कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

टिप्पणी : नेकपाको व्यक्तिवादी बाटो

गंगा बीसी

काठमाडौँ — गत निर्वाचनमा पराजित भएका ‘कमरेड’ राष्ट्रिय सभामा गएपछि वरिष्ठ नेता वामदेव गौतमलाई पनि त्यहाँ जाने रहर लाग्नु स्वाभाविक हो । त्यसकारण यो गौतमको मात्र नैतिक प्रश्न रहेन । मुख्य प्रश्नचाहिँ के हो भने कहरले बनेको नेकपाभित्र पदका लागि देखिएको चर्को लडाइँले के संकेत गर्छ ?

टिप्पणी : नेकपाको व्यक्तिवादी बाटो

नेता गौतमलाई केन्द्रबिन्दुमा राखेर उत्पन्न भएको विवादले सैद्धान्तिक हिसाबले नेकपा उल्टो बाटोमा हिँडेको स्पष्ट गर्छ ।


जनताबाट पराजित भएका व्यक्ति आवधिक निर्वाचनको समयावधि नसकिँदै संसद्मा जानु र जान मरिहत्ते गर्नुले उसले अघि सारेको ‘समाजवादउन्मुख जनताको जनवाद’ लाई बेवास्ता गर्छ । नेताहरू मौका पाउनासाथ जस्केलाबाट पदमा पुग्नु निर्वाचन र मतदाताको अवमूल्यन गर्नु हो । गौतम हुन् वा प्रवक्ता नारायणकाजी श्रेष्ठ, दुवैले मतदाताको फैसलालाई कुल्चेर माथिल्लो सदनमा छिर्ने सजिलो बाटो खोजेका छन् । नेकपाले भन्दै आएको ‘व्यक्तिभन्दा सिद्धान्त प्रमुख’ भन्ने वाक्यको अर्थ नरहेको यसले संकेत गर्छ ।


माघ दोस्रो साता सकिएको केन्द्रीय समिति बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा ‘गुट अनुशासन’ लाई अन्त्य गर्ने निर्णय गर्‍यो तर यो निर्णय प्रतिवेदनमा सीमित रह्यो । गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा गुट निर्मूल होइन, अझ झाँगिएको छ । ‘पार्टी संस्थागत छैन, बरु विभिन्न प्रकारका गुट सक्रिय छन्, पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृत्तिहरू कायम छन्,’ नेकपाको प्रतिवेदनमा उल्लेख छ । गौतम प्रकरणमा अझ यो प्रवृत्ति चर्को देखिएको छ ।

गौतमको आफ्नो महत्त्वाकांक्षा छ । उनी आफू प्रधानमन्त्री हुने बाटो खोल्न संविधान संशोधनको माग गर्छन् तर उनको नाममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अन्तरसंघर्ष सतहमा आएको छ । हाल अग्रपंक्तिमा गौतम भए पनि त्यसको मुख्य विवाद अझै बढ्दै जानेछ । यसरी रोपिएको विवाद नेकपाको आगामी महाधिवेशनसम्म जानेछ । दाहाल, ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपालबीच सम्झौता नभएसम्म यो विवाद रहने सम्भावना छ ।


अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वासपात्र अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिन चाहेका छन् । अर्थमन्त्रीको कामबाट खासगरी अर्का अध्यक्ष दाहाल त्यति सन्तुष्ट छैनन् । उनले अर्थमन्त्री बढी ‘ब्युरोक्र्याट’ भएको टिप्पणी बेलाबेला गर्दै आएका छन् । ओलीलाई डर छ, गौतमको राष्ट्रिय सभा प्रवेशपछि दाहाल र नेपाल पक्ष मिलेर एक्ल्याउन सक्ने । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको टेप प्रकरणपछि ओली यसै एक्लिएका छन् । उनकै क्याबिनेटका मन्त्रीले आफ्नो मन्त्रालयबाहेक प्रधानमन्त्रीको खुलेर बचाऊ गरेका छैनन् । केही समयअघि गौतम निवास भैंसेपाटीमा भएको वरिष्ठ नेताहरूको बैठकले ओलीलाई झस्काइदिएको छ ।


पछिल्लो समय सचिवालय बैठकमा ओलीले चाहेजस्तो निर्णय भइरहेका छैनन् । सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने विषयमा ओली सहमत नहुँदानहुँदै निर्णय भएको थियो । ओलीले सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहेका थिए । सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने निर्णय पनि ओलीको चाहनाविपरीत थियो । उनले अर्थमन्त्री खतिवडालाई निरन्तरता दिने संकेत गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले राष्ट्रिय सभामा मनोनीत गर्ने प्रावधान छ । गौतमलाई राष्ट्रिय सभामा ल्याए, खतिवडा बाहिरिनुपर्ने हुन्छ ।


सरकारका काम–कारबाहीको खुलेर समर्थन नगरेका दाहाल र नेपाल पक्षका लागि ओलीविरुद्ध प्रयोग गर्ने बलियो हतियार हुन् गौतम । उनी आफ्नो राजनीतिक स्वार्थका लागि हतियार बन्न तयार पनि देखिन्छन् । गौतम प्रकरण नेकपाको कुनै सिद्धान्तमा टेकेर भएको अन्तरसंघर्ष होइन, यो विशुद्ध व्यक्तिकेन्द्रित हो ।


राजनीतिशास्त्रका प्राध्यापक खड्ग केसीले नेकपाले अघि सारेको सिद्धान्तलाई व्यवहारमा उतार्न बहस गर्नुपर्ने बेला आत्मकेन्द्रित स्वार्थ हेर्नु दुर्भाग्य भएको बताए । ‘पदका लागि यसरी शक्तिसंघर्ष हुनु दुर्भाग्य हो,’ उनले भने, ‘यसले नेकपालाई त असर गर्छ नै, लोकतन्त्रलाई पनि असर गर्छ ।’

नेकपा नेता एवं सांसद राम कार्कीले कम्युनिस्ट पार्टीभित्र मतभेद हुनु र बहस गर्नु आवश्यक भएको बताए । ‘नेकपा विशिष्ट पद्धतिबाट सञ्चालन छैन, नेतामा अहम् र स्वार्थ चरम छ,’ उनले भने, ‘पछिल्लो विवाद स्वार्थ समूहको संघर्ष हो ।’ उनले पार्टीमा गुट समीकरण जतिबेला पनि परिवर्तन हुने बताए । ‘यसको समीकरण परिवर्तन भइरहन्छ, विचारका आधारमा भएको संघर्ष, समीकरण होइन,’ उनले भने, ‘यो समीकरण जतिबेला पनि भत्किन सक्छ ।’


नेता कार्कीको बुझाइमा नेकपाले सैद्धान्तिक बहस आवश्यक नठान्नुका पछाडि ‘गोरुले होइन, बोकाले दाइँ गर्ने’ सोचले काम गरेको छ ।


पछिल्लो केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार देशभर सैद्धान्तिक, राजनीतिक अभियान चलेको छ । नेताहरू ‘समाजवादउन्मुख जनताको जनवाद’ बारे प्रशिक्षण दिँदै छन् । केन्द्रमा भने नेताहरू विधानलाई बेवास्ता गरेर अघि बढेका छन् ।


विधानमा नेकपाका सदस्यहरू उच्च राजनीतिक आचरणमा रहने स्पष्ट लेखिएको भए पनि पछिल्लो समय नेता गौतम र राष्ट्रिय र प्रदेशसभामा प्रवेश पाएका नेताहरूको हकमा यो लागू भएन । ‘नेपाली क्रान्तिका निर्दिष्ट लक्ष्य र उद्देश्यहरू हासिल गर्न जनआधारित, सुसंगठित, एकताबद्ध, अनुशासित, गतिशील, जुझारु, अग्रगामी र उच्च नैतिक आचरणयुक्त राजनीतिक भूमिका निर्वाह गर्दै अघि बढ्न दृढ संकल्पित रहनेछन्’ विधानले भनेको छ ।


पूर्वसांसद एवं पुराना कम्युनिस्ट नेता कुवेर ओलीले नेता, कार्यकर्ताले नैतिक आचरण भुलिसकेको बताए । ‘नेकपाका अधिकांश नेतामा नैतिक आचरण देखिएन । पद, प्रतिष्ठाको कमाइका लागि जे पनि गरेको देखियो,’ उनले भने, ‘उच्च नैतिक आचरणका साथ काम गरेको भए, अहिले नेकपाको सरकार हाइहाइ हुन्थ्यो ।’ अहिले सरकारको आलोचना प्रतिपक्ष कांग्रेसले जति गरेको छ, त्यो भन्दा बढी सर्वसाधारणले गर्न थालेका छन् । हाल रेट्रोफिटिङ भइरहेको सिंहदरबारलाई मात्र होइन, पदको लडाइँ हेर्दा नेकपालाई गर्नुपर्ने टिप्पणी हुन थालेको छ ।

प्रकाशित : फाल्गुन १६, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?