कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सनकले सखाप

जनकराज सापकोटा

काठमाडौँ — रोल्पाको त्रिवेणी, नुवागाउँका खर्कबहादुर विक र गणेश विक दाजुभाइ पर्थे । घरायसी विवाद थियो । आफन्तले उनीहरूलाई मिलाउने प्रयास गर्दै थिए । एक दिन गणेशका ५ वर्षीय छोरा प्रेम र ३ वर्षकी छोरी वसन्ती आँगनमा खेलिरहेका थिए । खर्कले प्रेम र वसन्तीमाथि एक्कासि बन्चरो हाने, दुवैको मृत्यु भयो । खर्कको क्षणिक रिसले दुई कोपिला फुल्नै नपाई चुँडिए ।

सनकले सखाप

सामान्यतया, मानिसले कुनै उद्देश्य राखेर र योजना बनाएर हत्या गर्छ भन्ने ठानिन्छ । तर तत्कालको रिस थाम्न नसक्दा हत्या गरिएका घटना प्रशस्त छन् । विज्ञहरूका अनुसार नियोजित अपराधभन्दा क्षणिक आवेगमा हुने अपराध डरलाग्दा हुन्छन् । संगठित अपराधलाई प्रहरी र कानुनले रोक्न सक्छ तर आवेशमा आएर गरिने अपराधको कारण व्यक्तिपिच्छे अलग हुन्छ । यस्तो मनोवृत्ति भएकालाई कानुनसँग डर हुँदैन ।


‘कतिले पटक–पटक आक्रमण गर्छन् । आफूलाई रिस उठेको मानिसको मृत्यु भएपछि मात्र उसलाई आनन्द आउँछ । कतिलाई चाहिँ एकपटक ठूलो आक्रमण गर्नेबित्तिकै शान्ति मिल्छ,’ मनोविश्लेषक बासु आचार्यले भने । उनका अनुसार किशोर–किशोरीमा यस्तो आवेग ज्यादा हुने गर्छ ।


प्रहरी प्रधान कार्यालयका अनुसार २०७२/७३ यताका चार आर्थिक वर्षमा भएका २ हजार २ सय अपराधमध्ये ३१ प्रतिशत घटना एकाघरका सदस्यबीच भएका थिए । यस अवधिमा श्रीमान्ले श्रीमती मारेका २ सय ७५ वटा, आमाले नवजात शिशु मारेका ६२ वटा, श्रीमतीले श्रीमान् मारेका ५८ वटा, दाजुले भाइ वा बैनी मारेका २५ वटा, बाबुआमाले छोरा वा छोरी मारेका १५ वटा, छोराबुहारीले आमाबाबु मारेका ११ वटा घटना भएका थिए । प्रहरीका अनुसार परिवारका एक जनाले अर्कोको हत्या गर्नुका कारण विभिन्न भए पनि ती क्षणिक आवेगका थिए ।


प्रहरी प्रवक्ता डीआईजी शैलेश थापाका अनुसार पहिले कसैको हत्या हुँदा समाजै हल्लिन्थ्यो । हिजोआज यस्ता घटनालाई सामान्य मान्न थालियो ।


त्यस्तै, २६/२७ वर्षअघि कर्तव्य ज्यानका घटनामा प्रहरी कार्यालयलका प्रमुख नै घटनाको अनुसन्धानमा खटिने गर्थे । ‘हिजोआज अनुसन्धान अधिकारीले मात्रै अनुसन्धान गर्छन् । समाजमा तनाव र चिन्ता बढ्दै छ । यसले गर्दा अपराध बढेको छ । आवेग सम्हाल्न नसक्ने र हत्या वा अपराध गरेर मात्रै त्यसको विसर्जन गर्नेहरू बढ्दै छन्,’ थापाले भने ।


२०७५ भदौ १८ गते सल्यानको शारदा नगरपालिका, श्रीनगरस्थित एक घरको कोठामा १४ वर्षीय प्रकाश बुढाथोकी टाईको पासोमा झुन्डिएको अवस्थामा फेला परे । प्रहरीले आत्महत्या भनिएको घटना शंकास्पद रहेको निष्कर्ष निकाल्दै अनुसन्धान अगाडि बढायो । घटनाको २२ दिनपछि जिल्ला प्रहरी कार्यालयले प्रकाशका दाइ २१ वर्षीय केशरसिंहले भाइको हत्या गरेर झुन्डाएको तथ्य सार्वजनिक गर्‍यो । प्रहरीसँगको बयानमा केशरले भाइले आफूसँग ५ सय मागेको तर आफूले सय रुपैयाँ मात्रै दिएपछि झगडा सुरु भएको बताएका थिए । भाइले आफ्नो छातीमा हानेपछि आफूले रिसको झोंकमा भाइको घाँटीमा दुई पटक हातले हानेर ओछ्यानमा लडाएको र भाइ बेहोस भए जस्तो देखेपछि डरले टाईको पासो बनाएर झुन्डाइदिएको बताएका थिए ।


अपराध अनुसन्धानमा अनुभवी प्रहरी अधिकारीहरू हठात अरूमाथि प्रहार गर्ने र घटना गम्भीर भएको थाहा पाएपछि आफू फसिने वा आफ्नो सामाजिक हैसियत नरहने ठानेर कत्तिले आत्महत्या पनि गर्छन् । गत जेठमा पाँचथरको मिक्लाजुङमा मनबहादुर मखिमले नौ जनाको हत्या गरे । अनि घटनास्थल नजिकैको रुखमा पासो लगाएर आफैंलाई सिध्याए ।


मनोविश्लेषक आचार्यका अनुसार आवेगमा आक्रमण गर्नेमध्ये कतिले मार्न चाहेका हुँदैनन्, रिस पोखेका हुन्छन् । तर फ्याट्ट ज्यानै गइदिन्छ । त्यसपछि बल्ल दिमाग छ्याङ खुल्छ । ‘कतिले जिउँदै छोड्नुभन्दा मारेपछि केस सल्टाउन सजिलो हुन्छ भन्ने ठानेर हत्या गर्छन्,’ उनले भने । यस्ता घटनामा पहिले अरूलाई नोक्सान गर्ने अनि आफूलाई सिध्याउने प्रवृत्ति देखिन्छ । मनबहादुरले गरेको हत्या यसको उदाहरण हो ।


पूर्वसचिव चक्रबन्धु अर्यालका कान्छा छोरा सुदर्शनले अमेरिकाबाट छुट्टीमा फर्केका आफ्नै दाइ सुवासको धारिलो हतियार प्रयोग गरी हत्या गरे । २०६२ वैशाख २ गते यो घटना हुँदा महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवाली प्रहरी परिसर काठमाडौंको मुद्दा शाखाका इन्स्पेक्टर थिए । उनले भने, ‘मनभित्र हुर्किरहेको प्रतिशोध आवेगमा परिणत हुने र आफ्नै परिवारको सदस्यको हत्या गर्ने यो घटना म कहिल्यै बिर्सन्न ।’ दाइको हत्यापछि कोठाभित्र छिरेका सुदर्शनले करिब एक दर्जन स्लिपिङ ट्याब्लेट खाएर आत्महत्या गर्न खोजेजस्तो देखिन्छ । उनको कोठामा प्रहरीले फेला पारेको कागजमा लेखिएको थियो, ‘यो घरमा बस्दा सही कुरा गर्दा सबैले छिछि र दूरदूर गर्थे । आमाले दाजुलाई मलाई गोद्न लगाउँथिन् । आमा सबै कुराको कसुरदार हुन् ।’ अमेरिका बस्ने दाइले धेरै माया पाएको, आफन्ती र परिवार सबैले उनैलाई धेरै महत्त्व दिएको देखेपछि आफूभित्र ईख हुर्किएको र त्यही झोंकमा आफूले अपराध गरेको बयान सुदर्शनले प्रहरीमा दिएका थिए ।


विभिन्न अध्ययनका अनुसार इन्टरनेटको अधिक प्रयोगले तनाव र एक्लोपना त बढाउँछ नै, झनक्क रिस उठाउने र रिस थाम्न नसक्ने स्वभाव पनि बनाउँछ । आफूलाई चित्त नबुझ्दा रिस उठ्नु प्राकृतिक कुरा हो तर त्यसको मात्रा र त्यसलाई व्यक्त गर्ने तरिकाबारे व्यक्ति स्वयंले मूल्यांकन गर्नुपर्छ । रिस थाम्न नसक्नु पनि एक खालको मानसिक समस्या हो । तर, हामीकहाँ सानले ‘मेरो रिस त कडा छ’ भन्ने गरिन्छ । त्यसैले मनोविद्हरू चिन्ता गर्छन्– रिस र आवेगलाई सुरुमै सम्हाल्न नसक्दा यसले कालान्तरमा गम्भीर अपराधतर्फ डोहोर्‍याउँछ भन्ने ज्ञान हामीलाई छैन । गत आइतबार राष्ट्रिय सभागृहमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई ताकेर जुत्ता हानिएको घटना र गत माघ २७ मा ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको हत्या पनि क्षणिक आवेगमै भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरीका अनुसार कार्कीको घरमा काम गर्ने विजय चौधरीले हत्यापछि आत्महत्या गरेका थिए ।


‘रिस समस्या होइन’

त्यसो त रिसाउनै हुन्न भन्ने पनि होइन । मनोविज्ञहरूका अनुसार रिसका फाइदा पनि छन् । कहिलेकाहीं रिसाउँदा छिट्टै काम बन्छ । प्रगति हुन्छ । सही र यथार्थपरक तरिकाले रिसाउन जानेन भनेचाहिँ दुर्गति निम्तिन्छ । मनोविश्लेषक आचार्यका अनुसार जरुरी नभएको र भएको गरी रिस दुई खालका हुन्छन् । बेढंगको रिसले क्षति गराउँछ । ‘रिस नियन्त्रणका लागि तोडफोड र आक्रमणकै स्थितिमा पुग्नुपर्नेचाहिँ गम्भीर समस्या हो । त्यसैले पहिल्यै व्यक्ति सजग हुनुपर्छ,’ आचार्यले भने ।


जब रिसको मात्रा उकालो लाग्छ, तब व्यक्ति थाहै नपाई आपराधिक कर्मतिर अग्रसर भइरहेको हुन्छ । नेपाल प्रहरीसँग अपराधका कति घटना आवेग प्रेरित छन् वा आपराधिक पृष्ठभूमि नै नभएको व्यक्तिबाट एक्कासि ठूलो अपराध गराइएका घटना कति छन् भन्नेबारे तथ्यांक छैन । डीआईजी थापाले आफ्नो अनुभव पर्गेल्दै भने, ‘प्रतिस्पर्धा, प्रतिशोध र जटिल सामाजिक संरचनाका कारण मान्छेमा आवेग नियन्त्रण गर्ने क्षमता गुम्दै गएको छ ।’ पढाइले मान्छेलाई विनयशील बनाउँछ भन्ने सुनेका छन् तर हिजोआजको पढाइले विनयशीलताभन्दा कटाक्ष सिकाइरहेको हो कि जस्तो लागेको अनुभव उनले सुनाए ।


एसएसपी ज्ञवालीले २०५१ सालमा सुरु भएको प्रहरी जीवनमा सयौं व्यक्ति हत्याका घटनाको अनुसन्धान गरेका छन् । उनले सयौं अपराधीसँग बयान लिए । उनी कर्तव्य ज्यानका धेरैजसो घटना तत्क्षणमा उत्पन्न हुने आवेग र त्यसलाई सम्हाल्न नसक्दा हुने दुर्घटनाका रूपमा अर्थ्याउँछन् । उनले भने, ‘सबै मान्छेमा आपराधिक मनोवृत्ति हुँदैन । कतिपय आवेगमा आएर र कतिपय होस गुमाउँदा पनि अपराधकर्म गर्न पुग्छन् ।’ २०५३ सालयता लगातार अपराध अनुसन्धानमा समय बिताएका उनले २०७३ मा जिल्ला प्रहरी कार्यालय रूपन्देहीको प्रमुख छँदा अनुसन्धान गरेको एउटा कर्तव्य ज्यानसम्बन्धी घटना सुनाए ।


बाबुले कान्छी आमातिरका छोरालाई धेरै अंश दिएको र आफ्नी आमालाई बेवास्ता गरेको भन्दै एक युवाले आफ्नै दाइको हत्या गरे । प्रहरीको बयानका क्रममा ती युवाले आफूले न्यायका निम्ति समाज गुहारेको, प्रहरी र अड्डा अदालतदेखि स्थानीय प्रशासनसम्म धाएको तर कसैले कुरा नसुनेपछि आवेगमा हत्या गरेको स्विकारे । ज्ञवालीले भने, ‘मेरो कुरा कसैले सुन्दैन भन्ने निष्कर्षमा पुगेपछि उनीभित्र जम्मा भएको प्रतिशोध आवेगमा फेरियो र उनले हत्या गरे ।’ आफू हेपिएको वा दबाइएको महसुस गर्नेहरूले वा आफ्नो कुरा कसैले नसुन्ने भयो भन्ने निष्कर्षमा पुगेकाहरूले पनि आफ्नो उपस्थिति वा शक्ति देखाउन अपराध गर्ने गरेका उदाहरण भेटिन्छन् । ज्ञवालीका अनुसार मानिसभित्र हुर्किरहेको रिस, चिन्ता, छटपटीलाई कम आँक्दा पनि त्यो कहिलेकाहीं अपराधका रूपमा प्रकट हुन्छ । दाजुभाइबीच हुने जग्गासम्बन्धी विवाद, विवाहेत्तर सम्बन्ध वा प्रेममा हुने धोका जस्ता विषयमा पनि मानिसभित्र अचानक आवेग प्रकट हुने र त्यसले अपराध गराउने गरेको उनले बताए ।


आवेशजन्य अपराधका घटनालाई नियाल्दा लाग्छ, व्यक्तिलाई केही चित्त नबुझ्नेबित्तिकै उसले तोडफोड र हमला गर्‍यो भन्ने गरिन्छ तर ऊ त्यस अवस्थासम्म कसरी पुग्यो भन्ने ख्यालै गरिन्न । समाजशास्त्री मीना उप्रेतीका अनुसार हरेक व्यक्तिको आवेगका पछाडि अनेक कारण हुन्छन् । आवेग त प्रस्फुटन भएर देखिएको मात्र हो । ‘कोही पनि एक्कासि आवेशमा आएको हुन्न । सामाजिक परिवेशले उसलाई त्यस्तो बनाएको हुन्छ,’ समाजशास्त्री उप्रेती भन्छिन्, ‘सबै रिस पोख्न बहाना खोजिरहेको हुन्छ । जब परिस्थिति मिल्छ, विस्फोट भइहाल्छ ।’ उनका अनुसार निराशा, छटपटी, असन्तुष्टि, विभेदले व्यक्तिलाई भित्रदेखि आक्रोशित बनाइरहेको हुन्छ, उसले रिस पोखेन भन्दैमा उसलाई रिस उठ्दैन भन्ने हुन्न । लामो समयसम्म सहेर बसेको व्यक्तिबाटै गम्भीर अपराध हुन सक्ने विज्ञहरू औंल्याउँछन् ।


जटिल बनिरहेको सामाजिक संरचना, घरभित्रको असमानता, लैंगिक हिंसा, न्याय र प्रशासनप्रति अविश्वासले व्यक्तिमा आक्रोश पलाउँछ । हेपिएको, बेवास्तामा परेको, आफूबाट अरूले राखेको आकांक्षा पूरा गर्न नसकेको वा आफूले धोका पाएको भए त्यस्ता व्यक्ति हिंसात्मक हुने सम्भावना ज्यादा हुन्छ । ‘अनेक पारिवारिक र सामाजिक समस्याले मानसिक रूपमा जर्जर बनाएपछि माया–करुणा हराउँछ । त्यस्तो बेला प्रतिशोध साँध्ने सोचाइ आउँछ,’ समाजशास्त्री उप्रेतीले भनिन् । व्यक्तिगत समस्या र समाजभित्रका असमानताको निराकरण गर्दा आवेग घट्छ ।


मनोविश्लेषकहरूका अनुसार समाजविरोधी व्यक्तित्व विकार भएका र लागूऔषध प्रयोगकर्ताले आवेगमा जे पनि गरिदिन्छन् । जब मस्तिष्कमा रहेको ‘न्युरो केमिकल’ असन्तुलित हुन्छ, रिस केन्द्र सक्रिय हुन्छ र बदलाको भाव जन्मिन्छ । यस्तो हुनमा व्यक्तिको बुझाइ, भोगाइ, ज्ञान, विवेक, स्कुल, समाज, संगत, रहनसहनले भूमिका खेल्छ । ‘तीव्र सहरीकरणले तनाव थपेको छ । आफन्तबीच दूरी बढेको छ । भागदौड र एक्लोपना छ । आर्थिक हैसियत समान छैन । हामीले महत्त्व नदिएका यस्ता पक्षले आवेगको जन्म गराउँछन्,’ मनोविश्लेषक आचार्यले भने । उनका अनुसार अव्यवस्थित खानपान र कुलतले रिस थाम्ने क्षमता घट्छ ।


एसएसपी ज्ञवाली २०७३ ताका जिल्ला प्रहरी कार्यालय झापामा प्रमुख हुँदाको घटनाले आचार्यको भनाइ पुष्टि गर्छ । ज्ञवालीले त्यति बेला सार्वजनिक ठाउँमा एउटा शव फेला परेको सूचना पाए । घटनास्थलमा मुचुल्का उठाएपछि उनले मृतककी श्रीमतीलाई बयानका लागि बोलाए । थापाले सुनाए, ‘मलाई उक्त हत्या कसले गर्‍यो भन्नेबारे धेरै सुइँको थिएन । तैपनि केही संकेत फेला परिहाल्छ कि भनेर मैले उनलाई तिमीले किन श्रीमान्को त्यति बेस्सरी हिर्काएको भनेर सोधें ।’ अँध्यारोमा हानेको ढुंगा जस्तो प्रश्नले सही निसानामा लागेछ । श्रीमान्ले मदिरा खाएर आफूलाई कुट्ने हुनाले उनी आजित थिइन् । त्यही भएर उनले आवेगमा श्रीमान्लाई मारेकी रहिछन् । डीआईजी थापाले भने, ‘मान्छेभित्र आवेग हुर्किराख्ने सामाजिक कारण पत्ता लगाउने हो भने यस्तो अपराध रोक्न सकिन्थ्यो ।’


हामीकहाँ मानसिक स्वास्थ्यलाई महत्त्व दिइन्न । हरेक अपराधलाई सजायबाटै निर्मूल गर्न सकिने सोचाइ व्याप्त छ । समाजमा बढ्दो तनाव र त्यसबाट सिर्जिएको बेचैनीले पनि अपराध गर्न प्रेरित गर्छ । आवेश क्षणभरको सनकमात्र होइन, व्यक्तिले दैनिक जीवनमा भोग्ने हन्डरको एकीकृत रूप हो भन्ने चेतना हामीकहाँ छैन । परिवारका सदस्यले एकअर्काको समस्यामा ध्यान दिने, बानीव्यवहार नियाल्ने अनि आत्मबल प्रदान गर्ने चलन हराएको छ । फलतः व्यक्तिमा न आफन्तप्रति दया र करुणा हुन्छ, न आफ्नै जीवनप्रति माया । मनोविश्लेषक आचार्यको सुझाव छ, ‘आफन्तले असामान्य व्यवहार, अस्वाभाविक गतिविधि, अनियन्त्रित तर्क/वितर्क गर्न थाले भने परामर्शको खाँचो रहेछ भनेर बुझ्नुपर्छ ।’


आवेग आफैं रोक्न सकिन्छ : कपिलदेव उपाध्याय, मनोचिकित्सक


रिस हामी सबैमा हुन्छ । तर, त्यसको मात्रा निश्चित हुनुपर्छ । जब त्यसले सीमा नाघ्छ, दुर्घटना निम्त्याउँछ । प्रायः मानिसमा रिस सुषुप्त अवस्थामा हुन्छ, जब परिवेश मिल्छ, विस्फोट हुन्छ । त्यो एक्कासि भएजस्तो देखिए पनि त्यसमा लामो समयको पृष्ठभूमिले भूमिका खेलेको हुन्छ ।


अमेरिकामा गोली हानेर नरसंहार गरेको घटना धेरै हुन्छन् । त्यो क्षणिक आवेगको परिणाम हो । हामीले कल्पनै नगर्ने कुरा पनि कहिलेकाहीं आवेगका रूपमा व्यक्त हुन्छन् । आज मोबाइल फुटाउने, सामान तोडफोड गर्नेले भोलि गम्भीर अपराध नगर्ला भन्न सकिन्न ।


रिस क्षणिक पागलपन हो । यसलाई कम गर्ने तरिका हुन्छन् । चर्को रिस उठ्नासाथ मनोविद् र मनोचिकित्सककहाँ पुगिहाल्नुपर्छ भन्ने होइन । व्यक्ति स्वयंले यसको निराकरण गर्न सक्छ । व्यक्तिले मलाई रिस उठिरहेको छ, अहिल्यै थामिनँ भने मलाई नै नोक्सान हुन्छ भनेर थाहा पाउनुपर्छ । यस्तो चेतना आएपछि रिस आफैं ओरालो लाग्छ किनभने हाम्रो मस्तिष्कको चेतना दिने ठाउँले नरिसाऊ भनेर निर्देशन दिन्छ ।


त्यस्तै, रिस उठेको दिमाग अन्तै मोड्नुपर्छ । लामो सास लिने र छोड्ने गर्‍यो भने रिस कम हुन्छ । एक गिलास पानी पिउने र त्यसमै ध्यान दिने गर्न सकिन्छ । सयबाट उल्टो गन्दा आवेगको मात्रा घट्छ । यस्ता घरेलु विधि अपनाउँदा पनि रिसलाई काबुमा राख्न सकिएन भने मनोपरामर्श चाहिन्छ । नत्र एकैछिनको सनकले जिन्दगीभर पछुताउनुपर्ने हुन सक्छ ।

प्रकाशित : फाल्गुन २५, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?