही गर्न सिफारिस गरेको खोज पत्रकारिता केन्द्रले प्रकाशन गरेको ‘नेपालमा दण्डहीनता’ नामक पुस्तकमा उल्लेख छ । घटनापछि श्रेष्ठको परिवारलाई २० लाख रुपैयाँ दिने, छोराछोरी र श्रीमतीको भविष्य सुनिश्चित गर्ने र दोषीलाई कारबाही गर्नेलगायत विषयमा पुष्पकमल दाहाल र रमिलाबीचमा सहमति भएको थियो । जिल्ला तहदेखिकै फैसलामा यो प्रतिवेदन उल्लेख छैन ।

बाझिने फैसला

गोविन्दबहादुर बटालालाई दोस्रोपटक पक्राउ गरेर प्रहरीले अपहरण तथा शरीर बन्धकको मुद्दा चलाउन खोजेपछि उनकी पत्नी सुनिताले बन्दीप्रत्यक्षीकरणको निवेदन दिइन्  । निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले ‘एउटा व्यक्तिलाई घरबाट लगेर अन्यत्र कुटपिट र हत्या गरेको भए त्यो एउटा अपराधको निरन्तरतामा गरेको काम हुने’ निष्कर्ष निकालेको थियो  ।

बटालालाई दोस्रोपटक पक्राउ गरेर प्रहरीले अपहरण तथा शरीर बन्धकको मुद्दा चलाउन खोजेपछि उनकी पत्नी सुनिताले बन्दीप्रत्यक्षीकरणको निवेदन दिइन् । निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले ‘एउटा व्यक्तिलाई घरबाट लगेर अन्यत्र कुटपिट र हत्या गरेको भए त्यो एउटा अपराधको निरन्तरतामा गरेको काम हुने’ निष्कर्ष निकालेको थियो ।
न्यायाधीशद्वय ताहिर अली अन्सारी र सुशीला कार्कीको संयुक्त इजलासले गरेको फैसलाअनुसार श्रेष्ठलाई घरबाट अपहरण गर्नेदेखि त्रिशूलीमा उनको शव व्यवस्थापन गर्नेसम्म एउटै अपराध थियो ।

जिल्ला र पुरावेदन अदालतले श्रेष्ठलाई अस्पताल लगेर उपचार गरेको विवरणलाई ‘नोटिस’ मा लिएको छैन । एउटै अपराधको शृंखलाका रूपमा ज्यानसम्बन्धी मुद्दा चलाएको र जिल्ला अदालतबाट मुद्दाको फैसलासमेत भइसकेको अवस्थामा फेरि अपहरण र शरीर बन्धकको मुद्दा चलाएर एउटै अपराधमा पटकपटक सजाय मागदाबी गर्न नहुने भन्दै सर्वोच्च अदालतले प्रहरीका पछिल्ला सबै कामकारबाही बदरसमेत गरिदियो ।


कानुन पत्रिकामा समेत प्रकाशित बन्दीप्रत्यक्षीकरणको उक्त निर्णयले श्रेष्ठमाथिको अपराध उनलाई घरबाट अपहरण गर्दादेखि सुरु भई उनको शव व्यवस्थापनमा संलग्नहरू सजायका भागीदार हुने मान्यता स्थापित गरेको थियो । तर त्यसविपरीत गत आइतबार बटालालाई सफाइ दिइएको छ ।

प्रकाशित : फाल्गुन २६, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?