कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बौरिएको ‘मट्कावाला चाय’

भविष्यमा सीए बन्ने लक्ष्यका साथ काठमाडौं बसेको ठिटोले जब राम्रो अंकका साथ १२ उत्तीर्ण गर्‍यो, तब घर फर्कियो, सरकारी कलेज भर्ना भयो र आफन्तलाई छक्क पार्दै सुरू गर्‍यो– टाइसुटमा चिटिक्क परेर चिया बोक्न ।

(जनकपुर) — जनकपुर पुगेपछि ‘मट्कावाला चाय’ खाने तिर्सना जागेर आयो भने तपाईं सोधखोज गर्दै शिवचोकस्थित एक गल्लीमा पुग्नु हुनेछ । त्यहाँ भेटिनेछन्, टाइसुटमा चिटिक्क परेर हाँस्दै र चिया बेच्दै गरेका पातला, फूर्तिला दाह्रीवाल ठिटा । 

बौरिएको ‘मट्कावाला चाय’

भित्र पस्नेबित्तिकै भित्ताभरि कोरिएका मैथिल र केही आधुनिक कला, बाँसका भाँटाले बनाइएको दलिन अनि बाँसकै ठूलो तखताभर अनेक नाम र हस्ताक्षरसहित सजिएका साना र सुलुत्त परेका खाली मट्का देखेपछि जनकपुरलाई चिन्ने हरेकले बुझिहाल्नेछन्, यो सहरको भर्खरै खुलेको दोकान हो ।


हराउँदै जान थालेको माटाको भाँडामा चिया खाने पुरानो मैथिल चलनलाई नयाँ बान्की दिएर यसैमा ‘करिअर’ बनाउँछु भनेर कस्सिएका १९ वर्षीय रूपेशकुमार यादवका बितेका दुई महिनाका हरेक दिन यही पसलमा गुज्रिएका छन् ।

‘सुरु गरेदेखि मैले एक दिन बिदा लिएको छैन र पसल छाडेर कतै गएको पनि छैन,’ उनी भन्छन्, ‘यहाँ बसेर चिया बेच्न पाउँदा जति रमाइलो मलाई केही गर्दा पनि लाग्दैन ।’


चार्टर्ड एकाउन्टेन्ट (सीए) बनाउन भनेर नौ वर्षको उमेरमा रूपेशको परिवारले उनलाई काठमाडौंमा पढाउन थाल्यो । पढाइमा तेज उनले उच्च अंक ल्याएर गएको वर्ष बानेश्वरको ग्लोबल कलेजबाट १२ कक्षा उत्तीर्ण गरे पनि । चाहेको भए उनलाई सीए पढ्न कुनै बाधा पनि थिएन । तर, उनी जनकपुर फिरे, नेपालकै पुरानो सरकारी क्याम्पसमध्येको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा स्नातकमा भर्ना भए । सँगै ‘मट्कावाला चाय’ बेच्न सुरु गरे ।


‘मलाई आफ्नै ठाउँको माया लागेर आयो,’ उनी भन्छन्, ‘आफ्नै व्यवसाय गर्छु भन्ने त मेरो सानैदेखिको इच्छा हो ।’ ‘फुड फ्याक्ट्री’ नाम दिएर चलाएको उनको यो दोकानमा चिया मात्रै नभएर म:म, चाउमिन र अरू परिकार पनि बेचिन्छ । तर, यसलाई चिनाउने काम भने अचम्मको मीठो लाग्ने उही चियाले नै गरेको छ, जसको ‘रेसिपी’ रूपेश कसैलाई भन्न चाहँदैनन् । चियाको बास्नामा नरिवल, छोगडा र कुराउनी मिसिएको घोलजस्तो लाग्ने उनको ‘मट्कावाला चाय’ अन्यत्र पाइनेभन्दा भिन्न छ ।


पढेलेखेका युवाहरू गाउँ छाडेर सदरमुकाम, सदरमुकाम छाडेर काठमाडौं, अनि काठमाडौं छाडेर लन्डन–पेरिस पुग्ने होड चलिरहेका बेला घर फर्केर सरकारी क्याम्पसमा पढ्दै मान्छेले बिर्सिन लागिसकेको माटाको भाँडामा नयाँ स्वादको चिया बेच्ने काम थालेका रूपेशको उत्साहले आम्दानी र प्रशंसा दुवै बटुल्दै छ ।


स्वाददेखि व्यवहारसम्ममा नयाँपन दिन खोजेका छन् उनले । चिया खाइसकेपछि फाल्नुपर्ने मट्कालाई रूपेशले सम्झनाको सेतुमा परिणत गरिदिएका छन् । पहिलोपटक आउने ग्राहकले चिया रित्याइसकेपछि त्यो प्यालामा उसलाई आफ्नो हस्ताक्षर र अनुभूतिका केही शब्द लेख्न लगाउँछन् । अनि त्यसलाई अघिल्तिरको बाँसको तखतामा हार मिलाएर राख्छन् । यसरी उनले थुप्रै मट्कालाई जतनले राखिरहेका छन्, जसमा प्रदेशका सांसददेखि मन्त्रीसम्मका हस्ताक्षर पनि छन् ।


‘आजै मात्र पनि हाम्रो प्रदेशका कानुनमन्त्री ज्ञानेन्द्र यादव आउनुभयो र चिया पिएपछि खुसी हुँदै मट्कामा हस्ताक्षर गरेर जानुभयो,’ रूपेशले सुनाए, ‘मन्त्रीज्यूलाई चियाको स्वाद र मट्का सम्हालेर राख्ने दुवै काइदा मन पर्‍यो रे ।’


यसरी प्रत्येक दिन बढिरहेका स्याबासीका धापहरूले रूपेश खुसी छन् । तर, दुई महिनाअघिका सुरुवाती दिनहरू यस्ता थिएनन् । वैदेशिक रोजगारीबाट फिरेका जनकपुरकै अर्का युवा प्रकाश शाहसँग मिलेर आफूसँग भएजति पैसा लगाएर सुरु गरेको व्यवसायबाट रूपेशले पहिलो दिन ठूलो आस गरेका थिए । तर, केही मानिस फाट्टफुट्ट आए । मुस्किलले तीन सय रुपैयाँको व्यापार भयो । यस्तो क्रम डेढ हप्तासम्म चली नै रह्यो ।


आफ्ना जेठा छोराछोरी दुवै डाक्टरी पढिरहेको खुसीमा रमाएकी उनकी आमा कलासोदेवी सीए पढ्ला भनेको कान्छोले चिया पसल खोलेकामा त्यसै पनि चिढिएकी थिइन् ।


‘त्यसमाथि व्यापार तीन–चार सयभन्दा माथि नउक्लेपछि मलाई पर्नुसम्म पीर पर्‍यो,’ रूपेश भन्छन्, ‘त्यतिबेला म कुनै रात पनि निदाउन सकिनँ ।’ तर यस्तो दिन लम्बिएन । दोस्रो हप्तापछि नै उनको मट्कावाला चायले पिउनेहरूको जिब्रोमा छाप छाड्न थाल्यो । विस्तारै मानिसहरू आउन थाले र उनको चर्चा बढ्न थाल्यो ।


अचेल औसतमा दिनहुँ ६ हजार व्यापार हुन थालेको छ, जसको ४० प्रतिशतसम्म उनलाई मुनाफा हुन्छ । खोजखाज गरेर जम्माजम्मी २० लाखमा सुरु गरेको व्यवसायको आधा पैसा हालेका रूपेश आउने दिनहरूमा मट्कावाला चायको व्यापार बढ्ने देख्छन् । यही गतिमा व्यापार बढ्यो भने नेपालमै अवसर र सम्भावनाहरू छन् भन्ने उदाहरण अरू धेरै युवालाई दिन सक्छु भन्ने विश्वास उनलाई छ । ‘जागिर खायो भने अरू कसैले पाउने कामको अवसर मैले खोसेजस्तो हुन्छ, व्यवसाय गरेँ भने अरूलाई पनि मैले रोजगारीको मौका दिइरहेको हुन्छु,’ उनी भन्छन्, ‘यही सोचेर मैले चिया सुरु गरेको हुँ, हेरौं कति अगाडि पुग्छु ।’


उनको दोकानले हराउन बन्द हुने अवस्थामा पुगेको परम्परागत कुम्हालेको चक्रलाई पनि फेरि घुम्ने बनाउन थालेको छ । जति धेरै चिया बिक्छ, उति धेरै यो चक्र घुमिरहनेछ । रूपेश चाहन्छन्, धेरैपछि घुम्न थालेको कुम्हालेको यो चक्र कहिल्यै नरोक्किने गरी बेतोडले घुमिरहोस् ।

प्रकाशित : फाल्गुन २१, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?