शिशु च्यापेकी महिलामाथि इन्स्पेक्टरको लाठी

जनकराज सापकोटा

काठमाडौँ — सामाजिक सञ्जालमा शुक्रबार बिहान एउटा भिडियो भाइरल भयो । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका इन्चार्जसमेत रहेका इन्स्पेक्टर देवीप्रसाद पौडेलले काखमा शिशु च्यापेर दौडिरहेकी एक महिलालाई बारम्बार लाठी प्रहार गरेको दृश्य उक्त भिडियोमा थियो । बिहीबार खिचिएको यो दृश्य भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरको कम्पाउन्डभित्रको हो । प्रहरीको कुटाइ खाने महिला हुन्, हेमा श्रेष्ठ । 

पूर्वजर्नेल खत्रीले सम्बन्ध राखेर आफूलाई श्रीमतीका रूपमा नस्विकारेको भन्दै माला शाह बिहीबार बिहानै एक हूल महिलासहित घरमा धर्ना दिन पुगेकी थिइन् । त्यतिबेला खत्री घरमा थिएनन् । उनले छोरीमार्फत घरमा तोडफोड हुन लागेको खबर पाएको भन्दै नजिकैको प्रहरी प्रभागमा खबर गरे । इन्स्पेक्टर पौडेल दुई महिला प्रहरीसहितको टोली लिएर खत्रीको घर पुगे । प्रहरीले महिलाहरूलाई हटाउन खोज्ने क्रममा विवाद सुरु भयो । त्यस क्रममा इन्स्पेक्टर पौडेलले लाठी प्रहार गरेका हुन् ।


प्रहरी परिसर ललितपुरले खत्रीको घरभित्र छिरेर तोडफोड गरेको आरोपमा चार जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । पक्राउ पर्नेमा दोलखा चरिकोट घर भई काठमाडौं बस्ने गोमा केसी, बारा निजगढ घर भई काठमाडौं रातोपुल बस्ने माला शाह, मोरङ उर्लाबारी घर भई काठमाडौं मित्रपार्क बस्ने रूपा घिसिङ र ललितपुर भैंसीपाटीकी शोभा खड्का पक्राउ परेका हुन् ।


प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षत्रीले भिडियो बाहिरिएलगत्तै प्रहरी प्रधान कार्यालयलाई फेसबुक र ट्वीटरमा ‘मेन्सन’ गर्दै व्यापक रूपमा पोस्ट भएपछि आफूहरूले यसलाई गम्भीर रूपमा लिएको बताए । ललितपुर प्रहरी परिसरका एसएसपी टेकप्रसाद राईका अनुसार घटनाबारे बुझ्न एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको छ । उनले भने, ‘टोलीले तीन दिनभित्र प्रतिवेदन बुझाएपछि के गर्ने भन्ने निष्कर्ष निकाल्छौं ।’


डिजिटल प्लेटफर्मका गतिविधि अध्ययनमा सक्रिय प्रहरी महानिरीक्षकको सचिवालयका एक सदस्यका अनुसार यो भिडियो बिहीबार सबैभन्दा पहिला रिदम अनलाइन टीभी नामक एक युट्युब च्यानलमा अपलोड भएको थियो । यही नामको टिकटक अकाउन्टमा सानो अंश राखिएपछि भने भिडियो भाइरल भएको थियो ।


पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि प्रहरीले महिलालाई निर्घात कुटेको भिडियोबारे सामाजिक सन्जाल ट्वीटरमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘मान्छे बर्दी लगाउँदैमा यति अमानवीय कसरी बन्न सक्छ । आमाले गल्ती गरिहोलिन् । तर त्यो अबोध शिशुको के गल्ती थियो ? शिशु आमाको हातबाट खसेर टाउकोमा चोट लागेको भए ? गिरफ्तार गर्नैपरे समातेर भ्यानमा हाल्न सकिन्थ्यो । ओलीराजमा सबै छोटे राजा ?’


डीआईजी थापाका अनुसार प्रहरीलाई तालिमका क्रममा बल न्यूनतम प्रयोग गर्नु भनेर सिकाइएको हुन्छ । उनले भने, ‘सकेसम्म कुटपिट नगरीकन पक्राउ गर्ने वा भीड नियन्त्रण गर्ने हो । बल प्रयोग गरियो भने पनि त्यो जस्टीफाई हुनुपर्छ ।’ उनले बिहीबारको घटनाले प्रहरीको साखमा प्रश्न उठेको जनाउँदै यस्तो विषयमा आफूहरू झनै गम्भीर हुनुपर्ने बताए ।


प्रहरी प्रधान कार्यालयले नै घटनाबारे चासो राखेपछि प्रहरी परिसर ललितपुरका एसएसपी राईले इन्स्पेक्टर पौडेललाई बोलाएर घटनाबारे सोधपुछ गरेका थिए ।


घटना कसरी भयो ?

पूर्वजर्नेल खत्री र माला शाहबीचको विवाद नयाँ होइन । आफूसँग वर्षौंदेखि सम्बन्ध राखेर पनि श्रीमतीका रूपमा स्वीकार नगरेको आरोप शाहले लगाउँदै आएकी छन् । खत्रीले भने आरोप अस्वीकार गर्दै आएका छन् ।


प्रहरी परिसर ललितपुरका अनुसार गत कात्तिक २७ गते खत्रीले आफूलाई घर नजिकैको मन्दिरमा शाहसहितका तीन महिलाले कुटपिट गरेको र मोबाइल खोसेको भन्दै प्रहरी प्रभाग बुङमतीमा जाहेरी दिएका थिए । त्यसको भोलिपल्टै अर्थात् कात्तिक २८ मा शाहले खत्रीविरुद्ध जाहेरी दिएकी थिइन् । शाहले २२ वर्षदेखि दम्पतीका रूपमा बसे पनि खत्रीले आफूलाई निकालेको भन्दै नाता प्रमाणित गराइपाउँ भनेर जाहेरी दिएकी थिइन् । परिसरका एसएसपी राईका अनुसार शाह र खत्रीबीच ६ पटक छलफल गराइएको थियो । तर दुवै पक्षले अडान नछाडेपछि प्रहरीले निष्कर्ष निकाल्न सकेको थिएन ।


‘नाता प्रमाणित प्रहरीले नगर्ने भएकाले उसले मालालाई अदालतमा जान सुझाएको थियो,’ एसएसपी राईले भने । आफूसँग खर्च नभएको र नागरिकता पनि नरहेको शाहले बताएपछि प्रहरीले उनलाई निःशुल्क कानुनी सहायता प्रदान गर्ने संस्था वा महिला आयोग जान भनेर सुझाएको पनि राईले बताए ।


एसएसपी राईका अनुसार केही दिनयता शाह आफ्ना समर्थकसहित हरेक दिनजसो पूर्वजर्नेल खत्रीको घर जाने गरेको देखिएको थियो । घर पुगेर होहल्ला गरेको भन्दै प्रत्येकपल्ट खत्रीले प्रहरी प्रभागमा बुङमतीमा खबर गर्थे । प्रहरीले शाहलाई पक्राउ गर्थ्यो । यसअघि पनि शाह होहल्ला गरेर शान्ति भंग गरेको आरोपमा पाँच पटक पक्राउ परेको र आइन्दा यस्तो नगर्ने सर्तमा कागज गरेर छुटेको प्रहरीले जनाएको छ ।


महिला आयोगको मुद्दा व्यवस्थापन अधिकृत विमला खड्काका अनुसार पीडित महिलाले न्यायको माग गर्दै आयोगमा पनि उजुरी गरेकी थिइन् । ‘आयोगले छलफलका लागि पूर्वजर्नेललाई बोलाएको थियो तर आएनन्’, उनले भनिन्, ‘उनलाई झिकाइदिन प्रहरीलाई आग्रह गरेपछि म बिरामी छु, पछि आउँछु भनेर पत्र पठाए ।’ प्रकाशित : फाल्गुन १७, २०७६ ०८:०७

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘भगवान्‌ले त हेरेनन्, सरकारबाट के आस !’

मुम्बईमा चार वर्षअघि भएको गोदाम आगलागीमा कपिलवस्तुका ७ जनाले ज्यान गुमाएका थिए । उनीहरुका परिवारले नेपाल र भारत दुवैतिरका सरकारबाट राहत त पाउन सकेनन् नै, मुद्दालाई बलियो बनाउन कतैबाट सहयोग नमिल्दा आरोपितले कारबाहीबाट उन्मुक्तिसमेत पाए ।
सुरेशराज न्यौपाने

(कपिलवस्तु/नयाँदिल्ली) — कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको सत्भरा गाउँ । गाउँका करिब दुई सय घरमध्ये आधाउधि कच्ची छन् । विकासका न्यूनतम पूर्वाधारको समेत अभाव छ । खेती किसानी यहाँको मुख्य पेसा हो तर खेतीका लागि आकासे पानीको भर पर्नुपर्छ । अधिकांश युवा बेरोजगार छन् । ऋणपान गर्न सक्ने र अलिकति खर्च जुटाउन सक्ने केही युवा मलेसिया र खाडी पुगेका छन् ।

नसक्नेहरू भारतको मुम्बई जान्छन् । चरम गरिबी भए पनि गाउँमा रहेकाहरूको मुहारमा परदेसिएका आफन्तसँग फोनमा हुने कुराकानीले बेलाबखत मुस्कान ल्याउँथ्यो । परदेशबाट आफन्त ढिलोचाँडो खुसी बोकेर घर फर्किन्छन् भन्ने आसमा बाँचेको थियो सिंगो सत्भरा गाउँ ।

२०७२ पुस १३ गते सबेरै मुम्बईबाट आएको फोनले भने यसअघि जस्तो सुखद सन्देश ल्याएन । पुसको ठिहिरोलाई छेड्दै आएको त्यो सन्देशमा अकल्पनीय दुःख मिसिएको थियो । त्यसको सार थियो– मुम्बईको भिबन्डीस्थित एउटा कबाडी काठ गोदाममा राति २ बजेतिर एकाएक आगो सल्कियो । त्यतिबेला गोदाममा काठका मुढा ओसार्ने ११ जना मजदुर मस्त निद्रामा थिए । तीमध्ये सात जना नेपाली र एक भारतीय ठाउँको ठाउँ बिते । उनीहरूको शव चिनिँदैनथ्यो । उनीहरूमध्ये सत्भराका लौटु मोराइन (३० वर्ष), भुइँधर यादव (२७ वर्ष), गौरी चौहान (२७ वर्ष) र राजु चौहान (२५ वर्ष), विक्रम रइदास (१८ वर्ष) तथा कपिलवस्तुकै बराइपुर गाउँका रामदयाल भर (३८) र निरज चौधरी (२१) थिए । यही गाउँका विनोद यादव, धिरु लोनिया र बुधे लोनियाले हाम फालेर ज्यान जोगाए । विनोदको शरीरको आधा भाग जलेको थियो ।

मुम्बईको त्यस आगलागीको ‘लप्का’ केही घण्टामै सयौं किलोमिटर परको सत्भरा र बराइपुर गाउँ पुग्यो । खबर पुग्नासाथ गाउँमा कोलाहल मच्चियो । आफन्त गुमाएकाहरू छाँद हालेर रुन थाले । कर्मास्थित जनता माविका शिक्षक त्रिभुवन गिरी त्यो घटना सम्झिँदै भन्छन्, ‘पूरै गाउँ अचानक के भयो, कसरी भयो भनेर स्तब्ध भयो ।’ घटनाको चार वर्षपछि सत्भरा गाउँ पुग्दा पनि पीडित परिवारको अनुहारबाट शोकको रङ उडिसकेको थिएन ।

शान्ति मोराइनका श्रीमान् लौटु मुम्बई गएको १५ दिन मात्र भएको थियो । उनी धेरथोर कमाइ गरे परिवार सजिलैसँग पाल्न सकिएला भनेर मजदुरी गर्न परदेश हिँडेका साथीभाइको पछि लागेका थिए । अभावमा हुर्किरहेका ससाना छोराछोरीको अनुहार हेरेर शान्तिले श्रीमान्लाई रोक्न सकिनन् ।

घटनाको अघिल्लो दिन राति सुत्ने बेला पनि शान्तिले लौटुसँग खैखबर सोधेकी थिइन् । त्यस दिनको कुरा उनले सुनाइन्, ‘हालखबर राम्रो छ भन्नुभएको थियो, छोराछोरीबारे सोध्नुभएको थियो ।’ अहिले पनि उनलाई घटना सम्झँदा कहाली लाग्छ, पहाडै खसेजस्तो हुन्छ । ‘त्यस्तो हुन्छ भन्ने थाहा पाएको भए किन पठाउँथे होला र ?’ शान्तिले भनिन् ।

शान्ति मृत श्रीमान्को अनुहार हेर्न जान सकिनन् पैसा नभएकाले । मुम्बई गएका छिमेकीले उनका श्रीमान्को दाहसंस्कार उतै गरिदिए । यतिबेला शान्तिलाई साना दुई छोरी कसरी हुर्केलान् भन्ने पिरलोले छोपेको छ ।
श्यामदेव अहिर (यादव) का दुई छोरा भुइँधर र विनोद मुम्बई गएको १० महिनाजति भएको थियो । उनीहरू बेलाबखत घरखर्च पठाउँथे । आगलागी हुनुभन्दा दुई साताअघि मात्र श्यामदेवले छोराहरूसँग फोनमा बात मारेका थिए । उनलाई के थाहा, जेठा छोरासँगको त्यो कुराकानी अन्तिम होला भनेर । भुइँधरले त्यतिबेला फोनमा भनेका थिए, ‘अब केही दुःख नगर्नु, हामी गर्छौं ।’

आगलागीमा परेका श्यामदेवका कान्छा छोरा विनोद उपचारपछि भाउजू र पत्नी लिएर गाउँ फर्के । कान्छा छोरालाई देख्दा श्यामदेवलाई जेठा छोराको सम्झनाले धुरुक्क पार्छ । आमा सोनमतीको अनुहारमा शोकको बाक्लो रङ पोतिएको छ । श्यामदेवलले सोनमतीको अनुहारतिर हेर्दै मधुरो स्वरमा भने, ‘त्यत्रो लक्का जवान छोरो गुमाएको कुरा कसरी बिर्सनु, अब आफैं माटामा मिसिएपछि मात्र बिर्सन्छु ।’

६५ वर्षीय परसरी लौनिहा चौहानको व्यथा श्यामदेवको भन्दा चर्को छ । उनले मुम्बईको आगलागीमा दुई जवान छोरा गुमाए । गाउँलेकै साथ लागेर उनका छोराहरू गौरी र राजु मुम्बई गएको दुई महिना मात्र भएको थियो । घटनाको आठ दिनअघि मात्र उनले दुवै छोरासँग फोनमा कुरा गरेका थिए ।

दुई छोरा बितेको धेरै वर्ष भइसक्दा पनि परसरीले आफूलाई सम्हाल्न सकेका छैनन् । तीन वर्षअघि भित्रिएकी कान्छी बुहारी, सानो नातिको अनुहार देख्दा उनको गह भरिन्छ । गौना नभएकाले जेठी बुहारी घर भित्रिएकी थिइनन् र घटनापछि उनी माइतीमै बसिन् ।

घटना भएको बिहान उनलाई कसैले सुनाएको थियो, मुम्बईमा आगलागी हुँदा गाउँका आठ जना बिते भनेर । पछि त्यसमा आफ्नै दुई छोरा परेको थाहा पाएपछि उनको होसै गुम्यो । उनी आफैं मुम्बई गए । उनका दुई छोराको शरीर गोदामका काठका मुढा जसरी जलेका थिए । बचेको शरीर पोस्टमार्टम गर्न अस्पतालमा पोको पारेर राखिएको थियो । सुरुमा त उनलाई पोकामा राखिएका छोराहरूको शरीर हेर्न पनि दिइएन ।

आफ्नै छोरा हुन् भनी पुष्टि गर्ने कागजात गाउँबाट मगाएपछि आठौं दिन अन्तिम संस्कार गर्ने बेला मात्र उनले छोराको शव बेरिएका पोका खोल्न पाए । ‘के देख्नु थियो र ? जलेको मुढाजस्तो थियो, पोको पारेर राखेको,’ परसरीले भने ।

उनलाई मुम्बई जान चाहिने खर्च गाउँलेले चन्दा उठाएर दिएका थिए । परसरीको छेउमा बसेकी उनकी श्रीमती उत्तमका आँखाबाट आँसुका भेल बग्दै थिए । उनले घटनाको एक महिनाअघि मात्र छोरासँग कुरा गरेकी थिइन् । ‘आमा, पैसाको चिन्ता नगर्नुस्, राम्ररी खानुस्, आफ्नो ख्याल गर्नुस् ।’ छोराका यी शब्द अहिले पनि उनका कानमा गुन्जिरहन्छन् । ‘के गर्नु र ? गरिबी थियो । नपठाएर पनि नहुने,’ उनले भनिन् ।

उत्तमले त आफ्ना छोराको शव पनि देख्न पाइनन् । उनी अहिले पनि एकान्तमा रुन्छिन् । फेरि आफैंलाई सम्हाल्छिन् । ‘दुःख परेपछि आकासै खस्दोरहेछ,’ उनले भनिन् । लोग्नेलाई सहज होस् भनेर उनी पनि भेटेसम्म मजदुरी गर्छिन् । आठ वर्षको नातिको मुख हेरेर चित्त बुझाउनुपर्छ भनेर परसरी उनलाई सम्झाउँछन् । ‘यही एउटा सहारा छ, नाति,’ उनले भनिन् ।

यति ठूलो विपद भएको चार वर्ष बित्यो । उनीहरूलाई गाउँले र मुम्बईमा बसेका नेपालीबाहेक अरू कसैले सहयोग गरेन । ‘आँसुमै बित्यो चार वर्ष । बाँकी जीवन पनि उनीहरूकै यादमै बित्छ । अरू उपाय केही छैन,’ उनले भनिन् ।

राजुकी श्रीमती विद्या घटनाको दिन माइतीमा थिइन् । राजुसँग अघिल्लो दिन साँझ फोनमा कुरा भएको थियो उनको । राजुले हालचाल सोधेका थिए । हरेक दिन बिहान र साँझ उनीहरूबीच कुराकानी हुन्थ्यो । ‘कमाएर घर बनाउनुपर्छ भन्नुहुन्थ्यो,’ उनले सुनाइन् । अहिले उनी छोराको अनुहार हेरेर मन भुलाउँछिन् । घरको गर्जो टार्न सासू र ससुरा मजदुरी गर्न जान्छन्, उनी घर सम्हालेर बस्छिन् ।

दुःखको मुस्लो सत्भराकै गोमती रइदासको धुरीमाथि पनि मडारिएको थियो । उनका जेठा छोरा विक्रम मुम्बई गएको एक महिना मात्र भएको थियो । उनले एक दिनअघि मात्र आमा राजमतीसँग फोनमा लामो कुराकानी गरेका थिए । त्यस दिन बाबुछोराको कुरा भने हुन पाएन ।

छोरो बितेको खबर पाएपछि गोमती र राजमतीलाई संसारै खसेजस्तो भयो । ‘सुरुमा त विश्वास नै भएन । के गर्ने, जसरी भए पनि मन सम्हाल्नुपर्दोरहेछ,’ उनले भनिन् । छोराको कुरा गर्नासाथ अहिले पनि उनका आखाँबाट आँसुको भेल बग्छ । ‘नौ महिना कोखमा राखेका छोरालाई कसरी बिर्सन सक्छु ?’ उनले गहभरि आँसु पार्दै भनिन्, ‘कसैले समातेर राखेको भए पो खोजेर ल्याऊँ भन्ने हुन्थ्यो । भगवान्ले नै लगेपछि कसको के लाग्यो ।’ बुबा गोमती पनि बेलाबखत छोराको प्रसंग उप्काउँछन् । दुवै जना जेठा छोराको यादमा रुन्छन् । दुई छोरी र कान्छा छोरा भने सानै छन् । ‘छोरो भएको भए यो उमेरमा मैले दुःख गर्नु पर्दैनथ्यो भन्नुहुन्छ,’ राजमतीले भनिन् । आगलागीमा पति लौटु गुमाएकी शान्तिलाई घर चलाउन समस्या भएपछि गाउँलेले चन्दा उठाएर सहयोग गरे । चन्दाको त्यही रकमले किनेको लुगा सिउने मेसिन अहिले उनको गर्जो चलाउने एक मात्र साधन हो ।

७५ वर्षीय श्यामदेवका सामु छोराको शोक त छँदै छ, घाइते कान्छा छोरा विनोदका लागि उपचार गनुपर्ने जिम्मेवारी पनि छ । उनले गाईभैंसी बेचेर, ऋण काढेर तीन लाख खर्चेर छोराको उपचार गरे । उनको सिंचाइ नहुने दुई बिघा खेत छ । ‘सिंचाइबिनाको खेतको के अर्थ ? त्यसबाट वर्ष दिन पुग्ने चामल पनि आउँदैन,’ उनले भने । उनी बुढेसकालमा पनि मजदुरी गर्छन् । चौहान परिवारको अवस्था झन् कारुणिक छ । सम्पत्तिका नाममा खरले छाएको एउटा घर र त्यसले चर्चेको दस कट्ठा खेत मात्र छ । छोराहरूले पठाएको पैसाले पक्की घर बनाउने योजना बनाएका थिए परसरीले । घर बनाउन सुरु गरेका पनि थिए । पर्खाल लगाइएको थियो । दुवै छोरा बितेपछि छानो लगाउने योजना भताभुंग भयो । परसरीको वृद्ध शरीर दिनप्रतिदिन शिथिल बन्दै गएको छ र घरका पर्खाल पनि मक्किन थालेका छन् । एउटा नाति र आफू बूढाबूढीका लागि (६५ वर्ष र ५५ वर्ष) पनि मजदुरी नगरी हुँदैन ।

रइदास परिवारमाथि पनि ऋणको भारी थियो । मुम्बईमा रहेका विक्रम भन्ने गर्थे, ‘आमा, धानचामल नबेच्नू । म कमाएर ऋण तिर्छु ।’ पक्की घर बनाउने सपना पनि सुनाउँथे विक्रम । ‘भगवान्लाई त्यो कुरा मञ्जुर भएन होला, छिनेर लगे,’ आमा राजमतीले भनिन् । घरखर्च चलाउन साहुसँग लिएको ऋण तिर्नु छ । औषधिमुलो गर्न ऋण लिनुपर्छ । त्यही भएर ५५ वर्षको उमेरमा पनि विक्रमका बुबा गोमती बुटवलमा रिक्सा चलाउँछन् । राजमती पनि भ्याएसम्म मजदुरी गर्छिन् ।
000
भारत सरकारले घटनापछि गोदामका मालिकविरुद्ध मुद्दा चलाएको थियो । करिब चार वर्षपछि मुम्बईको स्थानीय अदालतले प्रमाण नपुगेको भन्दै आरोपितलाई रिहा गर्ने निर्णय सुनाएको छ । प्रहरीको अनुसन्धानअनुसार सरकारी वकिलले साक्षीहरूलाई उपस्थित गराउन नसकेको र बहसका क्रममा पेस गरिएका दसीप्रमाणको परीक्षण गराउन असमर्थ रहेको भन्दै थाने जिल्लाको सेसन कोर्टले गोदामका सञ्चालक इस्तियाक उस्मान अली अन्सारी, मुनावर अली जंगबहादुर खान र शौकत अली उस्मान अन्सारी तथा गोदाम बनाइएको जमिनका मालिक राजेन्द्र पान्डुरागं माधवीलाई गत ८ अगस्ट २०१९ मा रिहा गर्ने फैसला गरेको हो ।

मुम्बईका प्रवासी नेपालीलाई सुरुदेखि नै मुद्दा कमजोर बनाउलान् कि भन्ने चिन्ता थियो । पीडितका पक्षमा दह्रोसँग उभिदिने कोही नभएकाले र सरकारी वकिलले मुद्दाको बलियो ढंगले पैरवी गर्न नसकेकाले आरोपितका पक्षमा फैसला भएको उनीहरूको भनाइ छ । अदालतको फैसला केलाउने हो भने पनि सरकारी वकिल आरोपितविरुद्ध पेस गरिएका प्रमाणलाई अदालतमा परीक्षण गर्न नियतवश गम्भीर नभएको देखिन्छ । पहिले साक्षी बयान दिएका व्यक्ति र अनुसन्धानमा खटिएका अधिकृतहरूले समेत अदालतमा उपस्थित भएर आफ्नो पहिलेको बयान र प्रतिवेदनको बचाउ गरेका छैनन् ।

फैसलामा उल्लेख भएका केही प्रसंग निकै अनौठा छन् । जस्तै, सुरुमा घटनास्थल पुगेका र जाहेरी दर्ता गरेका नार्पोली प्रहरीचौकीका प्रहरी निरीक्षक लक्ष्मण भिल्लु राठौडले आगलागीलगत्तै गोदाम सञ्चालकहरू र जग्गाका मालिकसमेत घटनास्थलमा पुगेको उल्लेख गरेका थिए । आरोपपत्रमा उनले गोदाममा अनधिकृत रूपमा बिजुली जोडिएको र व्यवसाय सञ्चालनका लागि सरकारी निकायबाट स्वीकृति नलिएको जनाएका थिए । त्यही आधारमा तीन जना सञ्चालक र जग्गाधनीलाई पक्राउ गरिएको थियो । पछि गरिएको विस्तृत अनुसन्धानमा पनि गोदाम सञ्चालकहरूले सरकारी निकायबाट स्वीकृति नलिएको र सुरक्षाको न्यूनतम मापदण्ड पनि पूरा नगरेको उल्लेख भएको थियो तर अदालतमा उनीहरूले प्रतिवेदनको बचाउ बलियोसँग गरेनन् । साक्षीहरूले पनि बयान फेरे ।

फौजदारी कानुनका विज्ञ सुवास आचार्यका अनुसार चरम लापरबाहीका कारण मानवीय क्षति भएकाले सञ्चालकहरूविरुद्ध ज्यान मुद्दा लगाई उचित क्षतिपूर्ति माग्ने पर्याप्त कानुनी आधार हुँदाहुँदै पनि पीडित पक्षका वकिलको भूमिका कमजोर देखिएको छ । आफैंले तयार पारेको अनुसन्धान प्रतिवेदनको बचाउ गर्न नसक्ने प्रहरी अधिकृतहरूको भूमिकालाई पनि सहज मान्न सकिँदैन । यस सम्बन्धमा घटनाका प्रमुख अनुसन्धान अधिकृत अनिल अकाडेसँग कान्तिपुरले जिज्ञासा राख्दा आफू दुई वर्षअघि नै सेवा निवृत्त भइसकेकाले घटनाबारे केही बताउन नसक्ने बताए । यो अभिव्यक्ति पत्यारिलो लाग्दैन ।

यो घटनाका पीडितलाई न्याय दिलाउन सुरुदेखि नै पहल गरिरहेका मुम्बईमा बस्ने शालिग्राम तिवारीले नेपाली दूतावास पनि गम्भीर नभएको बताए । उनले फोनमा भने, ‘मुद्दा चलाउन कागजात चाहिन्छ भनेर म आफैं गाउँ पुगेँ । केही न केही भए पनि क्षतिपूर्ति पाउनुपर्छ भन्ने थियो ।’ कानुनविद् आचार्य पनि यस प्रसंगमा भारतका लागि नेपाली दूतावास र नेपाल सरकारलाई दोषी देख्छन् । ‘दूतावासले पहिलेदेखि नै चासो देखाएको भए सरकारी वकिलले त्यस्तो कमजोरी गर्ने सम्भावना कम हुन्थ्यो,’ उनले भने ।

मुम्बईका प्रवासी नेपालीले घटनाबारे सुरुदेखि नै दूतावासलाई बताउँदै आएका थिए । मुम्बई प्रहरीले पनि घटनालगत्तै दिल्लीस्थित नेपाली दूतावासलाई औपचारिक रूपमै जानकारी गराएको थियो । त्यसपछि तत्कालीन कन्सुलर गणेश अधिकारी मुम्बई पुगेका थिए । पछि कपिलवस्तु नै घर भएका दीपकुमार उपाध्याय राजदूत भएपछि केही हुन्छ भनेर पीडितले आस गरे तर केही भएन । पूर्वराजदूत उपाध्यायले पीडितले क्षतिपूर्ति नपाउनु दुःखद भएको र राज्यको तर्फबाट कमजोरी भएको स्विकारे ।

गत वर्ष फागुनमा नीलाम्बर आचार्य राजदूत बनेर दिल्ली आए । त्यसपछि पनि दूतावासका तर्फबाट पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउन पहल भएन । ‘क्षतिपूर्तिका लागि पहल नहुनुमा केही कमजोरी भएको हुन सक्छ,’ उनले भने । दूतावासका पूर्व र बहालवाल उच्च अधिकारीहरूका यस किसिमका निरीह अभिव्यक्तिले पनि घटनाका सम्बन्धमा राज्यले देखाएको बेवास्ता प्रस्ट हुन्छ ।

तर तिवारीले हार मानेका छैनन् । मृतकका परिवार र घाइतेलाई न्याय दिलाउन प्रयास जारी राख्ने उनले बताए । कानुनविद् आचार्यले माथिल्लो अदालतमा अपिल गर्ने सम्भावना खोज्नुपर्ने बताए । ‘अपिल गर्न मिल्छ भने दूतावासले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ,’ उनले भने ।
000
घटनालगत्तै सत्भरा पुगेका जिल्ला प्रशासन कार्यालयका अधिकृतले काजकिरियाका लागि सरकारले एक एक लाख दिने घोषणा गरेका थिए तर पीडित परिवारले पाएनन् । केही गाउँले गोदामका साहुले क्षतिपूर्ति दिन्छन् कि भन्ने आस गरेर मुम्बई गएका थिए । उनीहरू पनि रित्तै हात फर्किनुपर्‍यो । ‘अब त कतैबाट सहयोग पाइएला भन्ने आस मरिसक्यो,’ श्यामदेवले भने, ‘भगवान्ले नै हेपेपछि मानिसले के हेर्थे र ?’ गाउँका अगुवा तथा राजनीतिक नेता सच्चिदानन्द शुक्लले राज्यले यतिसम्म लापरबाही गर्छ भन्ने कुरा सभ्य समाजमा सोच्न नसकिने बताए । ‘मृत्युका बेला त आफ्ना नागरिकको चासो नराख्ने राज्यबाट अरू के अपेक्षा राख्नु ?’ उनले भने । ‘भगवान्ले त हेरेनन्, सरकारबाट के आस ?’ परसरी यस्तै सोचेर चित्त बुझाउँछन् ।

भारतको केन्द्र सरकार र महाराष्ट्र राज्य सरकारले नेपालीका पक्षमा सामान्य मानवीय व्यवहारसमेत देखाएनन् । आगलागीका बेला महाराष्ट्रका मन्त्री एकनाथ सिन्देले घटनास्थल पुगेर घाइतेका परिवारलाई उचित क्षतिपूर्ति दिलाउने वचन दिएका थिए तर अहिलेसम्म हात परेको छैन । दुई महिनाअघि दिल्लीको रानी झाँसी रोडमा रहेको पुरानो अनाज मण्डीमा आगलागी हुँदा ज्यान गुमाएका ४३ जनाका आफन्तलाई दिल्ली सरकारले तत्काल १० लाख भारु र प्रधानमन्त्री नरेन्द्र मोदीले दुई–दुई लाखका दरले र घाइतेलाई ५० हजारका दरले क्षतिपूर्ति दिने निर्णय गरेका थिए । यस्तै प्रकृतिको मुम्बई घटनाका पीडित नेपालीले भने क्षतिपूर्ति पाएनन् । सत्भराका शिक्षक गिरीले भने, ‘आफ्नै सरकारले आँखा चिम्लिएपछि भारतले के गर्थ्यो ?’

प्रकाशित : फाल्गुन १७, २०७६ ०८:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×