धावक महिलाहरुलाई निशुल्क महिनावारी कप

कान्तिपुर संवाददाता

काठमाडौँ — अल्ट्रा दौडमा उदियमान ५० धावक महिलाहरुलाई ‘मिरा राई इनिसिएटिभ’ ले महिनावारी कप वितरण गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुलाई महिनावारी कप वितरण गरिएको हो ।

धावक महिलाहरुलाई निशुल्क महिनावारी कप

‘महिनावारी भएकै कारण बहिनीहरुले दौडबाट हतोत्साहित हुन नपरोस् भनेर कप वितरण गरेका छौ,’ अल्ट्रा धाविका मिरा राईले बताइन् । हङकङमा महिनावारीका सामाग्री बनाउदै आएको ‘लुना नेचुरल्स’संगको सहकार्यमा कप वितरण गरिएको छ । सिलिकनबाट बनेको कप प्रतिगोटा ४० अमेरिकी डलर पर्छ । यो ८ देखि १० बर्ष टिक्छ । धावकहरुलाई कप प्रयोग गर्ने, भण्डारण गर्ने तरिका पनि सिकाइएको छ । ठमेलको आउटडोर एड्भेन्चर सेन्टरमा आयोजित कार्यक्रममा ९५ महिला सहभागि थिए ।


इनिसियटिभकी कार्यक्रम व्यवस्थापक सञ्जु जिसीका अनुसार कप सिलिकनबाट बनेको भएकाले शरीरमा कुनै असर पर्दैन ।

उनीहरुलाई महिनावारी कप नै वितरण गर्नुमा मिराको कथा जोडिएको छ । उनलाई जब महिनावारी हुन्थ्यो, दौडनका लागि निकै गाह्रो हुन्थ्यो । ‘लगाएको प्याड रगत र पसिनाले भिज्थ्यो, छालामा पास्थ्यो, म भनेजति दौडन सक्दिनँथे,’ उनले अनुभव सुनाइन् । दौडमा प्रतिस्पर्धा गर्नेबेला महिनावारी नै नभैदिएझैं लाग्थ्यो । यो कुरा विदेशी साथीसँग शेयर गरिन् । साथीले महिनावारी कपको बारेमा थाहा दिइन् । कप प्रयोग गर्न थालेपछि उनलाई महिनावारीको बेला दौडन, तालिम र अभ्यास गर्न कुनै असहज महसुस भएन । हङकङको एक सय किमि दौडमा दोसो स्थान हासिल गर्दाको क्षण सुनाउँदै भनिन्, ‘महिनावारी भएकै बेला दौडनुपरेपछि कप युज गरेको थिए, महिनावारी नभएको भए झनै राम्रो ‘परफरमेन्स’ दिन सक्थें, तर कपसमेत नभइदिएको भए दोस्रो हुन पनि सक्दैन्थें ।’


यो घटनाले उनलाई सधैं झस्काइरहन्छ । ‘आफ्नो भोगाइले गर्दा बहिनीहरुलाई मेरो क्षमताले भ्याएको सहयोग र सचेतना गराउनुपर्छ भन्ने लागिरहन्थ्यो, यो पहिलो प्रयास हो,’ मिराले भनिन् । त्यसो त मिरा खेलाडीमात्रै होइनन्, सामाजिक सचेतनाकी अभियन्ताका रुपमा पनि परिचित छिन् ।

प्रकाशित : फाल्गुन १६, २०७६ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?