१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

युवतीमाथि एसिड प्रहार गर्नेलाई ८ वर्ष कैद, सवा करोड औषधि खर्च भराइयो

प्रताप विष्ट

हेटौंडा — युवतीमाथि एसिड प्रहार गर्ने भारतीय नागरिकलाई जिल्ला अदालत मकवानपुरले ८ वर्ष कैद र एक लाख जरिवानाको फैसला गरेको छ ।

युवतीमाथि एसिड प्रहार गर्नेलाई ८ वर्ष कैद, सवा करोड औषधि खर्च भराइयो

अभियुक्तबाट उपचार खर्च एक करोड १४ लाख ८५ हजार रुपैया भराउन पनि अदालतले आदेश दिएको छ । अभियुक्तलाई सघाउने एक जनालाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैया जरिवानाको फैसला सुनाएको छ ।


जिल्ला न्यायाधीश कमलराज विष्टको बिहीबारको इजलाशले भारत महाराजगञ्ज, अमरपूर्वन–६ का राज भन्ने दिलीपराज केशरीलाई उक्त फैसला सुनाएको हो । केशरीले हेटौडा उपमहानगर–२ की २० वर्षीया विन्दावासिनी कंसाकारको अनुहारमा एसिड प्रहार गरेका थिए ।

केशरीलाई साविकको मुलुकी ऐन ज्यान सम्वन्धी महलको १५ नम्बर मुलुकी अपराधंसंहिता २०७४ दफा १८३ (२) अनुसार ८ वर्ष कैद र एक लाख रुपैया जरिवानासहित उपचार खर्च एक करोड १४ लाख ८५ हजार भराउने फैसला गरेको स्रेस्तेदार केशवराज कौशिकले बताए ।


केशरी विदेशी नागरिक भएकाले उक्त रकम पीडितलाई उपलब्ध गराउन सरकारले पहल गर्ने र निजबाट भराउन नसकेमा सरकारले पीडितलाई मनासिब माफिक अर्थात् उचित उपचार खर्च उपलब्ध गराउन पनि अदालतले आदेश जारी गरेको छ । उक्त इजलाशले युवती कंसाकारमाथि एसिड प्रहार गरी मुख्य अभियुक्तलाई भगाउने काम गरेका सन्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैया जरिवाना गर्ने फैसला गरेको छ ।


हेटौंडा बजारको मुख्य चोकमा आफ्नै भाँडा पसलमा बसिरहेका बेला कंसाकारलाई एसिड आक्रमण गरेर भाग्ने क्रममा मुख्य अभियुक्त केशरीलाई मण्डलले मोटरसाइकलमा राखेर भगाएका थिए । प्रेम प्रस्ताव अस्वीकार गरेपछि २०७० साल वैशाख ९ मा कंसाकारको अनुहारमा एसिड प्रहार गरेर गरेका थिए ।


एसिड प्रहार गर्ने केशरी हेटौंडामा व्यापार गर्थे । उनलाई ६ वर्षपछि बाराको जितपुर–सिमरा उपमहानगर–२३ भलोहीस्थितबाट गत कार्तिक १४ पक्राउ गरिएको थियो । त्यसको एक साता पछि सहयोगी मण्डललाई हेटौडाबाटै पक्राउ गरेको थियो ।


सफल व्यवसायी र समाजसेवी बन्ने लक्ष्य लिएकी बिन्दावासिनीको एसिडबाट बनेको घाउमा क्रिम तथा औषधिमा मासिक करिब २० हजार खर्च हुने गरेको छ । उपचारका क्रममा हालसम्म करिब डेढकरोड रुपैयाँ खर्च भइसकेको पीडित परिवारले जनाएको छ । वाणिज्यमा स्नातक गरेकी विन्दवासिनीलाई सरकारले न्यायसँगै एसिड पीडितहरुका लागि समाजमा स्थापित हुन सहयोग गर्नु पर्ने माग गरेकी छिन् ।

प्रकाशित : फाल्गुन १५, २०७६ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?