वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन कांग्रेस सांसदको व्य‌ंग्यात्मक सुझाव

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य हुँदै प्रधानमन्त्री बनाउने नेकपा सचिवालयको प्रयासको प्रतिपक्षी कांग्रेसका सांसद अतहर कमाल मुसलमानले सहज बाटो सुझाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद मुसलमानले सरकारप्रति व्यंग्‍य गर्दै 'बर्दिया १ बाट निर्वाचित कांग्रेसका सञ्जय गौतम होइन नेकपाका वामदेव गौतम निर्वाचित भएका हुन् भन्ने निर्वाचन आयोगबाट निर्णय गराउन' सुझाव दिएका हुन् ।

अख्तियारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मान्छे राखेको, मानवअधिकार आयोग तहसनहस पारेको अवस्थामा निर्वाचन आयोगमा पनि आफ्ना मान्छे राखेर उक्त निर्णय गराउन मुसलमानले सुझाव दिएका हुन् । 'बर्दियाको १ बाट विजयी गौतम नै हुन् । नेपाली कांग्रेसका सञ्जय गौतम होइन नेकपाका वामदेव गौतम हुन् भन्ने निर्वाचन आयोगबाट निर्णय गराएर नेकपाको आन्तरिक संकट समाधान गर्न सकिन्छ,' उनले भने ।

'मधेसी दल, आदिवासी, जनजाति, दलित र पछाडि परेका पार्टी तथा समूहले संविधान संशोधनको माग गर्दा संसद्को रोष्ट्रमबाट प्रधानमन्त्री ओलीले 'संविधान संशोधन कुनै मादल होइन जतिबेला चाह्यो त्यतिबेला बजाउनलाई' भन्नुभएको थियो,' उनले बताए । नेकपाले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन कार्यदल गठन गरेको र पछि भंग गरेको प्रति मुसलमानको उक्त व्यंग्‍य थियो ।

२ तिहाइको तथा समृद्ध नेपालको सपना देख्ने सरकारलाई कांग्रेसका सांसदलाई हटाएर आफ्नो सांसद थप्नु नै सहज हुने उनको व्यंग्यात्मक सुझाव थियो ।

सम्बन्धित समाचारः

प्रकाशित : फाल्गुन १५, २०७६ १५:०५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

खेलाडी, प्रशिक्षक र खेल पत्रकार सम्मानित

नमिता दाहाल

काठमाडौँ — सञ्जय स्मृति समाजले भलिबल खेलाडीलाई सम्मान गरेको छ । बिहीबार एक कार्यक्रम आयोजना गर्दै राष्ट्रिय स्तरका महिला तथा पुरुष भलिबल खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा उत्कृष्ट खेल पत्रकारलाई सम्मान गरिएको हो ।

कार्यक्रममा लामो समयदेखि भलिबल क्षेत्रमा योगदान दिइरहेका दुई खेलाडीहरु चन्द्रबहादुर कुवँर र विनिता बुढाथोकीलाई ३० हजार नगद, प्रमाणपत्र र पाल्पाली ढाका टोपी तथा पाल्पाली खाँदासहित सम्मान प्रदान गरिएको हो ।

त्यस्तै कार्यक्रममा नेपाली भलिबल र बीच भलिबल टोलीका महिला तथा पुरुष खेलाडीहरुलाई पनि सम्मान प्रदान गरिएको छ । खेलाडीहरुलाई पाल्पाली ढाकाको टोपी तथा पाल्पाली खादाले सम्मान गरिएको हो । कार्यक्रममा उत्कृष्ट खेल पत्रकारका रुपमा काठमाडौं पोस्टका प्रज्ज्वल ओलीलाई पनि सम्मान प्रदान गरिएको छ ।
सम्मानित खेलाडी विनिता बुढाथोकी भनिन्, ‘पहिलो पटक भलिबलका कारण सम्मानित भएको छु । यस्ता कार्यक्रमहरु भइरहे अहिलेका खेलाडी तथा पछिल्लो पुस्तालाईसमेत प्रेरणा हुनेछ ।’ अर्का खेलाडी चन्द्रबहादुर पनि पुरस्कारले आफूलाई खेलमा लागिरहन थप उर्जा थपेको बताए ।

खेलाडी टोलीसँगै नेपाल भलिबल कोच तथा व्यवस्थापकलाई यस कार्यक्रममा सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल भलिबल संघकी उपाध्यक्ष तथा सञ्जय स्मृति समाजकी अध्यक्ष निरोज मास्केको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमन शर्मा, खेलकुद पत्रकार मञ्चका अध्यष्क्ष देवेन्द्र सुवेदी, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद संघका विभिन्न ओहोदाका व्यक्तित्वहरुको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

प्रकाशित : फाल्गुन १५, २०७६ १४:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×