कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

विभागमा बस्ने नेताहरुको नाम दिन पौडेलद्वारा अस्वीकार

देउवा पौडेल टेलिफोन वार्ता
मधुसुधन भट्टराई

काठमाडौँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका विभागमा बस्ने नेताहरुको नाम दिन अस्वीकार गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार अपरान्ह नेता पौडेललाई टेलिफोन गरेर आफूले पार्टीका विभाग गठन गर्ने तयारी गरेको भन्दै विभागमा राख्नुपर्ने नेताहरुको नाम दिन आग्रह गरेका थिए ।

विभागमा बस्ने नेताहरुको नाम दिन पौडेलद्वारा अस्वीकार

तर, पौडेलले भने अब महाधिवेशनको तयारीमा केन्द्रित हुन र विभाग गठनतर्फ नलाग्न देउवालाई सुझाव दिएका छन् ।‘सभापतिले विभाग गठन गर्न लागेको छु । विभागमा राख्ने नेताहरुको नाम दिनुस् भनेर टेलिफोन गर्नु भएको थियो,’ पौडेलले इकान्तिपुरसित भने, ‘मैले महाधिवेशन भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने विभाग अहिले गठन गर्न आवश्यक छैन। अब महाधिवेशनमा केन्द्रित हुनुपर्छ । विभाग गठन गर्नतर्फ नलाग्नुस् । साथीहरुले मान्दैनन् । म नाम दिन सक्दैन भनें ।’

देउवा भने सके सहमतिमै नभए आफ्नो अधिकार प्रयोग गरेर आइतबार साँझसम्म केही विभाग बनाउने तयारीमा जुटेका छन् । विभाग बनाउने तयारी गर्न शुक्रबार अपरान्ह संस्थापन पक्षीय नेताहरुको अनौपचारिक बैठक देउवा निवास बुढानिलकण्ठमा बसेको थियो । बैठकमा उपसभापति विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मालगायत पदाधिकारीहरु सहभागी थिए ।

पार्टी प्रवक्ता शर्माले देउवाले विभाग गठन गर्ने तयारी गर्दै वरिष्ठ नेता पौडेलसँग विभागमा बस्ने नेताहरुको नाम मागेको जानकारी दिए । ‘सभापतिज्यूले विभाग गठनको तयारी थाल्नुभएको छ । उहाँले सवा ४ बजेतिर वरिष्ठ नेता रामचन्द्र पौडेलसँग विभागमा राख्ने नेताहरुको नाम माग्नुभयो,’ प्रवक्ता शर्माले भने, ‘सकभर सहमतिमा नभए सभापतिको अधिकार प्रयोग गरेर १८ गतेसम्म विभाग बनाउने तयारीमा सभापति लाग्नुभएको छ ।’

नेता पौडेलले विभागमा बस्ने नाम दिन अस्वीकार गरेको पनि प्रवक्ता शर्माले बताए । साथीहरुले मान्दैनन् तसर्थ नाम दिन सकिन्न भन्ने जवाफ पौडेलले देउवालाई टेलिफोनमा दिएको शर्माले बताए । ‘सभापतिले वरिष्ठ नेतासँग विभागमा राख्ने नाम माग्दा उहाँले साथीहरुले मान्दैनन् भनेर दिन नसक्ने बताउनुभयो,’ प्रवक्ता शर्माले भने ।

यसअधि बिहीबार उपसभापति निधिले पाैडेललाई उनकै निवास बाेहाेराटारमा पुगेर भेटि सभापति देउवाले विभाग गठन गर्न लागेकाे जानकारी गराउँदै विभागमा बस्ने नेताहरुकाे नाम दिन आग्रह गरेका थिए । तर पाैडेलले उनकाे आग्रह इन‍्‍कार गरेपछि शुक्रबार देउवाले पाैडेललाई फकाउन टेलिफाेन गरेका हुन् ।

कांग्रेसको पूर्वसंस्थापन (पौडेल समूह)ले महाधिवेशनको मिति सार्वजनिक भएपछि आचारसंहिता लागेको भन्दै विभाग गठन भए कानुनतः खारेज हुने बताउँदै आएको छ ।

कांग्रेस विधानमा महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र विभागलाई पूर्णता दिनुपर्ने उल्लेख छ । देउवाले आफ्नो चार वर्षे कार्यकाल पूरा गरेका छन् । महाधिवेशन सम्पन्न गर्न भन्दै विधानमा भएको अधिकार प्रयोग गर्दै केन्द्रीय कार्यसमितिबाट एक वर्ष म्याद थपेका छन् । कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने मिति कार्यतालिकासहित सार्वजनिक गरिसकेको छ ।

प्रकाशित : फाल्गुन १६, २०७६ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?