पेट्रोलियम पदार्थमा लगाइएको कर फिर्ता नगरे संसद अवरुद्ध गर्ने समाजवादीको चेतावनी

कान्तिपुर संवाददाता

काठमाडौँ — समाजवादी पार्टीले पेट्रोलियम पदार्थमा लगाइएको कर फिर्ता नलिए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले पूर्वाधार विकास करका नाममा सरकारले गरेको मूल्यवृद्धि फिर्ता लिनुपर्ने बताएकी हुन् ।

पेट्रोलियम पदार्थमा लगाइएको कर फिर्ता नगरे संसद अवरुद्ध गर्ने समाजवादीको चेतावनी

सरकारले अर्थतन्त्रमा भएको गिरावट लुकाउनका लागि करको दायरा बढाएर असफलता लुकाउन खोजेको सांसद गिरीको भनाइ थियो । संसदको सार्वभौमिकता मिचेर चोरबाटोबाट मन्त्रिपरिषदले कर थप्ने निर्णय गर्न नसक्ने भन्दै उनले पूर्वाधार विकास करको नाममा पेट्रोलियम पदार्थमा सतप्रतिशत कर बढाउने निर्णय गरेकोमा आपत्ति जनाइन् ।

यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बुढिगण्डकी निर्माणका लागि डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ कर लिने निर्णय गरेको र अहिले सरकारले पूर्वाधार विकास करको नाममा १० रुपैयाँ लिने निर्णय गर्नु उचित नभएको सांसद गिरीको भनाइ छ । आयल निगमले प्रदूषण कर, सडक करका नाममा उपभोक्ताबाट कर लिइरहेको उल्लेख गर्दै गिरीले सरकारले जनतालाई मूर्ख बनाएर दोहोरो कर लगाइएको बताइन् ।

फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँ पूर्वाधार विकास कर बढाउने निर्णय गरेको थियो ।

प्रकाशित : फाल्गुन १८, २०७६ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?