१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

स्वास्थ्यकर्मी नै जोखिममा

घनश्याम गौतम

(रूपन्देही) — कोरोना भाइरस (कोभिङ–१९) संक्रमणको त्रास बढिरहेका बेला भारतसँग सीमा जोडिएको प्रदेश ५ का विभिन्न नाकामा तालिमबिनै स्वास्थ्यकर्मी परिचालन गरिएको छ । स्वास्थ्यकर्मीले प्रयोग गर्ने मास्कदेखि परीक्षणका लागि आवश्यक पर्ने सामग्री र बस्ने स्थानसम्म अभाव छ । अधिकांश डेस्क सडकमै स्थापना गरिएका छन् । रोकथामको ज्ञान र जोखिम न्यूनीकरणका उपकरणबिना खटिएका स्वास्थ्यकर्मी नै संक्रमणको जोखिममा छन् ।

स्वास्थ्यकर्मी नै जोखिममा

भैरहवास्थित अध्यागमन विभागका अनुसार बेलहिया नाका हुँदै तेस्रो देश र भारतका गरी दैनिक एक हजार चार सय नागरिक नेपाल प्रवेश गर्छन् । दिल्लीबाट दैनिक ३४ बस यात्रु लिएर बुटवल आउँछन् । भारतका विभिन्न स्थानमा संक्रमित फेला परेपछि तीनै तहका सरकारले उच्च सतर्कता अपनाएका छन् । बेलहियामा स्थापना गरिएको हेल्थ डेस्कमा सिद्धार्थनगर नगरपालिकाले दैनिक ६ स्वास्थ्यकर्मी खटाएको छ । बिहान ६ बजेदेखि राति १० बजेसम्म आलोपालो खटिन्छन् ।


नगरपालिकाको स्वास्थ्य शाखाको सहयोगमा स्थानीय प्रशासनले माघ १६ देखि उनीहरूलाई खटाएको हो । उनीहरूले आवश्यक पर्ने कुनै सामग्री नपाएको नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख उमा थापाले बताइन् । ‘शंका लागे सामान्य सोधपुछ गर्ने हो, पहिचान गर्न सक्ने अवस्था छैन,’ उनले भनिन् । उनले दैनिक १६ घण्टा ६ जनाको टिमले काम गर्ने गरेको र राति निर्बाध विदेशी आउने गरेको बताइन् ।


संक्रमितको नजिक बस्दा र उसले प्रयोग गरेको सामान छुँदा पनि कोभिङ–१९ सर्ने चिकित्सकको भनाइ छ । त्यसबाट बच्न मास्क, पन्जा, एप्रोन र चस्मा न्यूनतम सामग्री हुन् । ज्वरो परीक्षणका लागि थर्मोमिटर अति आवश्यक पर्छ तर ती सामग्री व्यवस्थापन हुन नसकेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए । ‘अहिलेसम्म सातवटा एप्रोन आएको हल्ला सुनिएको छ तर उपलब्ध छैन,’ उनले भने । प्रदेशमा संक्रमितको स्वाब संकलन, भण्डारण र परीक्षण गर्न सक्ने प्रयोगशाला छैन । अहिले प्रदेशम दुई जना मात्र टेक्निसियन रहेको जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजेन्द्रकुमार गिरीले बताए ।


संघीय र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको समन्वयमा प्रदेश ५ का विभिन्न नाकामा दुईवटा टोली बनाएर अध्ययन गरिएको थियो । भारतसँग नाका जोडिएका तराईका नवलपरासी, कपिलवस्तु र रूपन्देहीमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. उमाशंकर चौधरी एवं दाङ, बाँके र बर्दियाका नाकाको अवस्था अवलोकन गर्न स्वास्थ्य विभागका वरिष्ठ जनस्वास्थ्य प्रशासक चूडामणि भण्डारीको नेतृत्वमा टोली खटिएका थिए । चौधरी र भण्डारीले शुक्रबार सामाजिक विकास मन्त्रालयमा प्रतिवेदन प्रस्तुत गर्दै जनशक्ति र सामग्रीको चरम अभाव रहेको बताए । प्रदेश ५ मा रूपन्देहीको बेलहिया, परासीको महेशपुर, कपिलवस्तुको कृष्णनगर, दाङको कोइलाबास र नेपालगन्जको जमुनाह बढी आवागमन हुने नाका हुन् । अधिकांश नाकामा खटिएका स्वास्थ्यकर्मीको अवस्था र समस्या उस्तै रहेको टोली प्रमुख भण्डारीले बताए ।


प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले सरकारको अधिकतम प्रयासमा प्रदेशभरिका नाकामा प्रयोग गर्ने गरी अहिले ४५ वटा थर्मोमिटर आइपुगेको बताए । अस्पतालमा डिजिटल थर्मोमिटरबाट काम चलाउन निर्देशन गरिएको छ । ‘हामी जनशक्ति, उपकरण र सामग्रीको चरम अभावमा छौं,’ उनले भने ।

प्रकाशित : फाल्गुन २५, २०७६ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?