३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रधानमन्त्रीको स्वास्थ्यबारे चिकित्सकले भने, ‘शरीरको प्रतिक्रियाअनुसार उपचार प्रक्रिया बढाइरहेका छौं’ 

अतुल मिश्र

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न सुरु गरेको छ । प्रत्यारोपणपछि आईसीयूमा सारिएका ओलीको स्वास्थ्य सूचक राम्रो रहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बताए । उनका अनुसार मिर्गौला दिएकी उनकी भान्जीको अवस्था सामान्य छ । 

प्रधानमन्त्रीको स्वास्थ्यबारे चिकित्सकले भने, ‘शरीरको प्रतिक्रियाअनुसार उपचार प्रक्रिया बढाइरहेका छौं’ 

शल्यक्रियापछि होस खुले पनि उच्च मात्रामा दुखाइ कम गर्ने औषधिहरू दिइएकाले ओली बुधबार राति निद्राको स्थितिमा थिए । मिर्गौला प्रत्यारोपणमा संलग्न टिमका एक चिकित्सकका अनुसार ओलीको प्रत्यारोपित मिर्गौला वरिपरि राखिएको पाइपलाई पेट बाहिर निकालिएको छ । रक्तस्राव भए वा पिसाब चुहिए पेटभित्र जम्मा हुन नदिन राखिएको पाइप सुधारको अवस्था हेरेर तीन–चार दिनमा निकालिने उनले बताए ।


‘अबको २४ घण्टामा साधारणतया प्रत्यारोपण गरिएको नयाँ मिर्गौलाले ५ देखि १० लिटरसम्म पिसाब निकाल्न सक्छ,’ बुधबार साँझ उनले भने, ‘पिसाब राम्ररी निस्किनुपर्‍यो, त्यसपछि विस्तारै पिसाबको मात्रा दिनहुँ ३–४ लिटरसम्म झर्न सक्छ ।’ नयाँ मिर्गौलाले काम गर्न थालिसकेको उनले बताए । ‘हामीले अहिले शरीरको प्रतिरोधात्मक शक्तिलाई शिथिल पार्ने (इम्युनो सप्रेसेन्ट) औषधिको मात्रा पहिलेभन्दा बढाएका छौं,’ उनले भने ।


उनले भने, ‘प्रधानमन्त्रीज्यूका लागि २४ घण्टा अर्थात् पहिलो दिन सबैभन्दा बढी महत्त्वपूर्ण हो, यसपछि एक साता महत्त्वपूर्ण हो ।’ हाल २४ घण्टामा ओलीको शरीरमा कति पिसाब बन्छ, त्यसअनुसार नै थप उपचार प्रक्रिया अगाडि बढ्ने उनले बताए । ‘हामीले सघन उपचार कक्षमा प्रधानमन्त्रीज्यूको शरीरको प्रत्येक सूचकांकलाई नजिकबाट नियमित अवलोकन गरिरहेका छौं,’ टोलीमा संलग्न अर्का चिकित्सकले भने, ‘अवलोकनअन्तर्गत उहाँको शरीरले दिएको प्रतिक्रियाअनुसार उपचार प्रक्रिया बढाइरहेका छौं ।’ हाल न्यूनतम एक सातासम्म दिनदिनै स्वास्थ्य अवस्थालाई सूक्ष्म रूपले हेरिने उनले बताए ।


साढे चार घण्टा लागेको शल्यक्रियामा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल सहभागी थिए । भारतका मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक प्रा.डा. अनन्त कुमार पनि टोलीमा सामेल थिए ।


प्रत्यारोपण चिकित्सा टोलीमा प्रा.डा. दिव्यासिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, डा. मिघन श्रेष्ठ, डा. रविन नेपाली र डा. सन्तोष क्षेत्रीका साथै एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ, प्रा.डा. सुवास आचार्य, डा. अमित शर्मा भट्टराई, डा. विगेनमान शाक्यको सहभागिता रहेको अस्पतालले जनाएको छ ।


पछिल्लो पटक मिर्गौलाको समस्या आएयता करिब आठ महिनादेखि प्रधानमन्त्री ओली विभिन्न परीक्षणसँगै उपचार प्रक्रियामा थिए । करिब तीन महिनाअघि उनको प्रत्यारोपण गर्ने तयारी भइरहँदा एक्कासि एपेन्डिसाइटिसको संक्रमण देखिएपछि प्रक्रिया स्थगित गरिएको थियो । त्यसताका एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।


एकै दिन तीन महिलाले गरे मिर्गौला दान

बुधबार तीन जना महिला दाताले दुई जना पुरुष र एक जना महिलालाई मिर्गौला दान गरेका छन् । त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकी भान्जीले मिर्गौला दान गरेकी हुन् । यसअघि पहिलो प्रत्यारोपणमा समेत उनलाई नाताले बुहारी पर्ने अन्जानले मिर्गौला दान गरेकी थिइन् ।


बुधबारै भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई जना महिलाले एक जना पुरुष र एक जना महिलालाई मिर्गौला दान गरेका छन् । केन्द्रमा गरिएको निःशुल्क प्रत्यारोपणमा आमाले २१ वर्षे छोरीलाई र श्रीमतीले ३५ वर्षीय श्रीमान्लाई मिर्गौला दान दिएर ज्यान जोगाएका हुन् । भक्तपुरमा गरिएको उक्त प्रत्यारोपण डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा भएको थियो ।

प्रकाशित : फाल्गुन २२, २०७६ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?