राष्ट्रिय सभाका दुई वर्ष ‘कभी खुसी कभी गम’ : सांसद ओली 

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभाका दुई वर्ष सुख र दुःखमा बितेको सांसद कमलाकुमारी ओलीले बताएकी छन् । राष्ट्रिय सभा सदस्यका रूपमा दुई वर्षे कार्यकाल पूरा गरेर संसदबाट मंगलबारबाट बाहिरिन लागेकी उनले आफ्ना अनुभव सुनाउने क्रममा राष्ट्रिय सभाको बैठकमा भनिन्, 'यी दुई वर्ष मेरा लागि हिन्दी फिल्म 'कभी खुसी कभी गम' का जस्तै भए ।'

राष्ट्रिय सभाका दुई वर्ष ‘कभी खुसी कभी गम’ : सांसद ओली 

कैलाली स्थायी घर भएकी ओलीले यी दुई वर्षमा आफ्‍ना बुबाको निधन भएको, तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको निधन भएकोलाई दुःखका रूपमा व्याख्या गरिन् भने कैलाली क्षेत्र नम्बर १ को संसदीय क्षेत्र विकास कोषको रकम विनियोजन, छोरीको विवाहलगायतका घटनालाई खुसीका रूपमा अर्थ्याइन् ।

राष्ट्रिय सभा सदस्यका रूपमा सधैं स्थानीय तह र प्रदेश सरकारलाई बलियो बनाउने विषयमा काम गरिएको ओलीको भनाइ थियो । उनले संसदबाट बाहिरिन लागेकोबारे भनिन्, 'हाम्रो जीवन अस्थायी छ, त्यस्तै पद र समय पनि स्थायी छैन ।'

जिम्मेवारी पाउँदा पारदर्शी रूपमा काम गर्नुपर्ने उनको भनाइ थियो । 'यो ठाउँ स्थायी हो, पात्र बदलिइरहन्छन् । जब ठाउँ पाउँछौँ त्यो बेला कति के गर्‍यौं भन्ने आम जनताले बुझ्ने कुरा हो,' उनले भनिन् ।

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरी जेलमा रहेकाले उक्त क्षेत्रका जनता अभिभावकविहीन भएको ओलीको भनाइ थियो । उनले सरकारलाई आग्रह गरिन्, 'थारु समुदायले आन्दोलन गर्न लागेका छन् । थारु र पहाडी भनेर अलग गर्नु हुँदैन । सरकारले रेशम चौधरीबारे सत्यतथ्य पत्ता लगाउनुपर्छ ।'

अर्थमन्त्री युवराज खतिवडालाई बजेट विनियोजनमा सांसदहरूबीच विभेद नगर्न पनि उनले आग्रह गरिन् । उनले भनिन्, 'अर्थमन्त्रीलाई अनुरोध गर्छु, सांसदहरूबीच बजेट विनियोजनमा नगर्नुहोला । सबै सांसदले आफ्नो क्षेत्रमा केही गर्ने सोचेर आएका हुन्छन् । अब आउने बजेटमा विभेद हुनु हुँदैन ।'


दुई वर्षे कार्यकाल कामका हिसाबले राम्रो रहेको ओलीको समीक्षा थियो । आजबाट १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदैछ ।

प्रकाशित : फाल्गुन २०, २०७६ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?