२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

२२ सहरमा लिफ्ट खानेपानी

दीपेन्द्र विष्ट

काठमाडौँ — खानेपानी तथा सरसफाइ मन्त्रालयले देशका २२ वटा सहरमा शुद्ध पिउने पानी पुर्‍याउने भएको छ । 

विभिन्न नदीबाट लिफ्ट, डिपबोरिङ र स्थानीय स्रोतको उपयोग गरी लक्षित वर्गसम्म पुर्‍याउने तयारी गरेको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाए । उनले सरकारको ‘एक घर एक धारा’ को उद्देश्यअनुसार विभिन्न स्रोत परिचालन गरी शुद्ध पानी पुर्‍याउने बताए । ‘पहिलो चरणमा ९ वटा आयोजना सञ्चालन भएका छन्,’ उनले भने । दोलखाको चरिकोट सहरी आयोजना, इलाम, भोजपुर, बझाङको चैनपुर, रोल्पाको लिबाङ, खोटाङको दिक्तेल, दाङको प्रगतिनगर, सुर्खेतको शुभघाट र कञ्चनपुरको सिद्धनाथ आयोजना सञ्चालनमा छन् । एसियाली विकास बैंकको ऋण सहयोगमा सहरी खानेपानी तथा सरसफाइ आयोजना अघि बढाइएको हो ।


आयोजना उपनिर्देशक रामकुमार श्रेष्ठका अनुसार पहिलो चरणमा ११ वटा सहरलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिनेछ । दोस्रो चरणमा तनहुँको बृहत् भानु आयोजना, काभ्रेको पाँचखाल, सप्तरीको कञ्चनपुर, ओखलढुंगाको रामपुरटार, कञ्चनपुरको सिद्धनाथ बैजनाथ, नवलपुरको देउराली हुप्सेकोट र दोलखाको चरिकोट विकेन्द्रीकरण आयोजना निर्माणका लागि डीपीआर तयार भइसकेको छ । दोस्रो चरणमा भोजपुर विकेन्द्रीकरण आयोजना, रौतहटको कठरिया, कैलालीको टीकापुर, चितवनको शारदानगर, भक्तपुरको दधिकोट र पाल्पाको मादी आयोजना छन् ।


प्रत्येक घरधुरीलाई शुद्ध खानेपानी पुर्‍याउन आयोजना सञ्चालन गरिएको श्रेष्ठले बताए । उनका अनुसार आयोजनाअन्तर्गत १५ वटा पानी प्रशोधन केन्द्र, १० हजार शौचालय तथा २० वटा सार्वजनिक शौचालय निर्माण गरिनेछ ।


त्यसैगरी ३० किमि ढल निर्माण गरिनेछ । यसरी प्रत्येक बस्ती पूर्ण सरसफाइ तथा शुद्ध पिउने पानी पुर्‍याउनका लागि काम अघि बढाएको उनले बताए । ‘९ र १३ गरी २२ वटा सहरमा सञ्चालनमा ल्याउँछौ,’ उनले भने ।

प्रकाशित : फाल्गुन १६, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?