कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

‘पुनर्निर्माणमा अनियमितता रोकिएन’

कान्तिपुर संवाददाता

काठमाडौँ — भूकम्पपछिको पुनर्निर्माणमा सार्वजनिक रूपमा भएको अनियमितता रोक्न नसकिएको सरोकारवाला निकायका अधिकारीले नै स्वीकारेका छन् । 

‘पुनर्निर्माणमा अनियमितता रोकिएन’

ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा सदाचार, धारणा, समस्या र सुझाव’ विषयक छलफलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले केही पीडितले तीन लाख अनुदान लिएर आधा रकममा एककोठे भवन बनाएको पाइएको बताए । भूकम्प प्रभावित धेरै जिल्लामा यस्ता उदाहरण भए पनि पुनर्निर्माणमा संलग्न निकायले यसलाई रोक्न भने सकेका छैनन् । प्राधिकरणले तीन पटकसम्म पुन: जाँच गरिसकेकाले अब गर्न नसकिने श्रेष्ठको भनाइ छ । लाभग्राहीमा नपरी चित्त नबुझे पुनरावेदन समितिमा उजुरी गर्न सकिने व्यवस्था रहेको पनि उनले जानकारी गराए ।


टीआई नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले बलियो घर निर्माणका लागि सरकारले तीन लाख अनुदान दिएकामा पूरै त्यही रकमले घर निर्माण सकिनुपर्ने धारणा भूकम्पपीडितमा विकास भएको बताए । कार्यक्रममा टीआई नेपालका वरिष्ठ अधिकृत विनोद भट्टराईले भूकम्पपीडितलाई खर्बौं रुपैयाँ बाँड्दा भ्रष्टाचार नहुने गरी व्यवस्था मिलाउनु सकारात्मक भएको भनाइ राखे ।


टीआई नेपालले बिहीबार काठमाडौं महानगरपालिका–८ को जयवागेश्वरी र ९ को गौशाला, ललितपुर महानगरपालिका–२१ को खोकना, गोदावरी नगरपालिका वडा नं. ११ को चापागाउँ, भक्तपुर नगरपालिका वडा नं. ४ को भक्तपुर दरबार क्षेत्र र सूर्यविनायक नगरपपालिका वडा नं. ७ को गुण्डुमा सर्वसाधारणबाट भूकम्पपछिको पुनर्निर्माणबारे स्थानीयसँग सुझाव संलन गरेको थियो ।


प्रकाशित : फाल्गुन १६, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?