२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

क्वारेन्टाइनबिनै चिनियाँ कार्यक्षेत्रमा

मार्च १५ सम्म नेपालीसँग सम्पर्क नगर्न र काममा नजान आग्रह
आश गुरुङ

लमजुङ — चीनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चिनियाँ नागरिक कुनै परीक्षणबिनै लमजुङ आइपुगेका छन् । जाँच भए/नभएको, क्वारेन्टाइन बसेको वा नबसेकोबारे उनीहरूले जानकारी गराएका छैनन् ।

क्वारेन्टाइनबिनै चिनियाँ कार्यक्षेत्रमा

विश्व स्वास्थ्य संगठनले आफ्ना सदस्य राष्ट्रलाई कोरोना भाइरस (कोभिड–१९) बाट सतर्क रहन चेतावनी दिएको छ । तर, मुख्य प्रभावित देश चीनबाट आएका चिनियाँ नागरिक निर्वाध कार्यक्षेत्रमा प्रवेश गरेका हुन् ।


चीनबाट फर्काइएका नेपाली विद्यार्थीलाई १७ दिन क्वारेन्टाइनमै राख्ने निर्णय भए पनि चिनियाँ नागरिक भने त्रिभुवन विमानस्थल झरेपछि सोझै कार्यक्षेत्र लमजुङको ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनामा आएका हुन् ।

उनीहरू आएपछि आयोजनामा कार्यरत नेपाली कामदार, प्रवर्द्धक तथा स्थानीय सशंकित छन् । चिनियाँ कामदार भित्रिएपछि डरले नेपाली कामदारले निर्माण कार्य छाडेका छन् ।


चिनियाँहरू गत बुधबार राति नेपाल आएका हुन् । आठ जना कार्यक्षेत्रमा आएको र १०/१२ जना आउने क्रममा रहेको आयोजनाका एक अधिकारीले बताए । ‘उनीहरू गोन्झाउ प्रान्तबाट आएका हुन् । पाँच दिन चिनियाँ एयरपोर्टमै बसेर बोर्डिङ पास लिएर आएको बुझिएको छ,’ ती अधिकारीले भने । काठमाडौंबाट उनीहरूसँगै पाँच जना नेपाली चालक पनि आएका थिए ।


‘उनीहरू चीनबाट आए । सरकारले अन्तर्राष्ट्रिय विमानस्थलमा राम्रोसँग जाँचको व्यवस्था गरेको छैन । न क्वारेन्टाइन अनिवार्य गरेको छ,’ ती अधिकारीले भने, ‘जिल्लामा आएर स्वास्थ्य जाँच गराउनुपर्छ र क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने हाम्रो कुरा हो ।’ चिनियाँलाई स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा बसाउनका लागि जिल्ला प्रशासनलगायतमा अनुरोध गरेको उनले बताए । प्रशासनले उनीहरूको विवरण मागे पनि को आएको हो भन्ने जानकारी लिन नसकिएको ती अधिकारीले बताए ।


आयोजनाका प्रशासकीय अधिकृत वासुदेव गड्तौलाले निर्माणस्थलमा चिनियाँ कामदार आउन सुरु भए पनि उनीहरूको स्वास्थ्य परीक्षण तथा क्वारेन्टाइन बसे/नबसेको बारे जानकारी नभएको बताए । कार्यक्षेत्रमा आएका चिनियाँलाई मार्च १५ सम्म उनीहरूकै क्याम्पमा बस्न भनिएको उनले बताए । ‘बाहिर ननिस्कन, नेपालीसँग कुराकानी नगर्न र नभेट्न भनेका छौं,’ उनले भने ।


लमजुङको मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको सुरुङमा काम गर्दै कामदार । तस्बिर: आश गुरुङ/कान्तिपुर

लमजुङ जिल्ला सामुदायिक अस्पतालका निर्देशक डा. शरण लिम्बगले प्रकोप फैलिएको चीनको हुबेई प्रान्तबाट आएका चिनियाँलाई क्वारेन्टाइनमा राख्दा राम्रो हुने बताए । ‘कहीँ कतैबाट त्रुटि भएर संक्रमित भित्रिए भने गाह्रो बनाउँछ,’ उनले भने, ‘बरु सबैको राम्रोसँग स्वास्थ्य परीक्षण गर्नु र अनिवार्य क्वारेन्टाइन गराउनु राम्रो हुन्छ ।’


सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले आयोजनामा आएका चिनियाँको क्वारेन्टाइन पास गरेको सर्टिफिकेट वा उनीहरू कुन प्रान्तबाट आएका हुन् भन्ने जानकारी मागेको बताए । न्यादी आयोजनाको निर्माण कार्यमा खटिएका चिनियाँ प्राविधिक नयाँ वर्ष मनाउन दुई महिनाअघि घर गएका थिए । कोरोना फैलिएपछि चीन सरकारले आफ्ना नागरिकलाई बाहिरी देश जान प्रतिबन्ध लगाएपछि उनीहरू समयमै नफर्किएका हुन् । जनवरी ५ तारिखमा गएका उनीहरू फेब्रुअरी ५ मा फर्कने कार्यतालिका थियो ।

आयोजनाको निर्माण चिनियाँ कम्पनी च च्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनी लिमिटेडले गरिरहेको छ । निर्माणमा अगुवाइ गरिरहेका चिनियाँहरू बिदामा गएपछि नेपाली कामदारलाई पनि बिदा दिइएको थियो ।


आयोजना निर्माणमा खटिएका चिनियाँ कामदारको संख्या ६१ छ । निर्माण कम्पनीका मुख्य व्यक्ति, सुपरभाइजर, इन्जिनियरसहित प्राविधिक पक्षका व्यक्ति चीन गएकामा अहिले उनीहरू फर्किरहेका छन् । चार जनाबाहेक सबै नयाँ वर्ष मनाउन गएका थिए । तीमध्ये दुई जना चीनमा कोभिड–१९ संक्रमणको सुरु हुँदा नै फर्किएका थिए ।

प्रकाशित : फाल्गुन १७, २०७६ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?