हिमपातले मनाङ सेताम्य

आश गुरुङ

लमजुङ — हिमपात रोकिएको करिब डेढ महिनापछि हिमाली जिल्ला मनाङमा पुनः हिमपात भएको छ । शनिबार बिहान २ बजेदेखि परेको हिमपातले मनाङ सेताम्य बनेको छ । स्थानीयको जनजीवन प्रभावित भएको छ ।

हिमपातले मनाङ सेताम्य

हिमपातले चक्रीय अन्नपूर्ण पदमार्गको गन्तव्य थोराङला पास र तिलिचो ताल जाने बाटो अवरुद्ध भएको छ । हिमपात रोकिएपछि केही दिनयता पर्यटकीय चहलपहल भइरहेको मनाङमा पुनः हिमपातले उनीहरु गन्तव्यमा पुग्‍न सकेका छैनन् ।


अन्‍नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका पर्यटन सहायक ब्रिजबहादुर गुरुङका अनुसार शनिबार बिहानीपख २ बजेतिरबाट हिमपात भएको थियो । हिउँ डेढ फिटसम्म जमेको थियो । केही पर्यटक गन्तव्यमा गएपनि हिमपातका कारण रोकिएपछि फर्किएका छन् ।


व्यवसायीका अनुसार मुस्ताङतर्फ जाने पर्यटक लेदर, याककर्ख, थोराङला बेसक्याप साथै तिलिचो जाने पर्यटक खाङसार, श्रीखर्क, तिलिचो बेसक्याम्प लगायतका ठाउँमा रोकिएका छन् । डेढ महिनापछि परेको हिमपातले साँझबिहान एक्कासी जाडो बढेको स्थानीयले बताएका छन् ।


चक्रीय अन्‍नपूर्ण पदमार्गमा घुम्‍न आएका पर्यटक चामेदेखि माथि जान सकेका छैनन् । चामेदेखि माथिल्लो क्षेत्रको सडकमा हिउँ जमेपछि सवारी आवागमन बन्द भएको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए ।


हिमपात हुँदा किसान भने खुसी भएका छन् । खेतबारीमा खनजोत गरेर मल छर्दै पुनः खनजोत गरी आलु रोप्‍ने तयारीमा किसान लागेका छन् । माटोमा चिस्यान बढ्ने भएकाले यतिबेलाको हिमपातले किसान रमाएका छन् ।


हिमपातले गहुँ, फापर, करुलाई पनि राम्रो सिँचाई मिल्ने मनाङ ङिस्याङ गाउँपालिका १, पिसाङका याङडुङ गुरुङले बताए । नार्पाभूमि गाउँपालिकाका कृषि शाखा प्रमुख महेश पाख्रिनका अनुसार हिमपातले माटोमा उर्वरता बढाउँछ । हिमपातले स्याउ साथै आलु, करु, गहुँ, फापर साथै तरकारी बालीलाई राम्रो चिस्यान पुग्‍ने उनले बताए ।

प्रकाशित : फाल्गुन २४, २०७६ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?