१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बेइजिङबाट राजदूत फिर्ताको कारण ‘औचित्यहीन’ : पूर्वराजदूत मास्के

‘राम्रो काम गर्नेलाई पनि फर्काइने नकारात्मक नजिर स्थापित’
देवेन्द्र भट्टराई

काठमाडौँ — पूर्वराजदूत डा.महेशकुमार मास्केले चीनका लागि राजदूत रहेका लीलामणि पौडेललाई ‘कुनै कारबाहीका भागिदार झैं’ १५ दिनको म्याद तोकेर फिर्ता बोलाइएको खबरले आफू अचम्मित भएको बताएका छन् ।

बेइजिङबाट राजदूत फिर्ताको कारण ‘औचित्यहीन’ : पूर्वराजदूत मास्के

चीनका लागि पूर्वराजदूत मास्केले पौड्याललाई फिर्ता बोलाउने निर्णयले ‘राम्रो काम गरिरहेका राजदूतहरुलाई पनि समय नपुग्दै फिर्ता बोलाउने नजिर स्थापित भएको’ प्रतिक्रिया दिँदै ‘यसले नेपालको अर्न्तराष्ट्रिय छविमा दूरगामी नकारात्मक प्रभाव पर्ने’ जनाएका छन् । ‘राजदूत पौड्याललाई फिर्ता बोलाउनाको कारण भनेर परराष्ट्र मन्त्रीले जेजस्तो कारण दिएका छन्, त्यो औचित्यहीन देखिन्छ,’ पूर्व राजदूत डा.मास्केले भने, ‘बेइजिङमा राजनीतिक व्यक्तित्वलाई नै पठाउनुपर्ने थियो भने पनि केही महिनापछि हालका राजदूतको कार्यकाल सकिंदै थियो, केही समय पर्खन सकिन्थ्यो होला । तर, औचित्यबिनाको कारण देखाएर फर्काइएको छ ।’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रालय सोमबार आयोजित पत्रकार भेटघाटमा ‘सम्भव भएसम्म छिमेकी मुलुकहरुमा उच्च तहको राजनीतिक प्रतिनिधित्व गराउनु उपयुक्त हुन्छ जसले हामीलाई काम गर्नको लागि सजिलो हुन्छ । खास यसको प्रयोजन यही मात्र हो’ भन्दै राजदूत पौडेल फर्काउनाको कारण पुष्टि गर्न खोजेका थिए । ज्ञवालीले ‘राजदूत पौडेलको कार्यसम्पादन र निष्ठामाथि कतै प्रश्न उठाएको छैन’ भन्दै ‘तर राजनीतिक तहबाट प्रतिनिधित्व गर्दा चाहिँ दुई मुलुकबीचको कतिपय राजनीतिक सम्बन्ध सहज हुने भएकोले’ फिर्ता गरिएको जिकिर गरेका थिए ।

‘जुन राजदूतको पालामा दुवै देशका राष्ट्रपति, नेपालका प्रधानमन्त्री र अन्य उच्चस्तरीय नेतृत्वको भ्रमण सम्पन्न भएको छ । र, कैंयौं महत्वपूर्ण सम्झौता र समझदारी पत्रमा हस्ताक्षर सम्भव भएको छ,’मास्केले भने, ‘अब राजदूत हुने कुनै राजनैतिक व्यक्तिबाट के अपेक्षा गरिएको हो, मैले बुझ्न सकेको छैन ।’ मास्के सन् २०१२ जनवरीदेखि झण्डै साढे ४ वर्ष बेइजिङमा राजदूत थिए ।

यसैगरी, चीनका लागि अर्का पूर्वराजदूत टंक कार्कीले ‘सरकारको आफ्नो सुविधा र अनुकूल स्थितिअनुरूप यस्तो निर्णय यदाकदा आउन सक्ने’ भन्दै राजदूत पौड्याल फिर्ताको निर्णयलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउँछन् । ‘लीलामणिजी कार्यसम्पादनका आधारमा योग्य राजदूत हुनुहुन्छ, उहाँका बारेमा होस्ट–कन्ट्री चीनबाट पनि कुनै प्रकारको गुनासो आएको थाहा छैन,’ उनले भने, ‘राजनीतिक सम्बन्धको महत्त्व राख्ने खासखास मुलुकमा राजनीतिक तहका पात्र (राजदूत) बढी प्रभावकारी हुन सक्छन्, यो सहज र स्वाभाविक कुरा हो ।’ चिनियाँहरूले ‘सो कल्ड’ राजनीतिक रङ रहेको व्यक्तिको सामीप्यता त्यति मन नपराउने भए पनि ‘सत्तामा यस्तो यदाकदा हुने’ उनले बताए ।

किन फिर्ता बोलाइए लीलामणि ?

अर्का पूर्व परराष्ट्र सचिव एवं राष्ट्रसंघका लागि पूर्व स्थायी प्रतिनिधि रहेका मधुरमण आचार्यले ट्वीटमार्फत बेइजिङका राजदूत पौडेलको घरफिर्तीबारे टिप्पणी गर्दै भनेका छन्, ‘राजदूतमा सरकारको खास गरेर प्रधानमन्त्रीको विश्वास र भरोसा रहनु अत्यावश्यक हुन्छ । त्यस्तो विश्वास र भरोसा गुमेपछि सरकारले जुनसुकै बेलामा फिर्ता बोलाउन सक्छ । तर, यस्तो निर्णयमा कार्यसम्पादनभन्दा राजनीतिक पूर्वाग्रह र गुटउपगुटको खेल भने दूर्भाग्यपूर्ण हो ।’

४ वर्षे कार्यकाल पूरा हुन ८ महिना बाँकी रहेका राजदूत पौड्यालले भने सरकारले फिर्ता हुन भने पनि ‘के किन’ भन्ने प्रश्न नगरी तत्काल घर फर्कने तयारीमा रहेको प्रतिक्रिया दिए । ‘एउटा राजदूत जहिल्यै ब्याग–प्याक अवस्थामा रहेको हुन्छ, म तत्कालै घर फर्कने तयारीमा छु,’ पौडेलले कान्तिपुरसँग भने, ‘फिर्ता आउनु भनेपछि के, किन भन्ने प्रश्नै आउँदैन । मैले आफ्नो ३ वर्ष ४ महिना लामो कार्यावधिमा गरेका र गर्न चाहेका कामहरु स्पष्ट छन्, म यसबारे केही भन्न चाहन्नँ ।’

प्रकाशित : फाल्गुन २१, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?