कुष्ठरोगीको पीडा : लाटोफुस्रो दागले गाउँ छुटायो

सुदूर पहाडका धेरै कुष्ठरोगीले अपमान सहे, कतिपय गाउँनिकाला भए तर बेलैमा उपचार पाएकाहरु भने निको भएर सम्मानपूर्वक जीवन बिताइरहेका छन्
डीआर पन्त, भवानी भट्ट

डडेलधुरा, कञ्‍चनपुर — पाप लागेर कुष्ठरोगी भएको भन्दै गाउँ निकाला भएका जयबहादुर खड्का उपचारपछि निको भइसकेका छन् । उनलाई कुष्ठरोग लागेर पाएको सास्तीभन्दा गाउँ निकाला गरेको पीर बढी छ । त्यस्तै अवस्थाका सीता साउद र राजबहादुर खड्का पनि कुनै समय गाउँबाट निकालिए थिए । गाउँबाट निकालिनुको पीडा उनीहरूमा अहिले पनि बल्झिरहन्छ ।

कुष्ठरोगीको पीडा : लाटोफुस्रो दागले गाउँ छुटायो

विसं २०१६ तिर गाउँबाट लखेटिएका जयबहादुर अहिले ८१ वर्षका भए । युवा उमेरमा गाउँ छाड्न बाध्य पारिएका उनी ६० वर्ष बित्यो, फेरि फर्केर गएका छैनन् । ‘रोग त निको भयो, जीउभरि खत छन्, त्योभन्दा बढी घर छाड्न बाध्य पारिएको चोट मनमा छ,’ उनी भन्छन्, ‘जमाना पनि त्यस्तै थियो । त्यो बेला कुन बिमारी हो भन्ने खुट्याउने कोही थिएन ।’ डडेलधुरा र डोटी सिमानाको छतिवन नजिकै सडकछेउमा बस्दै आएका खड्का आफूले गाउँ छाड्नुपर्दाका दिन सुनाउन सजिलो मान्दैनन् । छोराले सम्झाएपछि बल्ल मुख खोले, ‘हुम्ला कालिकातिर मेरो जन्मथलो हो । २१ वर्षको उमेरमा गाउँनिकाला भएको, म त्यसपछि कहिल्यै गाउँ फर्केर गइनँ ।’


गाउँ छाडेपछि केही समय हुम्ला र बाजुराको सिमानामा पर्ने एउटा गुफामा दिन बिताए । बाटो थिएन । गोरेटो र जंगल हुँदै १५ दिनसम्म भोकभोकै हिँडेर डडेलधुरा पुगे । ‘डडेलधुराको पोखरा नजिकै पाल टाँगेर विदेशी डाक्टरले कुष्ठरोगीको उपचार गरिरहेका थिए,’ उनी भन्छन्, ‘भाग्यले मैले पनि अरू १६ जनासँगै पालभित्र उपचार पाएँ ।’ उपचार पाउनेहरू कालीकोट, अछाम, दार्चुलाका विभिन्न ठाउँबाट उनीजस्तै परिस्थितिका सिकार भएर आएका थिए । आफू जसरी नै कुष्ठरोगको उपचार गराउन आएकी बझाङको ज्यावन क्षेत्रकी महिलासँग उनले बिहे गरे । सन्तान भयो । केही वर्षअघि श्रीमतीको मृत्यु भएको बताएका उनी अहिले छोरासँग बस्छन् ।


सीता साउद अहिले ७० वर्षकी भइन् । बालविवाहको चलन थियो । उनको १२ वर्षकै उमेरमा बिहे भयो । त्यसको तीन वर्षमै जीउमा लाटोफुस्रो दाग आउन थाल्यो । बैतडीको तल्लो स्वराड क्षेत्रकी उनी सुरुमा रोग लुकाएर बसिन् । जब बढ्दै गयो, सबैले थाहा पाए । परिवार र आफन्तसँगै छिमेकीसमेतले छिछि र दुरदुर गर्न थाले । उपचार गराउन लैजानुको साटो परिवारबाटै अपहेलित भएपछि उनी खप्न नसकेर माइती आइन् । त्यहाँ पनि उस्तै तिरस्कार बेहोर्नुपर्‍यो । ‘त्यो जमाना त्यस्तै थियो, रोग लागेकालाई उपचारका लागि लैजानुभन्दा समाजले अपमान गर्थ्यो,’ कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरमपुरकी ७० वर्षीया साउद भन्छिन्, ‘कुष्ठरोग लागेका सुरुका वर्ष अनेक पीडा खेप्नुपर्‍यो ।’ डडेलधुराको टिम अस्पतालमा उनले १० वर्ष उपचार गराइन् र निको भइन् । ‘दुई वर्षसम्म अस्पतालमै बसेर उपचार गराउनु पर्‍यो,’ उनी भन्छिन्, ‘पछि पूरै बिसेक हुन डाक्टरले दिएको ओखती लामो समयसम्म खानुपर्‍यो ।’


राजबहादुर खड्काको पनि समस्या धेरै फरक छैन । उनलाई पनि बालखै छँदा कुष्ठरोगले समात्यो । के अनौठो रोग भनेर छरछिमेकी र आफन्तले हेला गरे । गाउँ छाडेर उपचार गर्न डडेलधुरा पुगे । उपचार पाएपछि रोग निको भयो । ‘घरमा बस्न त के बाटोघाटोमा हिँड्नसमेत दिँदैनथे,’ ५५ वर्षीय राजबहादुरले बाल्यकाल स्मरण गरे, ‘खेतबाट हिँड्न खोज्दा पानी नै बिग्रिन्छ भन्थे । कतै जानुपरे राति लुकेर हिँड्नुपर्थ्यो ।’


अस्पतालले फेरेको जीवन

शिक्षा र पूर्वाधार विकासको चरण बामे सर्न लागेका बेला समाज अन्धविश्वासी थियो । कुष्ठरोगबारे जनचेतना अभाव हुँदा रोगी अपमानित भइरहेका थिए । विसं २०२५ मा डडेलधुरामा टिम अस्पताल स्थापना भएपछि भने कुष्ठरोगको उपचार सुरु भयो । सुदूरपश्चिमसँगै कर्णाली क्षेत्रका बिरामीसमेत उपचारका लागि आए । परिवारबाट अपहेलित भएका धेरैजना रोग बिसेक भएपछि पनि घर फर्केनन् । अस्पतालमै खानेबस्ने सुविधा भएकाले उपचार अवधिसम्म कुनै समस्या थिएन । उनीहरूले डडेलधुरा क्षेत्रमै मजदुरी तथा अन्य काम गरेर गुजारा चलाउन थाले । कतिपयले उपचारकै क्रममा आफूजस्तै अवस्थाबाट गुज्रेकासँग घरजम पनि गरे । रोगकै कारण घरबार बिग्रेकाहरूले अस्पतालमै विवाह गरे । टिम अस्पताल र कुष्ठरोग निवारण संघको पहलमा सरकारले पुनःस्थापनाको कार्यक्रम पनि ल्यायो । अहिलेको धरमपुर क्षेत्रमा सरकारले उनीहरूलाई घरजग्गा दिएर बसोबास गराउने निर्णय भयो । त्यही निर्णयअनुसार धरमपुरबस्ती स्थापना भएको हो । टिम अस्पतालबाट उपचार गराएर आएकाहरूको बस्ती भएका कारण यहाँका स्थानीयले अहिले पनि ‘टिम टोल’ भन्ने गरेका छन् ।


पुनःस्थापना गरेर बसाइयो बस्ती

धरमपुर क्षेत्रमा कुष्ठरोगीको पुनःस्थापना २०२९ देखि सुरु भएको हो । एक दशकमा यहाँ २८ परिवारको पुनःस्थापना भएको छ । ‘हामी सुरुमै आएर यहाँ बसोबास गर्न थालेका हौं,’ टिम अस्पतालमा उपचारपछि धरमपुर क्षेत्रमा बसोबास सुरु गरेका ६७ वर्षीय धनबहादुर रोकायाले भने, ‘सुरुमा हामी तीनजना आएका हौं । त्यसपछि हरेक वर्ष थपिँदै गए ।’ रोकाया बाजुराको काँडाबाट उपचारका लागि टिम अस्पताल आएका थिए । उनका अनुसार २०३९ मा २८ जनाका नाममा जग्गाधनी पुर्जा बनेको थियो । हरेकका नाममा २२ कट्ठा जमिन र काठले बनेका घरसँगै एक वर्षको खाद्यान्न पनि सरकारले नै उपलब्ध गराउँथ्यो । यसबाहेक २८ परिवारका लागि खानेपानीका दुई ह्यान्डपम्प, हरेक परिवारलाई एक/एकवटा गोरु उपलब्ध गराइएको थियो । ‘हामीहरू दुई परिवार मिलेर एक हल गोरु बनाएर खेत जोत्ने गर्थ्यौं,’ रोकाया भन्छन्, ‘सुरुका वर्ष उब्जनी राम्रो नहुँदासम्म भनेर एक वर्ष पुग्ने रासनसमेत पाएका थियौं ।’


दुई दशकपछि २०५१ मा पनि धरमपुर क्षेत्रमा थप २६ परिवारलाई पुनःस्थापना गरिएको थियो । सुरुमा पुनर्स्थापना भएको बस्तीलाई तल्लो धरमपुर र पछि स्थापना गरिएको बस्तीलाई माथिल्लो धरमपुर नामकरण गरिएको छ । दोस्रो चरणमा पुनःस्थापना गरिएका परिवारलाई आधा बिघा जमिन, काठको जस्तापाता लगाएको घर, घरैपिच्छे शौचालय र खानेपानीका नल्का जडान गरिएको थियो । काठ र जस्तापाताले बनेका एकनासका घर, एकै प्लटमा मिलेको जमिन भएकाले सुरुमा यो बस्ती नमुना नै थियो तर अहिले धेरैजसोले काठका ढाँचा फालेर पक्की घर बनाइसकेका छन् ।


३० देखि ५० को दशकसम्म कुष्ठरोगीलाई पुनःस्थापना गरिएको क्षेत्र ढडुवाखर्कका नाममा चिनिन्थ्यो । यहाँ वन फाँडेर बस्ती बसाइएको हो । तत्कालीन राजा वीरेन्द्रको आदेशमा उनीहरूलाई सरकारले पुनःस्थापना गरेपछि बस्ती बस्न सुरु भएको हो । त्यस अघिसम्म डडेलधुरा र डोटीबाट गाईभैंसी चराउन आउनेहरूको खर्क थियो । यही कारणले यस क्षेत्रको नाम ढडुवाखर्क राखिएको थियो । जब कुष्ठरोगीहरूलाई पुनःस्थापना गरियो, त्यसपछि यो बस्ती टिम टोलका नामले चिनिन थाल्यो । स्थानीयले यो गाउँ फरक धर्म मान्नेको हो भन्दै गाउँकै नाम धरमपुर राखेको धनबहादुर बताउँछन् । उनका अनुसार सुरुमा कुष्ठरोगीलाई पुनःस्थापना गर्दा स्थानीयले होच्याएर कोडी र फाँटासमेत भन्ने गरेका थिए । गाउँको नाम सभ्य भाषाबाट राख्ने योजनाअनुसार २०५४/०५५ देखि धरमपुर भएको स्थानीय जयबहादुर बोहोरा बताउँछन् । वेदकोट नगरपालिका–५ का अधिकांश बस्ती ऐलानी छन् । २०२०/०२२ देखि चलनभोग भइरहेको भए पनि सुरुमा पुनःस्थापना भएको कुष्ठरोगीको बस्ती मात्रै दर्ता छ । पछिल्लो पटक पुनःस्थापना भएकाहरूले भने हालसम्म जग्गा धनीपुर्जा पाउन सकेका छैनन् ।


हराउँदै गयो भेदभाव

धरमपुरमा पुनःस्थापना सुरु गर्दा तल्लो क्षेत्रका बासिन्दाले विरोध गरे । कुष्ठरोगीलाई माथिल्लो क्षेत्रमा राख्दा पानीका मुहान नै बिग्रिने भनेर स्थानीयले विरोध गरेका थिए । कतिपयले त उनीहरूलाई धपाउन नै खोजे । ‘राति आएर घर भत्काउने, पानीका कुवामा फोहोर गरिदिन्थे,’ राजबहादुरले भने, ‘हामीसँग बोल्ने र हिँडडुल गर्ने पनि कोही हुँदैनथे । बिहे र व्रतबन्धलगायतमा पनि कसैले बोलाउँदैनथे । बाटो हिँड्दा पनि गाली गर्ने, थुक्नेहरू हुन्थे ।’ रोगीहरूबीच मात्रै बोलचाल र सहयोग आदानप्रदान हुन्थ्यो । अहिले कुष्ठरोगीलाई हेर्ने दृष्टि फेरिएको छ । विगतमा बस्नै नदिनेहरूसमेत आफ्नो घरमा बोलाउन थालेको राजबहादुरले सुनाए । टिम अस्पतालमा उपचार पाएका राजबहादुरजस्ता धेरै जना अहिले सम्मानपूर्वक जीवन बिताइरहेका छन् । ‘गाउँनिकाला भएपछि डडेलधुरा आउन सक्ने धेरैले नयाँ जीवन पाए,’ उनी भन्छन्, ‘कतिपय कुष्ठरोगी गाउँ नजिकका गुफामा कष्टको जीवन बिताएर मरे ।’ काठमाडौंको वीर अस्पतालबाट २०१८ मा कुष्ठरोगको उपचार सुरु भएको हो । डडेलधुरामा भने २०१७ मै बेलायती चिकित्सक क्यात्रिना योङले पहिलोपटक कुष्ठरोगको उपचार गर्न सुरु गरेकी थिइन् । त्यसको आठ वर्षपछि २०२५ मा अमेरिकी डा. सिमनले टिम अस्पताल स्थापना गरे । टिम अस्पतालमा पछिल्लो ५१ वर्षको अवधिमा हजारौं कुष्ठरोगीले उपचार पाए ।


सात वर्षअघि टिम अस्पताललाई गाभेर उपक्षेत्रीय अस्पताल बनाइयो । अस्पतालका क्षयकुष्ठ सुपरभाइजर तारादत्त पन्त भन्छन्, ‘उपक्षेत्रीय अस्पताल बनेको चार वर्षयता एक सय १५ जना कुष्ठरोगीको उपचार भएको तथ्यांक छ ।’ अस्पतालमा डडेलधुरा बैतडी, डोटी, बाजुरा, बझाङ, अछाम र दार्चुलालगायत सुदूरका पहाडी जिल्लाबाट उपचारका लागि बिरामी आउँछन् । ‘अस्पताल आइपुगेका सबैको उपचार भएको छ,’ उनले भने, ‘हरेक महिना सरदर ४/५ जना कुष्ठरोगी अस्पतालमा आइपुग्ने गरेका छन् ।’ सरकारले सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि सुदूरपश्चिमका पहाडी जिल्लामा भने बर्सेनि यसका रोगी भेटिन्छन् ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?