१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रा.डा. प्रेम ज्ञवालीसँगकाे विशेष अन्तर्वार्ता : ‘दाताबाट झिकिएको मिर्गौला जोड्न ३९ मिनेट लाग्यो’ 

स्वरूप आचार्य

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा लगभग साढे चार घण्टा लगाएर सफलतापूर्वक दोस्रो मिर्गौला प्रत्यारोपण गरिएको छ । उक्त प्रत्यारोपणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका मिर्गौला प्रत्यारोपण विशेषज्ञ प्रा.डा. प्रेम ज्ञवालीसँग गरिएको विशेष अन्तरवार्ता :

प्रा.डा. प्रेम ज्ञवालीसँगकाे विशेष अन्तर्वार्ता : ‘दाताबाट झिकिएको मिर्गौला जोड्न ३९ मिनेट लाग्यो’ 

शिक्षण अस्पतालमा गरिएको कतिऔं दोस्रो प्रत्यारोपण हो ?

हामी कहाँ दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्रीज्यू नवौं व्यक्ति हो । उहाँ भन्दा अघि हामीले ८ जनाको सफलतापूर्वक दोस्रो प्रत्यारोपण गरेका थियौं । हालसम्म सबैको अवस्था राम्रो नै रहेको छ ।


प्रधानमन्त्रीज्यूको प्रत्यारोपण शल्यक्रिया कति बजेबाट सुरु भयो र कति घण्टा लाग्यो सम्पूर्ण कार्य सक्न ?

हामीले उहाँलाई १०, सवा १० बजेको हाराहारी शल्यक्रिया कक्ष भित्र लगेका थियौं । शल्यक्रिया साढे १० बजे सुरु गर्‍यौं । दुईटा शल्यक्रिया ‘साइड बाइ साइड’ गरिएको थियो । सम्पूर्ण प्रक्रिया सकिँदा साढे चार घण्टा लाग्यो ।

तपाईंहरुले दाताबाट मिर्गौला कसरी झिक्नुभयो ?

हामीले दाताको ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया गरेर मिर्गौला झिकेका हौं । त्यसो गर्दा दाताको रिकभरी समयको छोटो र सहज हुन्छ । हामीले यहाँ दाताबाट मिर्गौला झिक्दा ल्याप्रोस्कोपिक विधि नै प्रयोग गर्न थालेका छौं । यो विधिबाट दाताको शल्यक्रिया गरिएको उहाँ ३३/३४ औं हो । पहिला हामीले ठूलै घाउ बनाएर गथ्यौं । तर अहिले हामीले त्यो सिप पनि सिक्यौं र प्रविधि पनि उपलब्ध भएकोले त्यो नै प्रयोग गर्छौं ।

प्रत्यारोपणका लागि दाताको कुन मिर्गौला तपाईंहरुले झिक्नुभयो ?

हामीले बायाँतर्फको मिर्गौला झिकेका हौं ।

बायाँ मिर्गौला नै चयन गर्नुको कुनै मुख्य कारण ?

दाताको प्राय गरेर बायाँ मिर्गौला नै झिक्ने गरिन्छ । किनभने मिर्गौलामा मुटुबाट अक्सिजनयुक्त रगत लैजाने मुख्य नसा (रेनल आर्टरी) तथा मिर्गौलाले छानेको रगतलाई फोक्सोमा लिएर जाने नसा (रेनल भेन)को लम्बाई केही लामो हुने भएकाले पनि प्रत्यारोपणमा सहज हुन्छ । सामान्य भाषामा भन्दा निकालेर जोड्न सहज हुन्छ । अर्को कुरा यदि दाताको दायाँभन्दा बायाँ मिर्गौला प्रविधिक रुपमा राम्रो छ भने दायाँ मिर्गौला निकाल्छौं, बायाँ निकाल्दैनौं ।

प्रधानमन्त्रीज्यूमा प्रत्यारोपित मिर्गौला कतातर्फ राखियो ?

उहाँको पहिलो प्रत्यारोपण गर्दा दायाँतर्फ मिर्गौला राखिएको थियो । त्यसैले हामीले अहिले बायाँतर्फ मिर्गौला राखेका छौं ।

शल्यक्रियापछि प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था कस्तो छ ?

उहाँको अवस्था अहिले सामान्य छ । होस आइसकेको छ । कुरा गर्नसक्नु हुन्छ । तर हामीले उहाँलाई आराम गर्न दिनका लागि कुनै कुराकानी गरेका छैनौं । उहाँ चिकित्सकहरुको निगरानीमा हुनुहुन्छ । उहाँको सबै भाइटल्सहरु ठिक छ । प्रेसर, अक्सिजनको मात्रा सबै ठिक छ । साथै प्रत्यारोपित मिर्गौलाबाट पिसाब पनि भइरहेको छ । अहिले पौने ८ बजेसम्ममा २ देखि ढाई लिटरसम्म पिसाब आइसकेको हुनुपर्छ । मैले हेर्न भने पाएको छैन ।

प्रधानमन्त्रीको स्वास्थ्यमा यही रफ्तारमा सुधार भयो भने कति दिनमा डिस्चार्ज हुनसक्नुहुन्छ ?

सबै कुरा सामान्य रहेर यही रफ्तारमा रिकभरी भयो बिचमा केही जटिलताहरु आएन भने हामी उहाँलाई आइतबार/सोमबारसम्ममा नै डिस्चार्ज गर्न सक्छौं ।

दातालाई कति दिन पछि डिस्चार्ज गर्नुहुन्छ ?

दाताको अवस्था पनि सामान्य रहे हामी शनिबार/आइतबार डिस्चार्ज गर्छौं ।

दोस्रो प्रत्यारोपण गरिसकेपछि प्रधानमन्त्रज्यूले ध्यान दिनुपर्ने कुरा के–के हुन् ?

मिर्गौला प्रत्यारोपण पहिलोपटक भए पनि दोस्रो पटक भएपनि त्यस्तो बिरामीले मुख्य गरेर संक्रमणहरुबाट जोगिनुपर्छ । संक्रमण भनेको फोहर कुरा चलाएर मात्र हुँदैन, मान्छेहरुको भिडबाट, स्वासबाट पनि हुनसक्छ । उहाँले कुनैपनि प्रकारको संक्रमण निम्त्याउनुभएन ।

मिर्गौला प्रत्यारोपण गर्दा दुईजनाको लगभग एकैसाथ शल्यक्रिया भइरहेको हुन्छ । तपाईंहरुको टिमको कुन सदस्यले कतातिरको शल्यक्रिया गर्नुभयो भन्न मिल्छ ?

त्यो सबै टिम वर्क हो । दुईटा टिम बनाएर काम गरेका थियौं । म चाहिँ प्रधानमन्त्री तिर थिएँ । अर्को टिम चाँही दाता तिर थियो ।


प्रधानमन्त्री ओलीको प्रत्यारोपणमा संलग्न चिकित्सकीय टोली ।


भारतबाट आउनुभएका विशेषज्ञ डा. अनन्त कुमारको भूमिका यो प्रत्यारोपणमा के थियो ?

प्रत्योपणमा उहाँको भूमिका थियो । सरकार प्रमुखको प्रत्यारोपण भएकोले गर्दा हामी सबैजना प्रेसरमा थियौं । प्रधानमन्त्रीको शल्यक्रिया भनेपछि मिडिया, जनता र आफ्नै सहकर्मीहरुबाट पनि प्रेसर हुन्छ । सबैले शुभकामना, शुभकामना भन्दा झनै प्रेसर हुन्छ । त्यसैले हामीले उहाँलाई आवश्यक परिहाल्यो भने सहयोग गर्नका लागि बोलाएका थियौं । किनभने उहाँले प्रधानमन्त्रीज्यूको पहिलो प्रत्यारोपण पनि गर्नुभएको थियो । उहाँ त्यसैले दाताबाट मिर्गौला झिक्ने र प्रत्यारोपण गर्ने दुवै कार्यमा सरिक हुनुहुन्थ्यो । भनाइको मतलब ‘स्क्रब’ (शल्यक्रिया गर्नका लागि तयारी अवस्था) मै हुनुहन्थ्यो । तर, मुख्य रुपमा भने सबै काम हाम्रो डिपार्टमेन्ट कै साथीहरुले गर्नुभएको हो ।

डा. अनन्त कुमारसँग अरु पनि चिकित्सकहरु आउनुभएको छ कि उहाँ एक्लै हो ?

उहाँसँग एकजना मिर्गौला रोग र एकजना संक्रमणरोग विशेषज्ञ पनि आउनुभएको छ । उहाँहरुले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई नजिकबाट हेरिरहनुभएको छ । कुनैबेला उहाँहरुको सहयोग चाहियो भने परामर्श लिन्छौं । हामीलाई शल्यक्रिया गर्दा जति प्रेसर थियो त्यति नै प्रेसर अब मिर्गौला रोग विशेषज्ञहरुलाई पनि छ ।

प्रत्यारोपण गर्दा तपाईंहरुलाई सबैभन्दा ठूलो डर के थियो ?

हामीले प्रत्यारोपण गरेको मिर्गौलामा रक्तसञ्चार भइसकेपछि त्यसले काम गर्छ कि गर्दैन भन्ने थियो । अहिले पूर्ण रुपमा काम गरेर पछि त्यो बन्द पनि हुनसक्छ । तर अहिलेलाई भने त्यो डर हटेको छ । बिहानीले दिन कस्तो हुन्छ भन्ने संकेत गर्छ भने झैं सबै राम्रो हुन्छ भन्नेमा हामी आशावादी छौं ।

तपाईंहरुलाई दाताबाट झिकिएको मिर्गौला प्रधानमन्त्रीको शरिरमा जोड्न कति समय लाग्यो ?

हामीले मुख्य नसाहरु (आर्टरी र भेन) जोड्ने काम ३९ मिनेटमा सक्यौं । त्यसपछिको कार्य भनेको सयम लिएर गर्न मिल्ने कुरा हो ।

प्रधानमन्त्रीले नेपालमा नेपाली चिकित्सकहरुबाटै दोस्रो प्रत्यारोपण गराउँदा तपाईंहरुको हौसला त बढेको होला नि ?

हो, अवश्य नै हामी सबैमा नयाँ उत्साह थपेको छ । हामी यहाँ पहिलो प्रत्यारोपण हुँदा जति खुशी थियौं, अहिले पनि त्यति नै खुशी छौं ।

प्रकाशित : फाल्गुन २१, २०७६ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?