२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

अर्थमन्त्रीको प्रश्‍न : एउटा पुस्तकमा ३०/४०% नाफा खाने, १०% कर तिर्न नमान्‍ने ?

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले पुस्तकको कारोबार व्यापार नै भएकाले यसमा सरकारले कर उठाउने कुरा जायज भएको बताएका छन् ।

अर्थमन्त्रीको प्रश्‍न : एउटा पुस्तकमा ३०/४०% नाफा खाने, १०% कर तिर्न नमान्‍ने ?

सरकारका प्रवक्ता रहेका मन्त्री खतिवडाले बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा स्वदेशी प्रेस तथा छापाखानाको संरक्षणका लागि विदेशबाट आयातित पुस्तकमा कर लगाउने निर्णय गरिएको बताए । अरु देशहरुमा पुस्तकमा १८ प्रतिशतसम्म कर लगाउने गरिएको उदाहरण दिँदै मन्त्री खतिवडाले भने, ‘धेरै देशमा पुस्तकमा १८ प्रतिशतसम्म कर लगाउने गरेका छन् । हाम्रो देशमा अरबौँ रुपैयाँ लगानी गरेर प्रेस र छापाखाना स्थापना गरिएको छ । उनीहरुले मेसिन र कागज दुवैमा कर तिर्नुपर्छ । करै नतिरी ल्याउने पुस्तकसँग उनीहरुले कसरी प्रतिस्पर्धा गर्नेछन् ?’


करै नलाग्ने भएपछि पुस्तकमा जथाभावी मूल्य राखेर पनि बिक्रीवितरण भएको खतिवडाले बताए । उनले भने, ‘पुस्तकको व्यापार व्यापार नै हो, ज्ञानको व्यापार हुँदैन ज्ञानको त आदानप्रदान हुन्छ । ज्ञानको व्यापार भनेर दिग्भ्रमित पार्ने काम नगरौँ ।’

पुस्तक विक्रेताको प्रश्न : नाकामा रोकियो पुस्तक, सरकारले गर्न खोजेको के ?

एउटा पुस्तकमा ३०–४० प्रतिशत नाफा खाने तर सरकारलाई १० प्रतिशत कर दिन नमान्ने प्रवृत्ति गलत भएको पनि खतिवडाले बताए । उनले भने, ‘नाफामा कर लगाइएको हो, ज्ञानमा कर लगाइएको होइन । व्यापार गरेर नाफा धेरै कमाएपछि कर उठाइन्छ । कर लगाएपछि पुस्तक नै बिकेनन् भनेर हल्ला गरिएको छ । कर छलेर ल्याएको पुस्तक समात्दा ज्ञान पक्रिइयो भन्ने गरिएको छ ।’




सरकारले आयातित किताबमाथि १० प्रतिशत कर लगाउने निर्णय गरेपछि ज्ञानमाथि अंकुश लगाउने कदम भएको बताउँदै ‘मेक बुक्स ट्याक्सफ्री’ अभियान नै चलाइएको छ । पाटन दरबारस्क्वायरमा दैनिक रुपमा विभिन्न क्षेत्रका अगुवा गएर अभियानमा ऐक्यबद्धता जनाइरहेका छन् ।

प्रकाशित : फाल्गुन १५, २०७६ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?