१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राष्ट्रिय सभामा मनोनीत गर्ने अधिकार पार्टीलाई छैन : प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले राष्ट्रियसभा सदस्य मनोनीत गर्ने अधिकार क्षेत्र पार्टीको नभएको बताएका छन् । 

राष्ट्रिय सभामा मनोनीत गर्ने अधिकार पार्टीलाई छैन : प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा भट्टराईले राष्ट्रिय सभा सदस्यको मनोनयनका सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गरेर सिफारिस गरेअनुसार राष्ट्रपतिले अन्तिम टुंगो लगाउने बताए । सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्ने विषयमा पार्टीले सरकारलाई सुझाव मात्रै दिन सक्ने उनको भनाइ छ ।

उनले भने, ‘मनोनयनको विषयमा पार्टीको निर्णय भन्ने हुँदैन । अस्ति १८ जनाको विषयमा पार्टीले निर्णय गर्‍यो, निर्वाचन भयो । यो मनोनयनको विषय राष्ट्रपतिको विषय हो । पार्टीले निर्णय गरेर यो गर भन्ने होइन । सुझाव दिएको छ । त्यो सुझावलाई सरकारले कसरी लिन्छ भन्नेमा प्रधानमन्त्रीले जिम्मेवारीपूर्ण र परिपक्व हिसाबले निष्कर्ष निकाल्नुहुन्छ ।’

भट्टराईले गौतमको विषय व्यवस्थापन नहुने विषय नभएको र उपयुक्त हिसाबले व्यवस्थापन हुने बताए । नतिजा के हुन्छ भन्ने १, २ दिनभित्र टुंगो लाग्ने भएकाले अहिले बोल्न हतारो हुने भट्टराईको भनाइ छ ।

भट्टराईले प्रधानमन्त्रीले एमसीसी संसदबाट नै पारित हुन्छ भनिसकेपछि पारित हुने बताए । मुलुकको सार्वभौमिकता विपरित, सैन्य र राजनीतिक गठबन्धन लगायतका पक्षमा दायाँबायाँ हुने छुट वर्तमान सरकारलाई नभएको भट्टराईको भनाइ छ । राष्ट्रहित विपरितका विषय संसदबाट पारित गर्न नहुने उनले बताए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा मुछिएका बाँस्कोटामाथि छानबिन हुने र आरोप प्रमाणित भए कारबाही हुने भन्दै भट्टराईले छानबिन पूरा नहुँदै अपराधीजस्तो व्यवहार गर्नु उपयुक्त नहुने बताए ।

प्रकाशित : फाल्गुन १६, २०७६ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?