१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गाँजा खेतीलाई कानुनी मान्यता दिऔं, किसानलाई धनी बनाऔं : सांसद तामाङ

जयसिंह महरा

काठमाडौँ — नेकपाका सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई कानुनी मान्यता दिएर रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् । उनले सोमबार प्रतिनिधिसभाको विधेयक शाखामा 'गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक' दर्ता गराउँदै गाँजामा औषधीय गुण रहेकाले यसको खेतीलाई व्यावसायिक बनाउनु पर्ने माग राखेका हुन् ।  

गाँजा खेतीलाई कानुनी मान्यता दिऔं, किसानलाई धनी बनाऔं : सांसद तामाङ

विश्व स्वास्थ्य संगठनले पनि खुला गर्न लागेको बताउँदै सांसद तामाङले नेपालको गाँजाको गुणस्तर अन्य मुलुकको भन्दा उच्च स्तरको रहेकाले यसलाई व्यावसायिक मान्यता दिनुपर्ने माग तामाङले राखेका छन् ।

तामाङले विधेयक दर्ता गर्दै गाँजा खेतीलाई कानुनी मान्यता दिँदाका विभिन्न फाइदाहरु उल्लेख गरेका छन् । उनले विधेयकको उद्देश्य र कारणमा लेखेका छन्, 'गाँजाको उपयोग औषधि निर्माण तथा यसको बोक्राको रेसाबाट कपडालगायतका सामग्रीको उत्पादन गर्न सकिने र डाँठको फर्निचर बोर्ड तथा इँटासमेतका लागि उपयोगी हुन सक्ने गुण रहेको छ ।'

सांसद तामाङले गाँजा खेतीबाट हरियाली वातावरण संरक्षण हुने र यसले जलवायु परिवर्तनलाई समेत न्यूनीकरण गर्ने बताएका छन् ।अमेरिका र क्यानडाका केही राज्यमा गाँजा खेतीलाई कानुनी मान्यता पाएको बताउँदै नेपालले पनि यसको व्यावसायकीकरण गर्नुपर्ने उनले बताए ।

गाँजालाई व्यवस्थान र बिक्री गर्न एउटा बोर्ड गठन गर्नुपर्ने र विद्यालय लगतायतका क्षेत्रभन्दा १ किलोमिटर टाढा मात्रै यो खेती गर्न दिने व्यवस्था तामाङले दर्ता गरेको विधेयकमा उल्लेख छ ।

विधेयक पास भएर गाँजा खेती सुरु भए नेपालले आर्थिक उन्नति गर्ने पनि उनले बताए । 'यो विधेयक पास भएर गाँजा खेती सुरु भए नेपालको बजेट ६० खर्बसम्म हुने आँकलन गरकेा छौँ । यो नेपालको महत्वपूर्ण राष्ट्रिय उत्पादन भएकाले यसको खेती खुला गर्नुपर्ने हाम्रो तर्क हो,' तामाङले भने ।

गाँजालाई लागुऔषधको रुपमा भने लिन नहुने उल्लेख गर्दै तामाङले भने, 'यसलाई ड्रगको रूपमा लिन सकिन्न । त्यसो त चिनी, चुरोट, रक्सी खाएर पनि मान्छेको मृत्यु भएको हुन्छ त्यसलाई रोक लगाइएको छैन ।'

गाँजा उत्पादन गरेर विदेशमा बेचेर पैसा कमाउनुपर्ने पनि तामाङले बताए । नेपालभित्र भने आन्तरिक बिक्री वितरण चिकित्सकको सल्लाहमा मात्रै हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

यसअघि विरोध खतिवडालगायत ४५ भन्दा बढी सांसदहरूले गाँजा खेती खुला गर्नुपर्ने भनेर विशेष सार्वजनिक महत्वको प्रस्ताव संसद्‍मा दर्ता गराएको उल्लेख गर्दै सांसद तामाङले सबै दलहरूको सहमति रहेको बताए ।

गाँजासम्बन्धी विधेयक पारित भएपछि आम नेपाली किसान धनी हुने बताउँदै तामाङले भने, 'हामीले आफ्नै उत्पादनबाट नेपाली किसानलाई धनी बनाउन यो विधेयक ल्याएका हौं ।'

गाँजा खेती सुरु गरे विदेश गएका ८० प्रतिशत नेपाली स्वदेश फर्केर यसको खेतीमा लाग्ने पनि तामाङले दाबी गरे । त्यसपछि परिवारबाट छुट्टिने अवस्थाको अन्त्य हुने र नेपालमा विदेशी पर्यटक ल्याउन पनि यसले भूमिका खेल्ने तामाङले बताए ।

सांसद तामाङले दर्ता गराएको गाँजा खेती व्यवस्थापनसम्बन्धी विधेयकको पूर्ण पाठ


प्रकाशित : फाल्गुन १९, २०७६ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?