हिमपातले सेताम्य लेकाली डाँडा

कान्तिपुर संवाददाता

इलाम — फागुन दोस्रो साता पनि जिल्लाका लेकाली डाँडा हिउँले सेताम्य बनेका छन् । पुसयता यो क्षेत्रमा हिउँ पर्ने क्रम जारी छ । २ हजार ५ सय मिटर आसपास र माथिल्लो क्षेत्र हिउँले ढाकिएको छ । त्यस क्षेत्रको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । 

समुद्री सतहबाट ३ हजार ६ सय ३६ मिटरको सन्दकपुरसहित आसपासका आहालटार, बिखे भन्ज्याङ, कालपोखरी, छिन्टापु, जौवारी, कैयाकट्टा, मावु थामलगायत क्षेत्रमा व्यापक हिमपात भएको हो ।


स्थानीयका अनुसार यो पटक कम उचाईसम्म हिउ झरेको छ भने अघिल्ला वर्षभन्दा बाक्लो गरी हिउँ जमेको छ । ‘कुनै कुनै स्थानमा त हिउँमा खुट्टा पूरै भासिने गरी बाक्लो छ,’ जौबारीका पासाङ शेर्पाले भने, ‘हिउँदभर यो वर्ष पटकपटक हिमपात भएको हो ।’


यसअघि कमै मात्र हिउँ खस्ने मावुथाम पनि सेताम्ये देखिएको छ । पाँचथर सीमावर्ती कुहिभीर, पाँचथरको पौवा, सिलौटी, साधुटारलगायतका क्षेत्रमा पनि यो पटक बाक्लो हिमपात भएको हो । हिउँमा रमाउने राँके पौवा क्षेत्रमा इलाम र पाँचथरबाट मात्र नभएर तराईका जिल्लाबाट पनि बाक्लो उपस्थिति हुने गरेको राँकेका व्यवसायी तथा इलाम उद्योग वाणिज्य संघका सचिव शिरी विष्टले जानकारी दिए ।


यस क्षेत्रमा टाढाबाट पनि हिउँ खेल्दै रमाउने पुग्ने क्रम बढेको छ । हिमपातका कारण जिल्लाकै अग्लो सन्दकपुरतर्फ जाने सवारी आवागमन बन्द भएको छ । नेपाल र भारत दुवैतर्फबाट सन्दकपुर जाने सडक अवरुद्ध भएका हुन् । नियमित सवारी आवागमन हुने सीमावर्ती क्षेत्रका अधिकांश सडकमा सवारी साधन चल्न सकेका छैनन् ।


हिमपातले भारतको दार्जिलिङ सीमावर्ती मेघमा, तुम्लिङ, जौबारी, कालपोखरीलगायत बजार बन्द छन् । पुसको पहिलो साता पनि उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात भएको थियो । हिमपातपछि चिसो धेरै बढ्दा यहाँका व्यवसायी र पशुपालक कृषक भने समस्यामा छन् ।


हिमपातले मानेभन्ज्याङदेखि ३२ किलोमिटरको दूरीमा रहेको सन्दकपुरसम्मका सडकमा कतिपय स्थानमा अवरोध छ । बाक्लो हिउँ जमेकाले सवारीका साधन चल्न कठिन हुने स्थानीयले बताएका छन् । प्रकाशित : फाल्गुन १५, २०७६ ०९:३३

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सानवीले जितिन् किड्स प्लानेट अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — इन्डोनेसियाको बालीमा आइतबार सम्पन्न ‘किड्स प्लानेट इन्टरनेसनल’ प्रतियोगितामा सिनियर गर्ल्सतर्फ काठमाडौं धुम्बाराईकी १२ वर्षीया सानवी स्वाँर विजेता बनेकी छन् । गत कात्तिक महिनामा रेडियन्ट इभेन्टले गरेको ‘किड्स अफ द इयर– १०१९’ सिनियरतर्फको उपाधि पाएसँगै सानवीले अन्तर्राष्ट्रिय स्तरको बालबालिका सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर पाएकी थिइन् । 

‘किड्स प्लानेट इन्टरनेसनल’ को ग्रान्ड फिनालेमा नेवारी समुदायमा प्रख्यात लाखे नाचसँगै ‘झ्यालिन्‍चा’ को प्रस्तुति शैली र यसको परम्परागत कथनसमेत उनले खुलाएकी थिइन् । निर्णायक समूहको ‘नेपालमा गएर के भन्छौ ?’ भन्ने प्रश्नमा उनले ‘किड्स प्लानेटले बालबालिकालाई कसरी हिँड्ने, कसरी बोल्ने पक्षमा क्षमता अभिवृद्धि, आत्मविश्वास र सामाजिकीकरण गर्न सघाउ पुर्‍याएको छ । यही भन्छु’ जवाफ दिएकी थिइन् । उपाधिसँगै उनले ट्रफी, सिल्भर क्राउन, गिफ्ट ह्याम्पर र बालीका विभिन्न खेलमा सहभागी हुने अवसर पाइन् ।

बालविकास र बालप्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नेपाल, इन्डोनेसिया र अफ्रिकी मुलुकको ८ देखि १४ वर्ष उमेर समूहका ४५ जना बालबालिकाबीच गरिएको प्रतिस्पर्धामा नेपालबाट ६ जना सहभागी थिए । सिनियर र जुनियर बालबालिकाबीच गरिएको प्रतिस्पर्धामा नेपालबाटै चिराग बजगाईंले सिनियर र प्रतीक भट्टले जुनियर बोयज समूहमा सोही अवार्ड प्राप्त गरे । पेमा डोमा लामाले बेस्ट ट्यालेन्ट, जयश अग्रवालले बेस्ट लिडरसिप, यकिन अर्यालले मोस्ट ट्यालेन्ट उपाधि पाए ।

हालै मुलुक फर्केकी सानवीले अवार्ड पाएर निकै खुसी भएको बताइन् । जोन डिबे स्कुलमा ८ कक्षा अध्ययनरत सानवीलाई गायन, फेसन डिजाइन र खेलकुदमा रुचि छ । उनी भविष्यमा सफल इन्टेरियर डिजाइनर बन्न चाहन्छिन् भने र मोडलिङमा पनि उनको इच्छा छ । दृढ भएर उनले भनिन्, ‘मैले हाम्रो कन्ट्री र कल्‍चरलाई बालीमा देखाएँ ।’ उनलाई ‘झ्यालिन्‍चा’ बारे उनकी आमा सभ्यता खड्काले बुझाएकी थिइन् । नेपालका तर्फबाट नौलो रूपमा प्रतिनिधित्व हुने गरी कुमारी र लाखेबारे धेरै प्रस्तुति भइसकेकाले कमैलाई थाहा भएको ‘झ्यालिन्‍चा’ लाई नै लिइएको खड्काले बताइन् ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०९:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×