भलिबलमा फक्रिएकी कोपिला

जीवनका १५ वर्ष कोर्टमा सक्रिय रहेकी कोपिलालाई भलिबलले सबैथोक दियो
कुशल तिमल्सिना

काठमाडौँ — नेपालको ग्रामीण भू–भागमा अहिले पनि एउटा भनाइ चलनचल्तीमा छ, ‘छोराले घर रुँगेर हुँदैन, संसार हेर्नुपर्छ ।’ 

भलिबलमा फक्रिएकी कोपिला

भनाइ छोरीको हकमा किन लागू नहुने ? छोरीले पनि संसार हेर्नुपर्छ भन्दै आफ्ना लागि केही गर्ने हुटहुटीले कोपिला उप्रेतीले घर छाडिन् । १५ वर्षे यो अवधिमा कोपिलाले एउटा सफलता कथा रचिन् र संसार नियालिन् ।


पाँचथरको तमोर किनारको बस्ती सुभाङ–६ नछाडेको भए कोपिलाको जीवन के हुन्थ्यो ? भन्छिन्, ‘तमोरमा हाम्फालेर मर्थें होला कि ?’ टीबी लागेर थलिएकी आमा, मानसिक रोगी दिदीलगायतको पारिवारिक प्रताडनाले उनलाई आत्महत्याको सोचसम्म धकेलेको थियो ।


तर उनले त्यसो गरिनन् । घर छाडेर भए पनि केही गर्ने सोच राखिन् । २०६१ सालको हिउँदमा सुभाङ छाडिन् । त्यही घर छाड्नाले उनी एउटी छोरीको सफलतामा परिवारमात्र होइन सिंगो गाउँ, समाज र राज्यले गर्व गर्ने अवस्था बनाउन सफल भइन् । यतिखेर उनी जीवनले सार्थकता पाएको अनुभव बाँड्दैछिन् । त्यो सार्थकताको कथा भलिबल खेलसँग जोडिएको छ । १४ वर्ष राष्ट्रिय भलिबल खेलाडी भइन् । धेरै वर्ष कोर्टमा स्पाइकर रहेकी उनले हालैमात्रै राष्ट्रिय भलिबल खेलाडीबाट संन्यास लिएकी हुन् ।


कोपिला असारदेखि ३९ वर्षमा प्रवेश गर्दैछिन् । जीवनका सुरुआती २० वर्ष उनका लागि अँध्यारोमै बित्यो । त्यसपछि जीवनमा यसरी उज्यालो आयो कि कहिल्यै रात परेको भान हुँदैन । सपनाको यात्रामा बिरानो सहरमा एक्लै गर्नुपरेको संघर्षको कहानी सुन्दा जोकोही आङजिरिङ्ग हुन्छ ।


२०६१ सालको हिउँदमा पाँचथरको तमोर किनार बस्ती सुभाङ छाड्दै उनी रातारात झापा पुगिन् । त्यसपछि नातेदारको पछि लाग्दै राजधानी काठमाडौंको यात्रा थालिन् । सुरुमा घरेलु कामदार भएर उनको काठमाडौं बसाइ लम्बियो । आफूलाई घरेलु कामदारमा राखिएको थाहा पाएपछि त्यहाँ फुत्कँदै आफन्तकोमा शरण लिन पुगिन् । थुप्रै हन्डर ठक्करपछि २०६२ सालको सुरुतिर मनवीर छन्त्यालले चलाएको ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको सम्पर्कमा पुगिन् । बल्ल, कोपिलाको सपनाको उडान सुरु भयो । खेलाडी बन्छु कि भन्ने आस पलाउन थाल्यो । ‘त्यतिबेला दाजुभाउजुसँग कीर्तिपुर बस्थें ।

रेडियोमा विज्ञापन सुनेपछि मनवीरसरलाई भेट्न बालाजु मनमैंजु पुगें । ५ फिट ५ इन्चभन्दा बढी उचाइ भएकालाई निःशुल्क भलिबल प्रशिक्षणको व्यवस्था थियो,’ भलिबलमा सुरुआती दिन सम्झँदै कोपिलाले थपिन्, ‘पहिलो भेटमै मनवीरसरले तिमी त राष्ट्रिय खेलाडी बन्छौं भनेर ढाडस दिनुभयो । त्यसले मेरो आस बढ्यो ।’ भलिबल खेल्ने सपना पूरा गर्न ढोरपाटनमा पुगेकी कोपिलालाई पहिलो भेटमै छन्त्यालको ढाडसले तरंग ल्याइदियो । उनको जीवन मोडियो, जसरी पनि राष्ट्रिय खेलाडी बन्ने । टिसर्ट, हाफपाइन्ट र जुत्ताको जोहो जसोतसो गरिन् । झन्डै ६ फिटकी कोपिला सम्झिइन्, ‘भलिबलबारे मलाई बलमात्र थाहा थियो । अरु सबै शून्य थियो । तर मैले नियम, रोटेसन र सबैभन्दा ठूलो अनुशासन सिकें ।’


ढोरपाटन हुँदै जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा कपिलकिशोर श्रेष्ठसँग प्रशिक्षण थालिन् । प्रशिक्षण थालेको ६ महिना नपुग्दै भलिबलमा निपुण भइन् । उनले २०६२ को मंसिरमा १३ औं राष्ट्रिय भलिबल प्रतियोगितामा सार्वजनिक संस्थानको टिमबाट पहिलोपल्ट राष्ट्रिय प्रतियोगिता खेलिन् । क्विक स्पाइकरको रूपमा उदाएकी उनी पहिलो प्रतियोगितामै उत्कृष्ट ब्लकरबाट पुरस्कार भइन् । ‘भोलिपल्ट अखबारमा फोटो छापिएपछि चाहिँ अब म राम्रै खेलाडी बनेछु भन्ने लाग्यो,’ कोपिलाले विगत सम्झिइन् ।


त्यो प्रदर्शनले उनलाई राष्ट्रिय टोलीमै पुर्‍यायो । कोपिलाले सन् २००६ मा श्रीलंकामा सम्पन्न १० औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाइन् । त्यति बेला सिपोरा गुरुङ र मन्जु गुरुङको जगजगी थियो । उनीहरू ओपन स्पाइकर । क्विकमा चम्कने पालो भने उनै कोपिलाको थियो । ‘त्यति बेला हामीले जितेको कांस्य मेरा लागि जीवनको सबैभन्दा खुसी दिलाएको पदक थियो,’ उनका लागि त्यसपछिका आठवटा अन्तर्राष्ट्रिय र तीन दर्जनभन्दा बढी राष्ट्रिय प्रतियोगिताको सफलताभन्दा त्यो खुसी बढी थियो । उनी व्यावसायिक भलिबल खेल्न माल्दिभ्स पनि पुगिन् । तीन फरक क्लबबाट सात प्रतियोगिता खेल्दा पाँचवटामा च्याम्पियन बनाएको क्षण पनि उनका लागि गौरव गर्न लायक छ । जसले उनको आर्थिक पाटोलाई सबल बनाएको थियो ।


जीवनको लक्ष्य पूरा भयो । अब कोपिलाले घर सम्झिइन् । बुवाले अर्की आमा भित्र्याएपछि हेलामा परेकी आफ्नी आमासहित तीन दिदीबहिनी र तीन भाइ सम्झिइन् । ‘मैले जे सोचेर घरबाट भागेकी थिएँ । त्यो पूरा भयो । मैले जीवनमा केही गर्ने सपना साकार पारिसकेकी थिएँ । त्यसलाई निरन्तरता दिएमात्र पुग्ने थियो । त्यसबाहेक आर्थिक रूपमा केही सवल भएँ । घर छाडेको तीन वर्षपछि दसैंको अवसर पारेर घर पुगें,’ त्यति बेला कोपिलाको परिवार झापा झरिसकेको थियो । परिवारले उनी फर्कने आस मारिसकेका रहेछन् । उनले थपिन्, ‘म फर्केपछि भाइबहिनीको अनुहारमा झल्केको खुसी अहिलेसम्म ताजै छ ।’ १० औं सागमा कांस्य जितेपछि सन् २०१६ मा भारतमा सम्पन्न १२ औं सागमा पनि नेपाली महिला भलिबल टोलीले कांस्य नै जितेको थियो । त्यो बेला कोपिला टोलीकी महत्त्वपूर्ण सदस्य थिइन् । नेपाली खेलकुदको हकमा २४ वर्षको उमेरमा खेलाडीहरू संन्यासको चरणमा पुग्छन् । उनका लागि त्यो उमेर सुरुआती चरण थियो ।


नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदबाट अन्तर्राष्ट्रिय खेलाडी जीवन बिट मार्ने उनको चाहना थियो । तर प्रारम्भिक सूचीमै नपरेपछि उनी खिन्न बनिन् । ‘त्यो दिन म रातभर रोएँ । म नेपालका शीर्ष २५ खेलाडीभित्र पनि परिनँ भन्ने चिन्ताले सतायो,’ उनले भनिन्, ‘त्यो मेरो जीवनकै सबैभन्दा खराब क्षण रह्यो ।’


साग सकिएपछि कोपिलाले अन्तर्राष्ट्रिय खेलजीवन टुंग्याउने निर्णय गरिन् । माघको अन्तिम साता नेपाल भलिबल संघले उनलाई ५० हजार रुपैयाँ प्रोत्साहनसहित बिदाइ गर्‍यो । जीवनका १५ वर्ष कोर्टमा सक्रिय रहेकी कोपिलालाई भलिबलले सबैथोक दियो । सबैभन्दा ठूलो आत्मसन्तुष्टि दियो । आमालाई गर्व गर्ने क्षण दियो । आफू स्थापित भएपछि भाइबहिनीलाई शिक्षादीक्षा दिन सहयोग गरिन् । अभिभावकको जिम्मेवारी पूरा गरिन् । परिवारमा खुसी ल्याइन् ।


‘जुन सपनालाई पछ्याएर म घरबाट भागेकी थिएँ । भलिबलले त्यसलाई पूरा गरिदियो । सबैसामु परिचित बनायो । नेपाल प्रहरीमा अनुबन्ध गरायो । राष्ट्रिय/ अन्तर्राष्ट्रिय समर्थन पाएकी छु । परिवार र समाजले गर्व गर्ने वातावरण भएको छ,’ कोपिलाले थपिन्, ‘यति लामो करिअरमा मैले केही गुमाउनुपरेन । सबैथोक पाएकी छु । त्यसैले म आफूलाई भाग्यमानी ठान्छु ।’


अबको बाटो

‘मैले भलिबलबाहेक अरु केही जानेकी छैन । अरु काममा हात हाल्दा सुरुदेखि नै संघर्ष गर्नुपर्छ । अब मभित्र नयाँ संघर्ष गर्ने साहस पनि छैन,’ फरक भूमिकाबाट भलिबलमै निरन्तर रहने उनको प्रस्ट दृष्टिकोण छ । अहिले उनी नेपाल पुलिस क्लबबाट घरेलु भलिबल खेलिरहेकी छन् । एक/डेढ वर्ष करिअरले निरन्तरता पाउनेमा उनी ढुक्क छिन् । यसै साता उनको टिमले लामो समयपछि विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई हराएर नेपालगन्जमा प्रधानमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ ।


नेपालमा भलिबलको जग खासै राम्रो छैन । उनको सोच विद्यालयस्तरबाट प्रतिभा पहिचान गरी प्रशिक्षण दिने र खेलाडी बनाउने नै हो । त्यसका लागि उनी गृहकार्य गर्दैछिन् । छिट्टै आफ्नो काम सुरु हुनेमा उनी विश्वस्त देखिइन् । ‘अब मेरा कामहरू आफ्नै भावनासँग सम्बन्धित हुन्छन् । मैले स्कुलमा भलिबल खेल्न पाइनँ । अहिले पनि हाम्रो देशमा क्षमता र प्रतिभावान खेलाडी खुम्चिएर बस्न बाध्य छन्,’ भलिबल फर लाइफ इन नेपाल परियोजनामार्फत ग्रासरुट भलिबलको गृहकार्यमा रहेकी कोपिलाले सुनाइन्, ‘९ देखि ११ वर्षसम्मका बालबालिका भेला गरी सम्पूर्ण सुविधासहित भलिबल सिकाउने सोचमा अगाडि बढ्नेछु ।’ अहिले उनले राजधानीकै हिमरश्मि हाइस्कुलमा यसरी नै बच्चाहरूलाई भलिबल प्रशिक्षण गराउँदै आइरहेकी छन् ।


भलिबल फर लाइफ नेदरल्यान्ड्स भलिबल संघको कार्यक्रम हो । त्यो कार्यक्रमसँग जोडिएकी कोपिलाले नेपालमा निरन्तरता दिने सोच बनाएकी छन् । भविष्यमा राष्ट्रिय टोलीको प्रशिक्षकका रूपमा देख्न पाइने सम्भावना पनि उनले नकारेकी छैनन् । ‘नेपाली भलिबलको उमेर समूहको राष्ट्रिय टोली बनाउनु अपरिहार्य भइसकेको छ । त्यसैले उमेर समूहको प्रतिभाको खोजी मेरो पहिलो प्राथमिकता हुनेछ,’ एफआईभीवी लेभल टु कोचिङ कोर्स पूरा गरिसकेकी उनले थपिन्, ‘यति लामो समय राष्ट्रिय टोलीबाट खेलिसकेपछि प्रशिक्षक बन्ने सोच जायज पनि हुन्छ ।’

प्रकाशित : फाल्गुन २५, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?