कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

१०० दिनमा २०० किलोमिटर सडक कालोपत्रे गरेको मन्त्री नेम्वाङको दाबी

कान्तिपुर संवाददाता

काठमाडौँ — बसन्तकुमार नेम्वाङले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी सम्हालेपछिका १०० दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् । 

१०० दिनमा २०० किलोमिटर सडक कालोपत्रे गरेको मन्त्री नेम्वाङको दाबी

शनिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी नेम्वाङले १०० दिनमा उपत्यकाभित्र रहेका सडकका ९ हजार ५ सय खल्डाखुल्डी पुर्ने कार्य भएको बताए । सडकहरू खाल्डाखुल्डी र धुलोरहित बनाउने योजना अन्तर्गत यी काम गरिएकाे नेम्वाङले बताए । १०० दिनको अवधिमा मर्मतसमेत गरी उपत्यकामा २७ किलोमिटर सडक कालोपत्रे भएको उनले बताए । आर्थिक वर्षको अन्त्यसम्म थप ८५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य मन्त्रालयले लिएको नेम्वाङले बताए ।

नेम्वाङले कोटेश्वरको ट्राफिक जाम व्यवस्थापनका लागि अल्पकालीन र दिर्घकालीन समाधानका लागि मन्त्रालयले काम गरिरहेको बताए । अल्पकालीन अवस्थाका लागि चार लेनको सडक निर्माण कार्य अगाडि बढाइएको उनले बताए । सडक चौडा बनाउन दक्षिणतर्फ जग्गा प्राप्ति भइसकेको र उत्तरतर्फ जग्गा अधिग्रहणको प्रकृया सुरु भएको उनले बताए ।

मनोहरा कोरिडोरको सडकलाई समेत प्रयोगमा ल्याएर सवारी डाइभर्ट गर्ने वैकल्पिक मार्गको प्रयोग गर्ने योजना रहेको नेम्वाङले बताए । चक्रपथ अन्तर्गत पर्ने ग्वार्को चोक, सातदोबाटो चोक र नख्खु चोकमा फ्लाईओभर निर्माणका लागि डीपीआर तयारीका लागि परामर्शदाता छनोटको काम भइरहेको तथा सूर्यविनायक—धुलिखेल सडकलाई विस्तार गर्दै कोटेश्वर र जडिबुटी चोकको ट्राफिक जामलाई दीर्घकालीन रूपमा समाधान गर्न फ्लाईओभर र अन्डरपास निर्माणका लागि जापान सरकारसँग समन्वय भइरहेको उनले जानकारी दिए ।

मन्त्रालयले उपत्यकाका १७ वटा चोकहरूमा ट्राफिक बत्ति जडान गरी सञ्चालनमा ल्याएको छ । बाँकी ६ वटा चोकहरूमा असारभित्र मर्मतगरी सचालनमा ल्याउने योजना मान्त्रालयले अघि सारेको छ । त्यसैगरी पैदलयात्रुलाई सुरक्षित रूपमा बाटो काट्नका लागि रिङरोडको बालकुमारी, सातदोबाटो र एकान्तकुनामा आकासे पुल निर्माण गरिएको मन्त्रालयले जनाएको छ ।

बल्खु, सानेपा, महालक्ष्मीस्थान र बानेश्वरमा थप आकासे पुल निर्माण डिजाइन सम्पन्न भइ ठेक्का व्यवस्थापनको प्रकृयामा रहेको, चक्रपथ विस्तारको दोश्रो खण्डअन्तर्गत कलंकी—महाराजगञ्जखण्ड विस्तार कार्यको प्रारम्भिक कामहरू अन्तिम चरणमा पुगेको मन्त्री नेम्वाङले बताए । चक्रपथको तिनकुने—एयरपोर्ट—तिलगंगा सडक खण्डलाई ८ लेनमा स्तरोन्नती गर्न डीपीआर तयार भएको उनले जानकारी दिए ।

मन्त्रालयले मदन भण्डारी राजमार्ग अन्तर्गत यो अवधिमा २६ किलोमिटर सडक कालोपत्रे भएको जनाएको छ । त्यसमा ११ वटा पुल निर्माण भएका बताइएको छ । १०० को अवधिमा २०० किलोमिटर सडक कालोपत्रे भएको मन्त्री नेम्वाङले बताए ।

प्रकाशित : फाल्गुन १७, २०७६ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?