प्रधानमन्‍त्री शिक्षण अस्पतालको क्याबिन ६०१ मा

अतुल मिश्र, स्वरूप आचार्य

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन त्रिवि शिक्षण अस्पतालको ‘एनएक्स–२’ को क्याबिन ६०१ मा सोमबार साँझ भर्ना भएका छन् ।  

प्रधानमन्‍त्री शिक्षण अस्पतालको क्याबिन ६०१ मा

अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्रीको प्रत्यारोपण र त्यसपछिको उपचार टोलीमा डा. प्रेम ज्ञवाली, डा. उत्तम शर्मा, डा. दिव्यासिंह शाह, डा. पवन चालिसे, डा. सुमन चापागाईं, डा. सुवास आचार्यलगायत छन् । डा. ज्ञवालीको नेतृत्वमा प्रत्यारोपण शल्यक्रिया हुन लागेको हो । अन्य विभिन्न विभागका विशेषज्ञ चिकित्सकलाई समेत प्रधानमन्त्रीको प्रत्यारोपणअन्तर्गत जुनसुकै बेला उपस्थित हुने गरी तम्तयार भएर बस्न भनिएको छ ।


ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने पूर्वनिर्धारित तालिकाअनुसार हाल अस्पतालले विभिन्न चिकित्सकीय प्रक्रिया अगाडि बढाइरहेको छ । अस्पतालमा हरेक बुधबार नियमित मिर्गौला प्रत्यारोपण हुने गरेको छ । प्रधानमन्त्रीको प्रत्यारोपणमा दुई जना भारतीय चिकित्सकले समेत सघाउनेछन् ।


डा. अनन्त कुमारले १३ वर्षअघि भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका थिए । उनले नेपाल मेडिकल काउन्सिलमा शल्यक्रियाबारे अनुमति लिन निवेदनसमेत दिएका छन् । काउन्सिल स्रोतले यसबारे मंगलबार निर्णय हुने जनाएको छ ।


प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले पनि दोस्रो प्रत्यारोपणमा पहिलो प्रत्यारोपण गरेका भारतीय चिकित्सकलाई परामर्शदाताका रूपमा संलग्न गरिएको पुष्टि गरेका छन् । यद्यपि उनले ती चिकित्सक काठमाडौं आइपुगे/नपुगेकोबारे उपचारमा संलग्न चिकित्सक टोलीले मात्रै बताउन सक्ने बताए ।


डा. अनन्त कुमारको मिर्गौला रोग तथा मिर्गौला प्रत्यारोपणमा ३५ वर्षको अनुभव छ । नयाँदिल्लीस्थित म्याक्स अस्पतालको युरो–अंकोलोजी, रोबोटिक तथा मिर्गौला प्रत्यारोपणको निर्देशकका रूपमा कार्यरत उनी भारतमा रोबोटिक र ल्याप्रोस्कोपिक विधिबाट गरिने शल्यक्रियामा विज्ञका रूपमा परिचित छन् । म्याक्स अस्पतालमा आबद्ध हुनुपूर्व उनी दिल्लीकै अपोलो तथा फोटिर्स अस्पतालमा कार्यरत थिए । उनले पछिल्लो पाँच वर्षभित्र ५ सयभन्दा बढी रोबोटिक सर्जरी गरिसकेका छन् भने ३० वर्षयता ३ हजार ५ सयभन्दा बढी मिर्गौला प्रत्यारोपण गरेका छन् । यस्तै २ हजार २ सय ल्याप्रोस्कोपी शल्यक्रिया गरेर मिर्गौला दाताबाट मिर्गौला झिकेका छन् । बाँकी प्रधानमन्त्रीको प्रत्यारोपणअघि गर्नुपर्ने विभिन्न परीक्षणका लागि सोमबार भर्ना गरिए पनि उनी ढिलो आएकाले यस्ता परीक्षण अबेर राति वा मंगलबार हुनसक्ने डा. खड्काले बताए । प्रत्यारोपणअघि एकपटक ‘डायलसिस’ समेत गरिनेछ । हाल उनलाई ‘इम्युनो सप्रेसिभ’ औषधि दिन थालिएको छ । प्रत्यारोपण गर्ने दिनसम्म यो औषधिले गर्दा कुनै संक्रमण आदि नदेखिए प्रधानमन्त्रीको निर्धारित समयमै प्रत्यारोपण गरिनेछ ।


हाल प्रधानमन्त्रीको शरीरमा दुईवटा आफ्नै र एउटा दाताको गरी तीनवटा मिर्गौला छन् । बुधबारको प्रत्यारोपणपछि उनको शरीरमा चारवटा मिर्गौला हुनेछन् । ‘पहिले प्रत्यारोपण गरेको भागमा दुईवटा मिर्गौला भएकाले अर्कोतर्फ नयाँ मिर्गौला थपिनेछ,’ प्रत्यारोपणमा संलग्न हुने चिकित्सकले भने, ‘समस्या नभएसम्म पुरानो वा नयाँ मिर्गौला झिकिँदैन । क्रिएटिनिनको मात्रा घटाउन लगायतका लागि हामीले प्रत्यारोपणअघि एकपटक डायलसिस गर्नेछौं ।’


प्रधानमन्त्री ओलीले मुलुककै अस्पताल र विशेषज्ञलाई पत्याएर विश्वमै नेपालको मिर्गौला प्रत्यारोपण अन्तर्राष्ट्रियस्तरको रहेको सन्देश दिएको चिकित्सकहरू बताउँछन् । प्रधानमन्त्रीको यो निर्णयले नेपाली चिकित्सा क्षेत्रमा कार्यरतहरूको ‘मोरल’ बढेको समेत उनीहरूले बताए । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले भने, ‘जो व्यक्ति सिंगापुर दिल्ली, जापान, अमेरिका जान सक्छ, उसले र उसका परिवारले जटिल शल्यक्रियाका लागि आफ्नै देशका विज्ञलाई पत्याउँदा अन्तर्राष्ट्रियस्तरमै नेपालको चिकित्सा क्षेत्रबारे सकारात्मक सन्देश गएको छ ।

प्रकाशित : फाल्गुन २०, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?