कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जसले दिँदैछिन् प्रधानमन्त्रीलाई मिर्गौला

झापाकी ३२ वर्षीया उनी ओलीलाई यसअघि मिर्गौला दान गर्ने भाइबुहारी अन्जान घिमिरेकी भान्जी हुन् । यस नाताले उनी प्रधानमन्त्रीकी पनि ‘भान्जी’ नै पर्छिन् । ओलीलाई उनको मिर्गौला प्रत्यारोपण गर्ने टुंगो मंसिरको दोस्रो साता नै लागेको थियो । 

काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा अघिल्लो आइतबार छुट्टै रौनक थियो । फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन परेकाले प्रधानमन्त्री सचिवालयका सदस्यहरू भेला भएका थिए । उनलाई जन्मदिनको शुभकामना दिँदै सानो केक पनि काटेका थिए ।

जसले दिँदैछिन् प्रधानमन्त्रीलाई मिर्गौला

प्रधानमन्त्री निवासमा प्रायः देखिइरहने एक महिला पनि त्यहाँ उपस्थित थिइन् । केही समययता प्रधानमन्त्री निवासमा बाक्लै आउजाउ गरिरहेकी ती महिला नातेदार हुन् भन्नेबाहेक सचिवालयमै कार्यरत धेरैलाई उनको परिचय थाहा थिएन ।

त्यस दिन भने प्रधानमन्त्री ओली आफैंले ती महिलाको परिचय गराए । सचिवालयका उपस्थित सदस्यहरूलाई ओलीले भने, ‘मलाई मिर्गौला दिने उनी नै हुन् ।’

प्रधानमन्त्रीले सचिवालयका सदस्यहरूलाई मिर्गौला दाताका रूपमा चिनाइएकी ३२ वर्षीया ती महिला झापाकी हुन् । नातामा उनी ओलीकी ‘भान्जी’ पर्छिन् । नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा लगभग १३ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले अस्वीकार गरेसँगै प्रधानमन्त्री ओली नयाँ प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेका थिए । त्यसपछि सम्भावित दाता खोज्न थालिएको थियो । त्यसक्रममा प्रधानमन्त्री ओलीको ससुरालीतर्फबाट नाता पर्ने एकजना र घरतर्फबाट नाता पर्ने अर्को गरी दुई महिलाको विस्तृत स्वास्थ्य परीक्षण गरिएको थियो  ।

ससुरालीतर्फ नाता पर्ने ललितपुरकी महिला ५० वर्ष उमेर कटेकी र उनको मिर्गौलामा पनि केही समस्या देखिएकाले घरतर्फबाट नाता पर्ने झापाकी महिलाबाट मिर्गौला लिने निष्कर्षमा चिकित्सकहरू पुगेका हुन् । झापा, चारआलीकी ३२ वर्षीया ती महिला पहिले ओलीलाई मिर्गौला दिने अन्जान घिमिरेकी भान्जी हुन् । त्यस हिसाबले उनी प्रधानमन्त्रीकी पनि ‘भान्जी’ नाता पर्ने पारिवारिक स्रोतहरूको भनाइ छ । अन्जान प्रधानमन्त्री ओलीकी भाइबुहारी हुन् । ओलीका भाइ तारा ओलीकी श्रीमती उनी राष्ट्रपति कार्यालयमा कार्यरत छिन् ।


स्रोतका अनुसार भान्जी पर्ने महिलाको दाहिनेतर्फको ‘१०.२ बाई ३.८ सीएम’ आकार रहेको मिर्गौला झिकेर प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिनेछ । उनको देब्रेतर्फको मिर्गौलामा निकै मसिना सिस्ट (फोका) देखिएकाले दाहिने मिर्गौला प्रधानमन्त्रीका लागि उपयुक्त हुने निष्कर्षमा चिकित्सकहरू पुगेको स्रोतको दाबी छ ।

दाता महिलाको गतसाता नै सबै शारीरिक परीक्षणहरू सकिएको छ । उनको र प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था प्रत्यारोपणका लागि अनुकूल रहेकाले चिकित्सक टोली बुधबारै प्रत्यारोपण गर्ने निर्णयमा पुगेको हो ।

चिकित्सकहरू गत मंसिर अन्तिमतिर नै प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने तयारीमा जुटेका थिए । तर एपेन्डिसाइटिस र पेरिटोनाइटिसको समस्याका कारण आकस्मिक रूपमा ल्यापरोटोमी नै गर्नुपरेपछि प्रत्यारोपणको मिति धकेलिएर अहिले आइपुगेको हो । यसबीचमा ओलीको प्रत्येक साता नियमित डायलसिस गर्ने गरिएको थियो । डायलसिस गर्दै ओली आफ्नो नियमित काममा जुटिरहेका थिए । डायलसिस र नियमित परीक्षणका लागि ओली त्रिवि शिक्षण अस्पताल गइरहन्थे । त्यस क्रममा उनले अहिलेकै अवस्थामा मिर्गौला प्रत्यारोपण गरे सफल हुने सम्भावना कति रहन्छ भनेर सोधिरहने गरेको स्रोतले बतायो ।

डाक्टरहरूको भनाइ उद्धृत गर्दै ओलीले आफ्ना निकटस्थहरूलाई ‘अहिलेकै स्वास्थ्य अवस्थालाई हेरेर मिर्गौला प्रत्यारोपण गर्दा सफल हुने सम्भावना ९८ प्रतिशत रहेको’ बताउँथे । चिकित्सकहरूको यही सल्लाहका कारण ओली प्रत्यारोपण गर्न निश्चिन्त बनेका हुन् । उनले प्रत्यारोपण गर्नमा कुनै जटिलता नरहेको भन्दै सार्वजनिक मञ्चहरूबाटै पनि भन्दै आएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान नेकपाको सचिवालय बैठकमा बुधबार मिर्गौला प्रत्यारोपण गर्न लागेको जानकारी गराएका थिए । २० मिनेट चलेको सचिवालय बैठकमा ओलीले आफ्नो स्वास्थ्यस्थिति र प्रत्यारोपण योजनाबारे सुनाएका थिए ।


सचिवालय बैठक बस्नुअघि पनि ओली स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका थिए । बैठकमा ओलीले आफ्नो शल्यक्रिया त्रिवि शिक्षण अस्पतालमा हुने र त्यसका लागि आवश्यक तयारीका सबै काम पूरा भएको जानकारी गराएका थिए । बैठक बस्नुअघि ओलीले नेकपाका केही नेताहरूसँग छलफल पनि गरेका थिए ।

छलफलमा पनि उनले आफ्नो उपचारबारे कुराकानी गरेको ती नेताहरूले बताए । ‘अब म मिर्गौला प्रत्यारोपण गर्न जान्छु,’ ती भेटहरूमा ओलीले भने, ‘जनताको शुभकामना र आशीर्वाद छ, पाँचौं दिनमा निको भइहाल्छु, चिन्ता नगर्नुस् ।’

साँझ उनले मन्त्रिपरिषद् बैठक राखे । त्यहाँ मन्त्रीहरूलाई आफूले ‘भान्जी’ बाट मिर्गौला लिएर प्रत्यारोपण गर्न लागेको जानकारी दिए । सचिवालय बैठकपछि ओली दिनभर अनौपचारिक भेटघाट र छलफलमा व्यस्त रहे । आफ्ना सचिवालयका कर्मचारीहरूसँग आगामी दिनमा गर्नैपर्ने कामहरूबारे रिपोर्टिङ लिए र आवश्यक निर्देशन दिए । सामान्यतः सोमबार बोलाइने मन्त्रिपरिषद् बैठक उनले आइतबार नै बोलाए ।

५ बजेका लागि बोलाइएको बैठक साढे ६ बजेमात्रै सुरु भएको थियो । त्यसअघि उनले मन्त्रिपरिषद्का सदस्यसँग अनौपचारिक छलफल गरे । ‘अरू बेला मन्त्रीहरूले कुरिरहनुहुन्थ्यो, उहाँ आउनुहुन्थ्यो अनि बैठक सुरु भइहाल्थ्यो,’ आइतबारको बैठकबारे एक मन्त्रीले भने, ‘आज भने खाजाको पनि व्यवस्था थियो । हामीले झन्डै डेढ घण्टा उहाँसँग अनौपचारिक छलफल गर्‍यौं । स्वास्थ्यलाभको कामना गर्‍यौं ।’

त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकमा पनि ओलीले आफ्नो स्वास्थ्य अवस्थाको ताजा विवरण मात्रै सुनाए । ‘आज अरू धेरै विषयमा खास छलफल भएन,’ बैठकपछि एक मन्त्रीले कान्तिपुरसँग भने । उनका अनुसार ओलीले १३ वर्षअघि भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका डाक्टर आउने सम्भावना रहेको बताएका थिए । ‘बिहान पनि हस्पिटल गएर चेक गरेर आएँ, डाक्टरहरूले राम्रो हुन्छ भनेका छन्, रेस्टपछि आठ/नौ दिनमा काममा फर्किन्छु,’ ओलीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘पहिले अपोलोमा जसले प्रत्यारोपण गरेका थिए, ती डाक्टर पनि आउने सम्भावना छ ।’


अंगदानको प्रावधान के छ ?

नेपालको कानुनअनुसार आफ्नो नजिकको नातेदारबाट सहमतिमा अंगदान लिन सकिन्छ । मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ अनुसार अंगदान गर्न मिल्ने विभिन्न ५५ किसिमका नातामा भान्जाभान्जी पनि पर्छन् ।

ऐनअनुसार ओलीले पहिलो पटक पनि आफ्नै नातेदारबाट मिर्गौला लिएका थिए । अहिले पनि नातेदारभित्रकै व्यक्तिबाट प्रत्यारोपण गराउन लागेका हुन् । ओलीको मिर्गौला बिग्रिएपछि अन्जानले मिर्गौला दिन आफैं जोडबल गरेकी थिइन् । केही महिनाअघि उनले भनेकी थिइन्, ‘सक्दो छिटो जेठाजुलाई बचाउनुपर्छ भन्ने लागेकाले मैले मिर्गौला दिएकी थिएँ ।’ अहिले पनि परिवारकै सदस्य ओलीका लागि दाता बनेकी छन् । तर व्यक्तिगत गोपनीयताका कारण उनको नाम सार्वजनिक गरिएको छैन ।

प्रकाशित : फाल्गुन १९, २०७६ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?