कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मध्यावधि निर्वाचनको कुरा निराधार : गृहमन्त्री थापा

'कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्ने तयारी सकियो'
प्रतीक्षा काफ्ले

गण्डकी — गृहमन्त्री रामबहादुर थापाले मुलुक मध्यावधि निर्वाचनमा जाने भ्रम फैलाइएको बताएका छन् । गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित गण्डगी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न शनिबार पोखरा पुगेका उनले मध्यावधि निर्वाचनको हल्ला गरिएको बताएका हुन् । 

मध्यावधि निर्वाचनको कुरा निराधार : गृहमन्त्री थापा

पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर मध्यावधि निर्वाचनको आशंका उत्पन्‍न भएको थापाले बताए । ‘एमसीसी प्रकरण, नयाँ सभामुख चयन, सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा जस्ता केही सवाललाई देखाएर देश मध्यावधी निर्वाचनतर्फ जान्छ कि भन्ने विश्लेषण गरेको पाइन्छ । तर, त्यस्तो केही हुँदैन,’ उनले भने, ‘यी कुनै पनि कारणले समस्या आउँदैन ।’


सत्तारुढ नेकपाको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने भनेर गरेको निर्णय मन्त्रिपरिषद्ले कार्यान्वयन गर्ने मन्त्री थापाले बताए । नेकपाभित्र विवाद नरहेको उनको दाबी थियो । उनले विवाद अनावश्यक रूपमा सिर्जना गराइएको दाबी गरेका थिए ।

मुलुक आर्थिक समृद्धितर्फ गइरहेको मन्त्री थापाले बताए । आयात प्रतिस्थापन हुँदै र निर्यात बढ्दै गएको उनको भनाइ थियो । गतवर्ष ७.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएको भन्दै उनले यसपाली कोरोना भाइरसका कारण केही समस्या देखिएपनि ८ प्रतिशत आर्थिक वृद्धिदर कायम हुने दाबी गरे ।

७ प्रतिशतभन्दा धेरै आर्थिक वृद्धिदर विश्वका कम मात्र देशमा भइरहेको उनले दाबी गरे । विकास र समृद्धिको यात्रामा मुलुक सकारात्मक ढंगले अगाडि बढेको उनको तर्क थियो । मन्त्री थापाले नेपालले सम्पूर्ण भूमि समेटेर छिट्टै नक्सा सार्वजनिक गर्ने तयारी भइरहेको बताए । कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर भारतले आफ्नो राजनीतिक नक्सा निकालेपछि उक्त भूमि समेटेर नेपालले पनि छिट्टै नयाँ नक्सा सार्वजनिक गर्नुपर्ने आवाज उठिरहेको बताउँदै उनले भने, ‘ती भूमि समेटेर नक्सा निकाल्ने सबै तयारी पुरा भएको छ ।’

नेपाली भूमि फिर्ताका लागि नेपालले कुटनीतिक पहल जारी राखिएको उनले बताए । ‘सरकारले हाम्रो भूमि फिर्ता गर्नका लागि कूटनीतिक लविङ गरिरहेको छ,’ उनले भने, ‘सचिवस्तरीय टोलीले त्यो काम गरिरहेको छ । हाम्रो तर्फबाट नक्सा छाप्ने प्राविधिक काम सबै पुरा भएको छ । अब नक्सा निकाल्ने अन्तिम तयारी छ । छिट्टै हाम्रो भूमि समेटेर नक्सा सार्वजनिक गर्छौं ।’


नेकपा नेतृत्वको सरकार गठन भएपछि मुलुकमा सुशासन कायम भएको थापाको दाबी थियो । विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाले नेपालमा सुशासन कायम भएको प्रतिक्रिया दिएको उनले बताए । ‘मैले दाबी गरेको या सरकारले मात्र यसो भनेको होइन,’ उनले भने । नेपालको तर्फबाट सिमामा सुरक्षा चेक पोष्ट बढाउने काम भइरहेको बताउँदै उनले गत वर्षमात्र ८७ वटा चेक पोष्टबाट बढाएर १०४ पुर्‍याइएको र यसवर्ष दोब्बर स्थापना गर्ने कामको थालनी भइसकेको बताए । दक्षिण र उत्तर दुवैतर्फ चेकपोष्ट स्थापना गरिने उनको भनाई छ ।

प्रकाशित : फाल्गुन १७, २०७६ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?